Shittalpati
बौद्धिक सम्पत्ति संरक्षण गर

कुनै व्यक्ति वा संस्थाद्वारा मानिसको बौद्धिकता (ज्ञान, सीप, श्रम आदि) प्रयोग गरी आफ्नो स्वामित्वमा गरिएको सिर्जनालाई बौद्धिक सम्पत्ति भनिन्छ । संगीत, साहित्यिक कृति, वास्तुकला, चित्रकला, अन्य कला, खोजी, प्रतिक, नाम, चलचित्र, डिजाइन आदि जुनसुकै सिर्जना बौद्धिक सम्पत्तिमा पर्दछन् । तर पछिल्लो समय त्यही बौद्धिक सम्पति चोरी हुने गरेको छ । सिर्जनात्मक कार्यहरु चोरी हुने, कपी–पेस्ट हुनेजस्ता क्रियाकलापका कारण मूलमा रहेको मौलिकतासमेत गुम्दै गएको छ । दिमागले गर्ने हरेक सिर्जनामा स्रष्टाको शक्तिको प्रयोग हुन्छ । समय दिएरै गरिएको श्रमको मूल्य खास हुन्छ । तर, त्यो मौलिकरुपमा रहेको विशिष्ट उपलब्धि भने संरक्षणको अभावमा हराउँदै र नष्ट हुँदै जाने क्रम अहिले पनि थामिन सकेको छैन । आविष्कारहरु, सिर्जनात्मक कार्यहरु, रुपरेखाहरु, प्रतिक लगायतलाई बौद्धिक सम्पत्तिका रुपमा व्याख्या र विश्लेषण गरिएको छ । कानुनमा समेत सुरक्षित गरिएको अवस्था देखिए पनि त्यसप्रतिको चाहिने चासो र सरोकारमा भने निकै कमी आएको पाइन्छ ।

बौद्धिक सम्पति संरक्षण गर्ने उद्देश्यले हरेक वर्ष अप्रिल २६ मा विश्व बौद्धिक सम्पत्ति दिवस मनाउने गरिए पनि त्यसले सार्थक रुप लिन भने सकेको छैन । यो अत्यन्त दुःखको कुरा हो । अहिले डिजिटल युगमा त झन् विचार अनि बौद्धिकताको विश्वव्यापी एकै धारमा बाढी झैं आएको छ । यस बौद्धिक अधिकारको संरक्षण बिना त सर्जकको सिर्जनाको मूूल्य नै रहन सक्ने अवस्था छैन । कतिले नजानेर र कतिले जानीजानी बौद्धिक सम्पत्तिको नक्कल वा चोरी गरिरहेका हुन्छन् । यसमा सचेतना वृद्धिको अभाव पनि एउटा कारण देखिन्छ । अर्काेतिर बौद्धिक सम्पत्ति चोरीमा दण्ड सजाय पनि वृद्धि गर्नुपर्ने खाँचो छ । नेपालको संविधानले सम्पत्तिको हकको व्यवस्था गरे पनि प्रभावकारी कार्यान्वयन नहुँदा बौद्धिक सम्पति संकटमा छ । ट्रेडमार्क, पेटेन्ट र डिजाइन भनेका सम्पत्ति हुन् । तिनको हक जसलाई छ, उसकोबाट कसैले छिन्न हुँदैन र छिन्न नदिने वा संरक्षण गर्ने दायित्व सरकारको हो । यसर्थ बौद्धिक सम्पत्ति संरक्षणका लागि सरकारले आवश्यक कानुन निर्माण गरी प्रभावकारी कार्यान्वयनमा ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update