Shittalpati
अस्ताए पनि चम्किरहने प्रा.डा. वेणीमाधव

पाल्पा, संस्कृत विद्याशिरोमणी प्रा.डा.वेणीमाधव ढकाल अब हामी माझ रहेनन् । पाल्पाको रिब्दीकोट गाउँपालिका ठिमुरे पौरखनीमा पण्डित चूडामणि ढकाल र दिव्यलक्ष्मीको कोखबाट कान्छो छोराका रूपमा २००६ वैशाख २६ गते जन्मिएका ढकालकाको ७५ वर्षको उमेरमा गत मंगलबार (वैशाख १८ गते) आफ्नै निवास काठमाडौंमा निधन भयो ।

नेपाली तथा संस्कृत वाङ्मयका अथक साधक, सिर्जना, समालोचना, अनुवाद तथा अनुसन्धानकर्ता विशिष्ट  विद्वान ढकाल केही वर्षयता फोक्सोको क्यान्सरबाट पीडित थिए । लेखन, प्राज्ञिक र अनुसन्धानका क्षेत्रमा लामो अनुभव बटुलेका ढकालले गरेका योगदान र भोगेका अनुभवको अनुशरण गर्नेका लागि उनको मृत्यु भए पनि योगदान सधैं जीवित रहने छ । बुवा पण्डित भएकाले वेणीमाधवले पिताबाटै अक्षरारम्भ गरेका थिए । व्रतबन्धअघि नै विभिन्न स्तोत्र र चण्डी पाठ गर्न सक्ने भएका उनको आठ वर्षमा व्रतबन्ध भएपछि रुद्री श्राद्ध पद्धति र वेद घरमै अध्ययन गरे । ११ वर्षको उमेरमा काका भुवनेश्वरसँग भारतको ऋषिकेश गएका उनले त्यहाँ स्वर्गद्वारी महाप्रभु स्वामी सच्चिदानन्दका शिष्य स्वामी अनन्तानन्द गिरिद्वारा स्थापित नेपाली संस्कृति महाविद्यालयमा प्रथम पूर्वमध्यमा गरे । स्व. ढकालले गढवाल विश्वविद्यालयबाट बिए र सम्पूर्ण संस्कृत विश्व विद्यालयबाट स्वर्ण दर्शनामा समेत आचार्य गरेका छन् । भारतको अध्ययन पश्चात् नेपाल फर्किएर त्रिभुवन विश्वविद्यालय अन्तर्गत वाल्मीकि अध्ययन संस्थानमा प्राध्यापन गरेका उनले लिच्छविकालिकानाम भिलेखनां साहित्यिकमनुशीलन् विषयमा ०४९ सालमा महेन्द्र संस्कृत विश्वविद्यालयबाट विद्या वारिधि गरेका थिए । उनले पाल्पामै निम्न माध्यमिक र माध्यमिक तह अध्यापन गराउनु साथै प्रधानाध्यापक समेत भए । भारतका विभिन्न विद्यालय र विश्वविद्यालयमा अध्यापन गराएका ढकालले ०३३ सालमा नेपाल आएर गृह मन्त्रालय अन्तर्गत अनुसन्धान अधिकृतका रूपमा काम गरे । उनी ०३४ भाद्रदेखि महेन्द्र संस्कृत विश्वविद्यालय अन्तर्गत तत्कालीन संस्कृत अध्ययन संस्थान अन्तर्गत वाल्मीकि विद्यापीठको सहायक प्राध्यापकका रूपमा सेवा प्रवेश गरेर प्राध्यापक भए । ०६५ चैत १४ गतेबाट सेवानिवृत्त भएपछि उनी नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोग अध्यक्ष बनेका थिए । 

स्व. ढकाल ०७२ वैशाख १५ मा पुनः दोस्रो पदावधिका लागि पनि सेवा आयोग अध्यक्ष भए । जीवनको उत्तराद्धमा महेन्द्र संस्कृत विश्वविद्यालयको प्राध्यापक बनेका ढकालले विभिन्न पदक र विभूषण समेत प्राप्त गरेका छन् । ढकालका पाँच दर्जनभन्दा बढी कृतिरत्न प्रकाशित छन् । वेदान्त दर्शन, धर्मशास्त्र र पुराणका व्याख्याता स्व.ढकालको निधनले अपूरणीय क्षति पुगेको संस्कृत क्षेत्रका सरोकारवालाको भनाइ छ । साहित्यकार तथा त्रिभुवन बहुमुखी क्याम्पसका प्राध्यापक टंक पन्तले सामाजिक सञ्जालमार्फत ढकालको निधनले पूर्वीय साहित्य, संस्कृति र सिङ्गो वाङ्मयका क्षेत्रमा अपूरणीय क्षति पुुगेको बताएका छन् । पाल्पा साहित्य समाजका अध्यक्ष पुष्करराज रेग्मीले पनि  नेपाली र संस्कृत वाङ्मयका मूर्धन्य व्यक्तित्व ढकालको निधनप्रति दुख व्यक्त गर्दै देशले ठूलो क्षति व्यहोर्नु परेको बताए । ढकालका ज्वाई रमेश खनालले बुुवाको वृहत्त शब्दकोष निकाल्ने अन्तिम थोको रहे पनि पुरा हुन नसकेको  बताए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update