नेपालमा पछिल्लो समय प्रेस स्वतन्त्रतामाथि चुनौती बढ्दै गएको छ । बेला–बेलामा सञ्चार क्षेत्रमाथि आक्रमण बढिरहँदा चुनौती थपिएको देखिन्छ । समाचार लेखेकै भरमा सञ्चारकर्मीले धम्कीको सामना गर्नु परेको छ । विगतमा पत्रकार भनेपछि समाजमा राम्रो छाप थियो । राजनीतिक नेताभन्दा राम्रो सम्मान थियो । तर अहिले पत्रकारिता माथि गाली गलौज गरेर जनमानस भड्काउने र त्यसबाट पत्रकार तथा सञ्चारगृहमाथि आक्रमणसम्म गराउने पवबृत्ति मौलाएको छ । जुन एकदमै खतरा छ । सरकारले स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने भने पनि त्यसो गर्न सकेको छैन । बरु मिडियालाई नियन्त्रण गर्ने खालका विधेयकहरु ल्याए तर्साउने काममा सरकार लागेको छ । लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन र संवद्र्धनका लागि स्वतन्त्र प्रेसको भूमिका महत्वपूर्ण रहेको कुरा सरकारले वेवास्ता गर्दै आएको छ ।
संविधानमा प्रेस स्वतन्त्रता उल्लेख भएपनि त्यसको जतिसुकै वकालत गरिए पनि अझै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति हुन नसक्नु दुर्भाग्य हो । संविधानले दिएको प्रेस स्वतन्त्रताको अधिकार चाहिने थप कानुन बन्न सकेका छैनन् । राज्यले कानुन बनाउन खोज्दा पनि कहीँ न कहीँ प्रेसलाई नियन्त्रणमा राख्न खोजेको छ । प्रेसलाई खुम्च्याउने, नियन्त्रित गर्ने र निर्देशन दिने उद्देश्य राख्नु स्वतन्त्र प्रेसविरोधी कार्य हो । प्रेस स्वतन्त्रताका क्षेत्रमा रहेका समस्या र चुनौतीका विषयमा खोज, अनुसन्धान हुन आवश्यक छ । हुन त नेपालमा प्रेस स्वतन्त्रताका क्षेत्रमा देखिएका समस्याहरुका बारेमा छलफल र समीक्षा गर्न हरेक वर्ष मे ३ तारिख अर्थाथत् आजको दिन विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने गरिन्छ । तर हरेक वर्ष यो दिवस मनाउने गरिए पनि प्रेस स्वतन्त्रताको अवस्था खस्कँदै जानुु राम्रो होइन । सार्वजनिक सरोकारका विषयमा प्रश्न उठ्दा सञ्चार–माध्यमप्रति सरकारको सहनशीलता घट्दै जानुु विडम्वना हो । मुलुक सवल हुनलाई स्वतन्त्र प्रेस अपरिहार्य हुन्छ । तर सरकारबाटै प्रेस स्वतन्त्रतालाई कुण्ठीत हुने गरी अंकुस लगाइनु गलत हो । मानव अधिकारको स्रोत मानिएको प्रेस स्वतन्त्रता बिना देश प्रजातान्त्रिक हुन सक्दैन । प्रेस सरकारका खराब प्रवृत्तिलाई सच्याउने तथा समाजका सकारात्मक–नकारात्मक गतिविधिलाई उजागर गर्ने सशक्त माध्यम हो । मुलुक परिवर्तनको संवाहक मानिने पत्रकार र स्वतन्त्र प्रेसमाथिको कुनै पनि आक्रमण सह्य छैन । तसर्थ सरकारी निकायबाटै स्वतन्त्र प्रेसको सम्मान हुन जरुरी छ ।