Shittalpati
लगानी सम्मेलन : सम्मेलन मात्रै हो की लगानीको वातावरण पनि ?

धुमधाम र तामझामका साथ भर्खरै लगानी सम्मेलन सकिएको छ । सरकार र यसका समर्थकहरु यो सम्मेलन उपलब्धिमूलक भएको दाबी गरेका छन् । तर यससँग सम्बन्धित विज्ञहरु भने असफल भन्दैछन् । सहभागिताका हिसाबले सम्मेलन उत्साहजनक देखिए पनि प्रतिवद्धताका दृष्टिले उपलब्धिमूलक देखिन्न । यद्यपी करीब ५५ देशका १६ सय भन्दा बढी लगानी कर्ता सहभागी भएको उक्त सम्मेलन विगतमा जस्तो अर्थहिन नहुने सरकारको दाबी छ ।  नेपालको लागि यो लगानी सम्मेलन पहिलो अनुभव भने पक्कै होइन । विगतमा पनि यस्ता सम्मेलन भएका र सफल भएका अभिव्यक्ति सुनिन्थ्यो तर केहि वर्षको विश्लेषणले के देखाउँदछ भने जुन अपेक्षा र आशका साथ यस्ता सम्मेलन आयोजना गरिन्छ । उत्साहजनक रुपमा सम्मपन्न पनि हुन्छ । सरकारले सफल भएको दावी पनि गर्दछ तर परिणाम र उपलब्धी भने अपेक्षा अनुकुल देखिदैन् । लगानीकर्ता बढ्ने र उत्साहित हुने  भन्दा पनि निरुसाहित र पलायन हुँदै गएको देखिन्छन् । तर पनि यसको कारण खोज्न र समाधान गर्नतर्फ सरकारले विगतदेखि वर्तमानसम्म खासै ध्यान दिएको देखिदैन् । लगानी, लगानी सम्मेलन र लगानीको वातावरणसँग सम्बन्धित विविध पक्षलाई लिएर यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।

आफुसँग भएको रकमलाई भविष्यमा लाभ प्राप्तिका लागि कुनै पनि क्षेत्रमा गरिने खर्चलाई लगानी भनिन्छ । लगानीले थप आयआर्जनमा वृद्धि ल्याउँछ भने लगानी गरेको सम्पत्ति थप सिर्जना हुने गर्दछ । लगानी आन्तरिक तथा बाÞय दुई प्रकारको हुने गर्दछन् । आन्तरिक लगानीकर्ताले देश भित्रको पुँजी तथा स्रोत साधनको परिचालन, आत्मनिर्भता र आयात व्यापारमा कमी ल्याउनमा मुख्यतयाः सहयोग गर्ने गर्दछ भने पछिल्लो समय खुला अर्थतन्त्रका कारण वैदेशिक लगानीको चर्चा पनि बढ्दै गएको देखिन्छ । एक देश वा लगानी कर्ताले अर्को देशका गर्ने पूँजी तथा प्रविधिको लगानी वैदेशिक लगानी हो । विदेशी लगानी कर्ताले देशका विभिन्न उत्पादनमूलक क्षेत्रमा गरेको शेयर लगानी, पुर्नलगानी ऋण लगानी आदि यसमा पर्ने गर्दछन् । विकसित देशहरुको तुलनामा नेपाल जस्ता विकाासोन्मूख देशका लागि वैदेशिक लगानीको महत्व बढी नै रहेको देखिन्छ । उपयुक्त निश्चित समय र क्षेत्रमा गरिने लगानीले देशको अर्थतन्त्र तथा आर्थिक वृद्धि प्राप्ति, आत्मनिर्भता, जनताको जीवनस्तर तथा समृद्धि प्राप्ति र देश भित्रको स्रोत साधनको परिचालनमा सकरात्मक भूमिका खेल्ने कुरामा दुईमत नरहला । थय आयआर्जन हुने क्षेत्रमा गरिने खर्चका रुपमा लिइने लगानीले, लगानीकर्तालाई मात्रै लाभ नभएर यसले देशको अर्थतन्त्रलाई चलायमान बनाउनुको साथै कुलग्राहस्थ उत्पादनमा वृद्धि हुनुका साथै