तम्घास (गुल्मी), गुल्मीका झण्डै ३४ हजार परिवार स्वास्थ्य बीमाको पहुँचमा रहेका छन् । जिल्लास्थित स्वास्थ्य बीमा बोर्डले दिएको जानकारी अनुसार जिल्लामा हालसम्म ३३ हजार आठ सय १२ परिवारले स्वास्थ्य बीमा गराएका हुन् ।
गुल्मीमा विसं २०७६ माघ १९ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको थियो । जसमा आर्थिक वर्ष २०७६/७७ मा एक हजार तीन सय ९४, आव २०७७/७८ मा आठ हजार चार सय १६, आव २०७८÷७९ मा पाँच हजार तीन सय ९७ परिवारले स्वास्थ्य बीमा गराएका तथ्याड्ढ छ । आव २०७९/८० मा एक हजार नौ सय ६४ र चालु आर्थिक वर्षको छ महिनामा एक हजार ८६ परिवारले स्वास्थ्य बीमा गराएका बीमा बोर्डका प्रमुख सुवास घिमिरेले जानकारी दिए । उनका अनुसार एक परिवारले वार्षिक तीन हजार पाँच सयमा पाँच जनाको एक लाखसम्मको स्वास्थ्य बीमा गर्न पाउँछन् । औषतमा एक परिवारको चार जनाको मात्रै स्वास्थ्य बीमा हुने गरेको उनको भनाइ छ । यसरी हेर्दा जिल्लामा पारिवारको मात्रै गणना गर्दा ७३ हजार २८ जना स्वास्थ्य बीमाको पहुँचमा रहेका प्रमुख घिमिरेले जानकारी दिए । सोही अवधिमा १५ हजार पाँच सय ५५ जेष्ठ नागरिकको पनि स्वास्थ्य बीमा गराइएको छ । जेष्ठ नागरिकको हकमा भने एक नागरिक बराबर एक परिवार गणना हुने उनले बताए । उनका अनुसार यसरी हेर्दा जिल्लामा कूल ८८ हजार पाँच सय ८३ नागरिक स्वास्थ्य बीमाको पहुँचमा छन् ।
विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा
जिल्लाको चन्द्रकोट गाउँपालिकाले अतिविपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गराइदिने कार्यक्रम सञ्चालनमा ल्याएको छ । यो कार्यक्रम अन्तर्गत गत वर्ष दुई लाखमा एक सय अतिविपन्न परिवारको निःशुल्क बीमा भएको थियो । उक्त कार्यक्रमलाई यो वर्ष परिमार्जन गरिएको छ । यो वर्ष अतिविपन्न परिवारका लागि निःशुल्क र विपन्न परिवारका लागि ५० प्रतिशत सहुलियत प्रदान गर्ने योजना बनाइएको गाउँपालिकाका अध्यक्ष युवराज केसीले जानकारी दिए । उनका अनुसार स्वास्थ्य बीमा कार्यक्रमका लागि यो वर्ष पनि चन्द्रकोटमा तीन लाख बजेट विनियोजन गरिएको छ । ‘स्वास्थ्य बीमामा सहुलियत दिनाले धेरै नागरिक बीमाको पहुँचमा आउन सक्छन्’, अध्यक्ष केसीले भने, ‘यो कार्यक्रमले विपन्न नागरिकलाई धेरै राहत मिलेको छ ।’ गत वर्ष रेसुङ्गा नगरपालिका–४ ले वडाकै बजेटबाट २९ परिवारको निःशुल्क स्वास्थ्य बीमा गराइदिएको थियो । सोही कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिइएको वडाध्यक्ष लीलाधर आचार्यले जानकारी दिए । निःशुल्क स्वास्थ्य बीमामा सुकुम्बासी र अतिविपन्न परिवार प्राथमिकतामा परेका उनले बताए । गत वर्ष रेसुङ्गा –३ कार्यालयले पनि २८ परिवारको निःशुल्क स्वास्थ्य बीमा गराइदिएको थियो ।
जिल्लाभर ९३ स्वास्थ्य बीमा अभिकर्ता
गुल्मीमा प्रत्येक वडामा एक/एक जनाका दरले ९३ जना स्वास्थ्य बीमा अभिकर्ता छन् । उनीहरुलाई स्वास्थ्य बीमा बोर्डले आवश्यक तालिम समेत प्रदान गरेको छ । समयमै स्वास्थ्य बीमा गर्नाले बिरामी परेको समयमा आर्थिक भार वा जोखिम न्यूनीकरण गर्न सहयोग पुग्छ । यसभन्दा पहिले धेरै सरकारी वा निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएकामा पछिल्लो समयमा त्यो कार्यक्रम कतिपय अस्पतालमा कटौती गरिएको छ । सरकारी अस्पतालमा गत माघ १ गतेदेदेखि उपचार गर्दा लागेको कूल लागतको १० प्रतिशत बीमित आफैँले व्यहोर्नुपर्ने स्वास्थ्य बीमा बोर्डले जनाएको छ । त्यसैगरी निजी र सामुदायिक अस्पतालमा भने यही वैशाख १ गतेदेखि २० प्रतिशत रकम बीमितले तिर्नुपर्नेछ । नेपालमा पन्ध्रौँ योजनाको अन्त्यसम्म ६० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउने लक्ष्य राखिएकोमा गुल्मीमा हालसम्म ४४.३० प्रतिशतमा पहुँच पुगेको बीमा बोर्ड गुल्मीले जनाएको छ ।