विगत केही हप्तायता देशभरि नै वायु प्रदूषण बढिरहेको छ । डढेलोका कारण वायु गुणस्तर अत्यन्तै अस्वस्थ स्तरमा पुगेको छ । हाम्रै आँखाले प्रष्ट देखिने गरी प्रदूषण बढेको छ । यो अवस्थामा प्रदूषणले कुनै न कुनै किसिमको स्वास्थ्य समस्या हुनसक्छ । छाला र आँखा चिलाउने, आँखा पिरो हुने, धुँवा गन्ध आउने र एलर्जी बढ्ने जस्ता समस्या वायु प्रदूषणका कारण निम्तिने गरेको छ । पानी नपर्ने र बेस्सरी हावाहुरी नआउने हो भने यो प्रदूषण अरु केही समय लम्बिन सक्ने निश्चित छ । जलवायु परिवर्तनले खडेरी र तापक्रम बढ्दै जाँदा भविष्यमा वन डढेलो पनि थप बढ्ने देखिएको छ ।
उद्योग, सवारीसाधन लगायतका कारण हुने प्रदूषण त बाह्रैमास देखिने गरे पनि विशेषगरी अप्रिल महिनामा त्यसको असर तीव्र देखिने गर्छ । यो मौसममा एकातिर पानी नपरेर वातावरण सुक्खा हुने र अर्कोतिर डढेलो र आगलागीजस्ता प्राकृतिक प्रकोपमा समेत भारी वृद्धि हुँदा प्रदूषणको विस्तार थप व्यापक बन्न पुगेको छ । वायुको गुणस्तर खतराको सीमाभन्दा माथि पुग्नु जोखिमपूर्ण अवस्था हो । वायु प्रदूषणकै कारण मानव स्वास्थ्यलाई समेत नराम्रोसँग असर गरिरहेको अवस्थामा अहिले स्वास्थ्य सुरक्षाको मापदण्डलाई अनुसरण गर्न अत्यावश्यक छ । त्यसका लागि विशेषगरी मानवीय कारणले हुने वन डढेलोलाई रोकथाम गर्न सतर्कताको तहलाई उच्चरुपमा बढाउनुपर्ने देखिन्छ । वायु प्रदूषणको स्तरलाई कम गराउन विभिन्न कार्यक्रमहरुको घोषणा पनि होला र आयोजना पनि गरिएला तर त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा समस्यामाथि झन् समस्या थपिँदै जाने खतरालाई भने नकार्न सकिँदैन । वायु प्रदूषण के–कस्ता कारणहरुले भैरहेका छन्, तिनका बारेमा समेत निष्कर्षमा पुग्दै नियन्त्रणको उपायहरु अपनाउनुपर्छ । बढ्दो सुख्खायामसँगै वायु प्रदूषणमा वृद्धि हुने भएका कारणले पनि वैशाखमा महिना अझै वायु प्रदूषण बढ्न सक्नेछ । सुख्खा मौसममा हुने डढेलो तथा धुँलोका कणको समिश्रण वायुसँग हुँदा प्रदूषणको सम्भावना बढी हुन्छ । यसले मानव स्वास्थ्यमा असर गर्ने हुँदा बेवास्ता गरिनु हुँदैन । यसतर्फ तीनै तहका सरकारले समेत तत्काल वायु प्रदूषणका कारण उत्पन्न हुन सक्ने मानव स्वास्थ्य समस्या समाधानका निम्ति आवश्यक प्रबन्धको व्यवस्था गर्नु जरुरी छ ।