देश भित्र रोजगारी सिर्जना, निर्यात व्यापारमा वृद्धि, आयात व्यापारमा कमी, देश भित्रका मानव संशाधनको परिचालनमा उल्लेख्य भूमिका खेल्ने कुरामा दुईमत रहँदैन् । लगानीका हिसावले नेपाल विश्वका लगानी कर्ताका लागि आर्कषको केन्द्रका रुपमा रहेता पनि भौगोलिक अवस्थितिले केहि समस्या भने सिर्जना गरेको देखिन्छ । यसले उत्पादन लागतमा वृद्धि ल्याउनुका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्ने क्षमतामा ह्रास भने ल्याउने देखिन्छ । यहि कारण पनि लगानीकर्ता नेपालमा लगानी गर्न खासै आर्कषित भएको भने देखिदैन । सरकारले स्वदेशी लगानीकर्तालाई नै आर्कषित गर्न नसकिरहेको र स्वदेशी पूँजी पलायनलाई रोक्न नसकेको अवस्थामा विदेशी लगानीलाई आर्कषित र लगानी गराउन सक्ला ? प्रश्न पनि जनमानसमा उठेको देखिन्छ । यस्ता प्रश्नलाई चिरफार गरि साच्चै लगानीको वातावरणको बनाउने जिम्मा सरकारले लिनु वर्तमान प्राथमिकताको रुपमा देखिन्छ ।
लगानी सम्मेलन कि लगानीको वातावरण:
माओवादी शस्त्रयुद्व अवधिमा ह्रास र दयनीय अवस्थामा पुगेको नेपालको औद्योगिकरण तथा लगानीको वातावरण शान्तिपूर्ण अवस्थाको दशकौं वर्ष बित्दा पनि पूर्व तर तथा अनुकुल अवस्थामा फर्किन सकिरहेको देखिदैन् भने भएका लगानीकर्ताले लगानी बढाउनुको सट्टा घटाउदै लगेको देखिन्छ । किन यसो भै रहेको छ । यसको अध्ययन/विश्लेषणको अभाव देखिन्छ । सरकारहरु लगानीको कुरा गर्दछन् तर यस बारे ध्यान दिन चाहिरहेको देखदैन् । लगानी सम्मेलन मात्रै गर्ने की लगानीको वातावरण पनि बनाउने बहस यसको पनि गर्नु पर्ने जरुरी देखिन्छ । धेरै स्वदेशी तथा विदेशी लगानीकर्ता भन्छन् नेपालमा लगानीको वातावरण नै छैन । लगानीका लागि झन्झटीलो कानुनी प्रक्रिया, राजनीतिक अस्थिरता तथा आन्दोलन, बन्द हड्ताल अत्याधिक हुनु, नीतिगत अस्पष्टता तथा सरकार पिच्छे परिवर्तन, चन्दा आतंक,ट्रेड युनियन र अधिकारका नाममा निरन्तर उद्योगहरु सञ्चालनमा अवरोध । निर्यात व्यापारमा भन्सारमा अवरोध, सहज तरिकाले नेपाली उत्पादन विदेशी बजारमा पुर्‍याउन समस्या, राजनीतिक हस्तक्षेप, असुरक्षा, कच्चा पदार्थको अभाव, पारवहनमा समस्या जस्ता समस्याहरु सिर्जित भएको देखिन्छ । यसले लगानीको वातावरणमा समस्या सिर्जना गरेको देखिन्छ । करोडौ खर्च गरेर लगानी सम्मेलन गर्ने सरकार यी उल्लेखित पक्षमा सुधार गरेर लगानीको वातावरण बनाउनेतर्फ खासै ध्यान दिएको देखिदैन । लगानीको वातावरण नहुँदासम्म लगानी भित्रने र भित्रिएका लगानी टिकाई राख्ने कुरामा शंका उत्पन्न हुने नै देखिन्छ । लगानी सम्मेलन गर्नुलाई मात्रै उपलब्धि मान्ने सरकारहरुले त्यो भन्दा बढी लगानीको वातावरण बनाउनेतर्फ ध्यान दिनु जरुरी देखिन्छ ।
लगानी कसरी आकर्षित गर्ने त ?
