Shittalpati
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

पाल्पा, आज विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दवावमूलक कार्यक्रम गरी विश्वभर  दिवस मनाउन लागिएको हो ।

‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने गरिएको पाइन्छ । सन् १९९३ मा युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापकहरू र स्वतन्त्रताका पक्षपातीहरूको सहभागितामा यो घोषणापत्र जारी गरिएको थियो । घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बलियो प्रतिवद्धता जनाइएको थियो भने स्वतन्त्र र बहुलवादी प्रेसका पक्षमा सो सम्मेलनले आफूलाई प्रष्टरूपमा उभ्याएको थियो । यसै सन्दर्भमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिएको छ । नेपालमा पत्रकारसँग सम्वद्ध संघ  संस्थाहरुले विभिन्न कार्यक्रम गर्दै छन् । उनीहरुले प्रेस स्वतन्त्रताका पक्षमा सरकारलाई खबरदारी गर्नेदेखि पत्रकारितालाई मर्यादित बनाउने कुरामा छलफल र वहस गर्ने गर्दछन् । विश्वभरि सञ्चारका माध्यमहरूको स्वतन्त्रताका मुद्दा, मापदण्ड र महत्वको विषयमा पैरवी अनि बहस गरिँदै समाचार संकलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारहरूको योगदानको सम्झना र सम्मान पनि आजै दिन गर्ने गरिन्छ ।

संयुक्त राष्ट्र संघीय युनेस्कोको आह्वानमा यो दिवस मनाइने क्रमको सुरुआत भएको हो । प्रेस स्वतन्त्रता सञ्चार माध्यमको मात्र मुद्दा नभई समग्र समाज र लोकतान्त्रिक प्रणालीको अभिन्न विषय भएको बताउँदै पत्रकारहरूले यसको संरक्षणका लागि नीतिगत, कानुनी र संरचनागत सुदृढीकरणको माग पनि गरेका छन् । तर पछिल्लो समय प्रेस जगतलाई नियन्त्रण गर्न विभिन्न किसिमका विधेयकहरु संसदमा दर्ता गर्ने जस्ता कामहरु सरकारबाटै हुने गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update