Shittalpati
पाल्पाको भैरवनाथ मन्दिर चिनाउने दुई कृति प्रकाशन

पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिका–४ मा रहेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल भैरवनाथ मन्दिर चिनाउने दुई कृति प्रकाशनमा आएका छन् । भैरवनाथ मन्दिर व्यवस्थापन समितिले सेनकालीन पाल्पाको इतिहास, भैरवनाथ मन्दिरको इतिहास, धर्म संस्कृति सम्बन्धी विविध विषयलाई समेटेर “पाल्पाका भैरवनाथ” र “पाल्पाको भैरवनाथ मन्दिर” नामक दुई कृति प्रकाशनमा ल्याएको हो ।         

प्रकाशित कृतिलाई ऐतिहासिक ग्रन्थका रुपमा लिइएको छ । साहित्यकार तथा लेखक राम ज्ञवाली र नवराज ज्ञवालीले ति कृतिहरुको लेखन तथा सम्पादन गरेका छन् । प्रकाशित कृतिको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले संयुक्त रुपमा लोकार्पण गरेका थिए । उनीहरुले संघीय संसद, प्रदेशसभा तथा सचिवालयबिचको अन्तर व्यवस्थापिका भेलालाई तानसेनमा सम्बोधन गर्न आएका बेला मन्दिरमा एक औपचारिक कार्यक्रमकाबिच कृतिको लोकार्पण गरेका हुन् । कृति लोकार्पण गर्दै प्रतिनिधिसभाका सभामुख घिमिरेले ऐतिहासिक मन्दिरलाई राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा चिनाउन कृति महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । उनले कृतिले पाल्पाको भैरवनाथ मन्दिरलाई मात्र नभई देशभरकै भैरवहरूको बारेमा जानकारी दिन सफल भएकाले पुस्तक मात्र नभएर दर्पण समेत रहेको बताए । सभामुख घिमिरेले मठमन्दिरहरू राष्ट्रकै अमूल्य सम्पत्ति रहेको भन्दै तिनको संरक्षण गर्नु दायित्व सबैको रहेको उल्लेख गरे । उनले सरकारी तवरबाट समेत भैरव मन्दिरको संरक्षण र प्रवद्र्धनमा आवश्यक सहयोग रहने बताए । प्रदेशसभाका सभामुख घर्तीमगरले समग्र धार्मिक तथा साँस्कृतिक, ऐतिहासिक पृष्ठभूमिलाई उजागर गर्दै गहन खोज अनुसन्धानको दृष्टिकोणले कृति अत्यन्तै महत्वपूर्ण रहेको बताए । उनले कृति पठनीय र संग्रहणीय बन्ने  विश्वास  व्यक्त गरे । सभामुख घर्ती मगरले भैरव मन्दिरलाई अन्तर्राष्ट्रियस्तरमै चिनाउन प्रदेश सरकारले विशेष ध्यान दिने र संघीय सरकारसँग पहल गर्ने प्रतिवद्धता जनाए । रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले भैरवप्रति श्रद्धा, आस्था र विश्वास राख्ने भक्तजन र खोज अनुसन्धानकर्ताहरूका लागि कृति महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।         

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्दबहादुर पोखरेलले पाँच सय वर्ष पुरानो भैरवनाथ मन्दिरको इतिहासका बारेमा सबै भक्तजनहरुलाई जानकारी गराउन कृति प्रकाशनमा ल्याइएको बताए । भैरव र नाथको चिनारी, विशेषता एवं स्वरुपका बारेमा कृतिमा उल्लेख गरिएको उनले जानकारी दिए । भैरवका, कालभैरव र बटुक भैरवको चिनारी एवं विशेषता, मच्छिन्द्रनाथ, गोरखनाथ र नवनाथका बारेमा जानकारी, भैरवनाथ मन्दिरका स्थापनाकर्ता राजा मणि मुकुन्दसेनको जीवन र कर्मको इतिहास, मन्दिर स्थापना सम्बन्धी विभिन्न कथाहरु, मन्दिरको भौगोलिक जानकारी, पूजा पद्धती र भाकलको मनोविज्ञान आदि बारे कृतिमा सविस्तार व्याख्या विश्लेषण गरिएको छ । यस्तै कृतिमा मन्दिरमा चढाइने रोट, बली परम्परा, मन्दिरका अभिलेखहरु, कलाकृतिहरु, मन्दिरमा गरिने पाठ तथा मन्त्र जप, मन्दिर परिसर र सेरोफेरो बारे पनि उल्लेख गरिएको छ । भैरव मन्दिर सबैको साझा सम्पति भएकाले यसको संरक्षण र प्रचारप्रसारमा लाग्न वडाअध्यक्ष सोमबहादुर कार्कीले सबैमा अनुरोध समेत गरे ।

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update