लगानी सम्मेलनमा मात्रै ध्यान नदिएर लगानी आकर्षित गर्ने पक्षमा पनि ध्यान तथा बहस दिनु जरुरी रहेको देखिन्छ । लगानी आकर्षित गर्ने नीति तथा प्याकेज घोषणा गर्नु आजको आवश्यकताको रुपमा रहेको छ । यसका लागि के गर्ने त ? केहि सुझाव उल्लेख गर्ने प्रयास गरिएको छ ।
– लगानी नीतिमा सुधार गर्ने ।
– कर छुट तथा आर्थिक प्याकेजको घोषणा गर्र्ने ।
– राजनीतिकस्थिरता र शान्ति स्थापनामा जोड दिने ।
– भन्सार तथा पारवहनमा सरल र सहजता बनाउने ।
– सरकार पिक्षेप नीति परिवर्तनको अवस्थाको अन्त्य गर्ने ।
– सरकार तथा कर्मचारीतन्त्रको व्यवहार तथा कार्यशैलीमा सुधार गर्ने ।
– पूर्वाधारहरुको तिव्र विकास गर्ने ।
– प्राकृतिक स्रोत साधन परिचालन सम्बन्धि स्पष्ट नीतिगत व्यवस्था गर्ने ।
–  गैरकानुनीरुपमा सीमा नाकामा हुने तस्करी अन्त्य गर्नु पर्ने ।
– स्वदेशी तथा विदेशी लगानी कर्ताबिच समनता हुनु पर्ने ।
– बौद्धिक सम्पत्ति संरक्षणका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने ।
– ठूलो बैदेशिक लगानी भित्रीन सक्ने देश र लगानीकर्तासँग आवश्यक सम्झौता गर्ने ।
– सञ्चालनमा सरकारले अभिभावकको भूमिका खेल्ने वा सहजीकरण गर्ने ।
– भिषा प्रक्रियाको लागि सहज व्यवस्था गर्ने ।
– लाभांश फिर्ता लाने तथा बाँडफाँड सम्बीन्ध आवश्यक नीतिगत व्यवस्था गर्ने ।
– श्रम कानुन तथा श्रम स्विकृतका लागि स्पष्ट कानुनी व्यवस्था गर्ने ।
– लगानीका लागि स्थान र क्षेत्रको व्यवस्था गर्ने ।
– जलस्रोत, जलविद्युत  तथा प्राकृत्तिक स्रोत साधन परिचालनलाई प्राथमिकीकरण गर्ने । 
निष्कर्ष:
कुनै पनि देशको आर्थिक विकास, वृद्धि र समृद्धि प्राप्ति तथा जनताको जीवनस्तर सुधारको महत्वपूर्ण पक्षको रुपमा लगानीलाई लिने गरिन्छ । लगानीले विकासको ढोका खुल्दछ । देशको चौतर्फी विकासको योजना र दिशा तय हुन्छ ।  लगानी र लगानी भित्रयाउने कुरा गर्ने तर लगानी आकर्षित गर्ने पक्षमा सुधार नगर्ने प्रवृत्ति विगतमा देखिएकाले आशा गरे अनुकुल नेपालमा लगानी भित्रयाउन र टिकाउन सरकारहरु सफल देखिदैनन् । यो पटक यसो नहोस् । लगानी सम्मेलन गर्नमात्रै तम्सने तर लगानीको वातावरण बनाउन नसक्ने, यसका समस्या समाधानमा ध्यान नदिने अवस्था अब नदेखियोस् । लगानी सम्मेलनमा सहभागी धेरै हुँदैमा सम्मेलन सफल भएको मान्ने तर परिणाम भने शून्य हुने अवस्था अब नदेखियोस् । सरकारले भने जस्तै लगानी सम्मेलन नेपालमा धेरै क्षेत्रमा लगानी भित्र्याउन सफल होस् यहि कामना गरौं ।
(लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update