Shittalpati
तानसेनको ‘मखनटोल सडक’ धुलाम्य, तत्काल व्यवस्थित नगरे आवत जावतमा रोक लगाउने स्थानीयको चेतावनी

पाल्पा,  जिल्लाको तानसेनस्थित मखनटोल सडक धुलाम्य बनेको छ । पाल्पा दरवार परिसरको शितलपाटीदेखी जिल्ला प्रशासन गेट सम्मको सुरक्षा पर्खाल निर्माणमा निर्माण व्यवसायीले लापरवाही गर्दा  सडक धुलाम्य भएको हो ।

शितलपाटीदेखि प्रशासन गेटसम्मको सडक धुलाम्य हुनुको साथै निर्माण सामाग्री जथाभावी फालेपछि सर्वसाधारणको आवागमन असहज बनेको छ । बढ्दै गएको गर्मीसँगै चल्ने हावाहुरीका कारण तानसेन बजार प्रवेश गर्ने उक्त सडकमा यतिबेला हिँड्नै नसकिने गरी धुलो उड्न थालेपछि सडक छेउमा व्यवसायी गर्ने र यात्रुहरुलाई सास्ती हुने गरेको छ ।

निर्माण व्यवसायीले गुणस्तरीय काम नगरेको, सडकमै धुलो तथा निर्माण सामग्री राखी अलपत्र पारेको भन्दै स्थानीयवासीहरुले विरोध गरेका छन् । दरवार बाहिर शितलपाटीदेखी जिल्ला प्रशासनसम्मका मखनटोलका उपभोक्ताहरुले पर्खाल बनाउने क्रममा सडकबाट उडेको धुलो सडक छेउछाउका सर्वसाधारणका आवासीय घरका साथै व्यापारिक सटरमा पस्दा सम्बन्धितलाई निकै हैरानी हुने गरेको भन्दै विरोध गरेका हुन् । शुक्रबार उनीहरुले वडा नं ४ को कार्यालयमा पुगी  विरोध गर्दै  तत्काल सडक व्यवस्थित गर्न आग्रह गरेकमा छन् । स्थानीयले एक/दुई दिन भित्र सडक सफा नभए आवत जावत तथा यातयात सेवा अवरुद्ध पार्ने चेतावनी समेत दिएका छन् । दरबार जस्तो महत्वपूर्ण क्षेत्रमा लापरवाही तरीकाबाट काम भएको, पर्खाल लगाउँदा पुरातात्विक महत्वका ढुङ्गाहरु फुटाएर सानो–सानो बनाएको,  सिमेन्ट सहितको सुरक्षा पर्खालमा ठेकेदारले नियमित रुपमा पानी नहाल्दा पर्खाल कमजोर भएको, बाटो क्षेत्रमा सयममै काम नगरी महिनौसम्म धुलो तथा निर्माण सामग्रीहरु राखेर सडकलाई कुरुप बनाएको भन्दै उपभोक्ताहरुले वडा कार्यालयमा पुगी विरोध गरेका हुन् । 

शितलपाटीदेखी प्रशासन गेटसम्म १२० मिटर  ढुङ्गाको पर्खाल  लगाउने काम शुरु गरेको महिनौ भए पनि अहिलेसम्म सकिएको छैन् । बाटोभरी धुलो, माटो तथा निर्माण सामग्रीका कारण कयांै पटक सवारी दुर्घटना हुनुुको साथै स्वास्थ्यमा समेत असर पुर्‍याएको स्थानीय दिनेश बज्राचार्यले बताए । उनले भने ‘हामीले तत्काल निर्माण क्षेत्रको धुलो तथा माटो सफा गर्न वडा कार्यालयमा अनुरोध गरेका छौं, एक/दुई दिन भित्र सफा भएन भने सवारी आवत–जावत नै रोक्छौ ।’ स्थानीयको  आग्रहलाई निर्माण व्यवसायीले  वेवास्त गरेमा काम नै रोकेर सडक बन्द गरिने मखनटोल टोल विकास संस्थाकी पूर्व अध्यक्ष ज्योती राजभण्डारीले बताईन् । वडा अध्यक्ष हेमन्तराज शाक्यले भने दरवार क्षेत्रमा भएको काम नगरपालिकाको नभए पनि आफुले निर्माण व्यवसायीलाई तत्काल धुलो सफा गर्न र सामान व्यवस्थित तरिकाले राख्न भनिसकेको बताए । 

