Shittalpati
मन्द छन्दको सुगन्ध

पाल्पा, कवितालाई रस र सारयुक्त बनाउने माध्यम हो छन्द । छन्द शास्त्रीय काव्यको महत्वपूर्ण आधार समेत हो । छन्दकै कारण कविताको सन्देश जनजिब्रोमा पुर्याउन सकिन्छ । विडम्बना, पछिल्लो समयका प्रायः कविले छन्दको प्रयोग छोडेका छन् । जसका कारण छन्दोबद्ध कविताको रचना मन्द हुँदै गएको छ । नेपाली संगीतमा र्‍याप गीत आएपछि युवामाझ छन्द झन् ओझेलमा परेको महशुस गरिएको छ । छन्द हराउँदै जान थालेपछि साहित्यकारहरुले भने चिन्त व्यक्त गरेका छन् ।

छन्द लेखन र वाचनमा रुचि राख्ने साहित्यकार कमल खत्रीले नेपालमा छन्द कविताको गर्व गर्न लायक लामो इतिहास भए पनि त्यसको प्रयोग घट्दै जानु चिन्ताको विषय भएको बताए ।  गर्व गरेर छन्दमा कविता लेख्नुको सट्टा छन्द भनेकै बिर्सिन लागेको अवस्था आउनु दुःखद रहेको उनले उल्लेख गरे । ‘लेख्नै नजानेर पनि अहिलेको पुस्ताले छन्दमा कविता नलेखेको हो,’ खत्रीले भने, ‘कविता लेख्दा वा वाचन गर्दा पृष्ठभूमि जोड्दै नयाँ कुरा ल्याएमा राम्रो हुन्छ ।’ यसको प्रयोगले काव्यलाई प्रभावकारी, स्तरीय र पाठकलाई सहजै स्पर्श गर्न महत्वपूर्ण भूमिका खेल्दछ । छन्द प्रयोगको पर्याप्त ज्ञान नहुनु, भाव संयोजन गर्न कठिन हुनु जस्ता कुराले नयाँ पुस्तामा छन्दको प्रयोग हुन नसकेको हो कि भन्ने महसुस गर्न थालिएको उनको बुझाई छ । खत्रीले हराउँदै गएको छन्द काव्यलाई जोगाउन नयाँ पुस्तामा छन्दको पर्याप्त ज्ञान दिन आवश्यक रहेको उल्लेख गरे । 

छन्द ज्ञानको पुस्तान्तरण र नयाँ पुस्तालाई हस्तातरण नहुँदा हराउँदै गएको छन्दमा रुचि राख्ने अर्का साहित्यकार इन्दिरा ज्ञवाली बताउँछिन् । उनी भन्छिन् ‘छन्द संस्कृतबाट नेपालीमा आएको शब्द हो । पहिले–पहिले संस्कृतमा अध्ययन हुँन्थ्यो, त्यतिबेला छन्दका बारेमा गहिरो अध्ययन गरिन्थ्यो तर आज भोलि संस्कृत शिक्षा नै हराउँदै गयो । यसले गर्दा पनि छन्दको प्रयोग क्रमशः हराउँदै गएको हो ।’ अहिले पाठ्यक्रममै छन्दको बारेमा गहिरो गरी उल्लेख नै नगरिएको ज्ञवालीको भनाई छ । छन्द अलि गाह्रो विषय भएकाले पनि धेरै साहित्यकारहरु समय अनुसार सरल, छिटो छरितो रुपमा साहित्यिक रचनामा केन्द्रीत हुने गरेकाले पनि छन्दको प्रयोग मन्द हुँदै गएको उनको बुझाई छ ।  

छन्द जोगाउने प्रयास भइरहे पनि समग्रमा छन्दको सुगन्ध मन्द भइरहेको छ । कविता साहित्यमा छन्दको प्रयोग घट्दै गएका कारण पोखराका कवि माधव वियोगीले २०५३ साल वैशाख ८ मा छन्द बचाउ अभियान सुरु गरेका थिए । कवि वियोगीले घोषणापत्र सार्वजनिक गर्दै अभियान सुरु गरेकोमा सोही दिनदेखि हरेक वर्ष वैशाख ८ गते अर्थात् आजकै दिन छन्द दिवसका मनाउन थालिएको हो । नेपाल सरकार पञ्चा· निर्णायक समितिले पनि वैशाख ८ लाई छन्द दिवसका रूपमा मनाउन सहमति दिएको थियो ।

छन्द भनेको लय हो । सामान्य भाषामा छन्द लय मिलाएर कृति लेख्ने वा वाचन गर्ने तरिका हो । वर्ण र मात्राको गेय व्यवस्था छन्द हो । लय मिलाएर वाचन गरिएका कविता सुन्दा श्रोता मन्दमुग्ध हुन्छन् । नेपाली साहित्यमा आदिकवि भानुभक्त आचार्यको रामायण पनि छन्दमा लेखिएको छ । रामायणमा शार्दुलविक्रीडित र शिखरिणी छन्दको प्रयोग अधिक छ । यी छन्दहरू संस्कृतका छन्द हुन् । पछि लेखनाथ पौड्याल, माधव घिमिरे लगायतले छन्दमा टेवा दिएका थिए ।

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update