Shittalpati
काँग्रेसले उठाएका हरेक मुद्दा श्रमिकका पक्षमा छन् : सभापति श्रेष्ठ

पाल्पा, नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले काँग्रेसले उठाउने गरेका हरेक मुद्दा श्रमिकका पक्षमा रहेको बताएका छन् । बुधबार १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस पाल्पाले आयोजना गरेको श्रमिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रमिक वर्गको हक , हितको संरक्षण र सम्बद्र्धनका पक्षमा काँग्रेसले सदैव मुद्दा उठान गर्ने गरेको बताएका हुन् ।

सभापति श्रेष्ठले भने‘ काँग्रेसले सरकारमा हुँदा होस् वा सदनमा सधै श्रमजीवीकै पक्षमा आवाज उठाउँदै आएको छ ।’ उनले विसंं २००३ सालमा कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदुरको पहिलो ऐतिहासिक आन्दोलन गरेको उल्लेख गर्दै तत्कालीन सरकारले त्यो आन्दोलनलाई निर्ममतापूर्वक दबाउने नीति अख्तियार गरेर जननायक बीपी कोइरालालगायत धेरै नेताहरुलाई पक्राउ गरेको बताए । सभापति श्रेष्ठले विसं २०१६ मा कांग्रेसको जननिर्वाचित सरकारले नै कारखाना र मजदुरसम्बन्धी कानुनको तर्जुमा गरेर, मजदुरलाई कानुनसम्मत अधिकार प्रदान गरेको समेत स्मरण गरे । सभापति श्रेष्ठले सरकारले अझै पनि मजदुरको हितमा काम नगरेको बताए । उनले भने ‘नेपालमा रोजीरोटीका लागि वातावरण नभएपछि धेरै श्रमिकहरु विदेश पलायन भएका छन्, यसलाई रोक्न सरकारले स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना गर्न जरुरी छ ।’ स्वदेशमा रोजगारीको पर्याप्त अवसर नभएसम्म उर्जाशिल युवाहरु विदेश पलायन भइरहने सभापति श्रेष्ठले बताए । 

उनले श्रमजीवी वर्गको हकहित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा समृद्धि सम्भव नरहेको समेत उल्लेख गरे । संविधानले व्यवस्था गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न सम्बद्ध सबै पक्षबाट श्रमको सम्मान र मर्यादा हुनुपर्ने उल्लेख गर्दै सभापति श्रेष्ठले श्रमिक, मजदुरका अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिए । उनले भने‘ मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र ल्याउन श्रमिक, मजदुरहरुको भूमिका महत्वपूर्ण रहेको छ, तर उनीहरुको अवस्था अझै पनि उस्तै छ ।’ 

कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय सदस्य लक्ष्मण रायमाझीले श्रमिकहरुको पक्षमा ट्रेड युनियनले सशक्त रुपमा काम गर्दै आएको बताए । उनले भने‘ ट्रेड युनियनको पहलमा सरकारले केही भए पनि श्रमिकको पक्षका काम गरेको छ ।’ उनले श्रमिकहरु अझै पनि अपमानित हुनुु परेको उल्लेख गर्दै त्यसतर्फ पार्टी नेतृत्वले ध्यान दिनुपर्नेमा जोड दिए । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले श्रमिकहरुको अवस्थाका बारेमा अध्ययन गर्न जरुरी रहेको बताएका । उनले कोभिडका कारण नीजि क्षेत्रका श्रमिकहरुको अवस्था अत्यन्त नाजुक बन्दै गएको उल्लेख गर्दै उनीहरुको अध्ययन गरी सोही अनुसार काम गर्न  सरकार, राजनीतिक दल र श्रम संगठनहरुलाई आग्रह गरे ।  कार्यक्रममा  नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेशकी सह–सचिव नन्द ज्ञवाली, शिक्षक संघका केन्द्रीय उपाध्यक्ष दीपक ज्ञवाली, ट्रेड युनियन पाल्पाका सल्लाहकार चित्रवलीराम सुवाल, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका स्ववियु सभापति कृष्ण अर्याल, नेपाल व्यूटिसियन संघ पाल्पाकी अध्यक्ष वविता विष्ट लगायतले आ–आफ्ना धारणा राखेका थिए । ट्रेड युनियनले दिवसको अवसरमा ५ जना श्रमिक वर्गहरुलाई सम्मान गरेको छ । यस्तै सोही अवसरमा नाई संघ पाल्पाका पूर्व अध्यक्ष क्यान्सर पीडित अब्दुल रजाकलाई युनियन केन्द्रमार्फत प्राप्त भएको २५ हजार रकम सहयोग समेत गरिएको युनियन पाल्पाका अध्यक्ष निलकण्ठ देवकोटाले जानकारी दिए । अध्यक्ष देवकोटाको अध्यक्षता, उपाध्यक्ष मणिराम अधिकारीको स्वागत, सचिव लोकनाथ अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो । 
काँग्रेसले पनि गर्‍यो श्रमजीवीलाई सम्मान 
यस्तै नेपाली काँग्रेस पाल्पाले पनि अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा संगठीत क्षेत्रका श्रमजीवीहरुलाई सम्मान गरेको छ । उसले एक औपचारिक कार्यक्रमको आयोजना गरी तानसेनस्थित पार्टी कार्यालयमा पार्टीका भातृ र शुभेच्छुक संस्थामा आवद्ध श्रमजीवीहरुलाई सम्मान गरेको हो । पार्टी सभापति हिमालदत्त श्रेष्ठ, काँग्रेस लुम्बिनी प्रदेशका सदस्य कृष्ण अधिकारी लगायतले उनीहरुलाई सम्मान गरेका हुन् । पार्टी सचिव सुनिता अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो । 


 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update