दरवार क्षेत्रमा पाँच वटा फरक–फरक क्षेत्रबाट काम भईरहेको छ । जिल्ला प्रशासनदेखी शितलपाटीसम्म घरटहरा भएको क्षेत्रमा तानसेन नगरपालिकाले ढुङ्गा विछ्याउने र दरवार अगाडि सडकमा नाली बनाउने काम गरेको छ । दरवार संग्रहालय अगाडि आगनमा ढुङ्गा विछ्याउने काम पाल्पा दरवार संग्रहालयले शुरु गरे पनि महिनौ वित्दासम्म अलपत्र अवस्थामा रहेको छ । दरवार गेटदेखी जिल्ला प्रशासन कार्यालय तर्फको ५० मिटर ढुङ्गाको पर्खालको काम लुम्बिनी प्रदेश सरकार अन्र्तगत शहरी विकास तथा भवन डिभिजन कार्यालयले गर्दै आएको छ । दरवार गेटदेखी शितलपाटी तर्फको ७० मिटर ढुङ्गाको पर्खाल  शहरी विकास तथा संघीय कार्यान्वयन ईकाई भैरहवाबाट काम भईरहेको छ । दरवारको मुलढोकाको पुननिर्माणको काम  भने पुरातत्व विभागबाट भईरहेको छ । 


ढुङ्गाको पर्खाल निर्माणको काममा गुणस्तरहिन भएको स्थानीयको  आरोप छ । तर सम्बन्धित कार्यालयबाट कुनै  पनि अनुगमन भएको छैन् । पुरातात्विक महत्वको संरचनाको काम गर्दा लेवरको भरमा निर्माण हँुदै आएको छ । काममा कार्यालयको जिम्मेवार व्यक्ति तथा साईट इन्चार्जबाट राम्रोसँग रेखदेख नगरेको कारण गुणस्तरहिन काम भएको स्थानीयको भनाई छ । लुम्बिनी प्रदेश सरकार अन्र्तगत शहरी विकास तथा भवन डिभिजन कार्यालयले गराएको दुङ्गाको पर्खाल निर्माणमा लापरवाही देखिएको छ । निर्माण व्यबसायीले  एक महिना अघि आफ्नो तरीकाले लगाएको ढुङ्गाको पर्खाल  स्टिमेट विपरित भएपछी  तीन दिन अघि पर्खालको माथिल्लो भागको एक लेयर  भत्काएकाले कार्यालयको तर्फबाट काम गर्दाको समयमा कुनै अनुगमन  तथा रेखदेख नभएको देखिन्छ ।

पाल्पा दरवार परिसरलाई विश्व सम्पदा सूचीमा राख्न सिफारिस गर्ने भन्दै गत बर्ष तानसेन नगरपालिकाले यस क्षेत्रका ६१ वटा व्यापारिक सटहरु डोजर लगाएर हटाएको थियो । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाका भाइ बद्रीनरसिंहले विसं १९११ देखि १९३० सम्ममा मूलढोका सहित पाल्पा दरवार  निर्माण गरेका थिए । विंसं. १९८३ मा प्रताप शमशेरले  पुरानो दरवारलाई पुनः निर्माण गरी ठूलो दरबार बनाएका थिए ।  पाल्पा दरवार परिसरलाई पुरानै अवस्थामा फर्काउन पुरातत्व विभागले परिसर भित्र रहेका जिल्ला समन्वय समिति, बाल मन्दिर, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, विद्युत कार्यालय र राष्ट्रिय अनुसन्धान कार्यालयहरु अन्य स्थानमा स्थानान्तरण गर्न अनुरोध गर्दै आएको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update