गर्मी मौसमसँगै आगलागीका घटनाहरु बढ्दै गएका छन् । हावाहुरी चल्ने र आगलागी हुने बेला हो । यो केही दिनयता देशभरका अधिकांश वन–जंगलमा नियन्त्रण गर्नै नसक्ने गरी डढेलो फैलिएको छ । डढेलोले वायुमण्डललाई प्रदूषित मात्र बनाएको छैन जनधनको क्षति समेत बनाएको छ । तर यसको नियन्त्रणका लागि संघदेखि स्थानीय सरकारसँग न त समन्वय छ, न बजेट नै । डढेलोले वन्यजन्तु, बोटविरुवा, वनस्पति, जडिबुटी र काठ–दाउरालगायतका जैविक तथा पर्यावरणीय क्षति बढ्दो छ । तर, पर्याप्त बजेट नभएको भन्दै डढेलो नियन्त्रण गर्न सरकारी तह र निकायबाट प्रभावकारी पहल भएको छैन । बाढी, पहिरोजस्ता विपद्का बारेमा भन्दा जत्तिकै चासो र चिन्ता डढेलोका बारेमा नदेखिनु चिन्ताको विषय हो । यो विपद्लाई राज्य र नागरिक दुवैले बेवास्ता गरेका छन् । डढेलोबाट नियन्त्रणका लागि पूर्वतयारी र रोकथामका प्रयास हुन सकेका छैन । यो अत्यन्त दुःखको कुरा हो ।
पछिल्लो उपलब्ध तथ्यांकअनुसार हालसम्म देशका विभिन्न स्थानमा आगलागीबाट १० जनाको मृत्यु भैसकेको छ भने सयौं घरगोठ जलेर नष्ट भएका छन् । घरगोठ नै नभएपछि अहिले सयौँ परिवार खुला आकाशमुनी बस्न बाध्य भएका छन् । धेरै त कमजोर आर्थिक हैसियतका नै छन् । आगलागी पीडितका निम्ति एकातिर खाने, बस्ने समस्या देखिँदै छ भने अर्कोतिर भएभरका लत्ताकपडा समेत आगोले खाइदिँदा त्यसको समेत चरम अभाव देखिन थालिसकेको छ । पीडितहरुलाई बस्नका लागिसमेत त्रिपाल उपलब्ध नभइरहेको व्यापक गुनासाहरु बाहिर आइरहेका छन् । पहिल्यै नै आगलागीबाट गत वर्षको भन्दा दोब्बरको क्षति भैसकेको स्थिति र अझ तापक्रममा समेत वृद्धि हुने क्रम जारी नै रहेको साथै हावाहुरीको जोखिमसमेत कायमै रहेको हुँदा अझै ठूलो क्षति हुन सक्ने खतरालाई नकार्न सकिँदैन । डढेलोबाट जोगिने हो भने त्यो जोखिमको पूर्वतयारी छिटै गर्नुपर्छ । डढेलोबाट बच्ने र बचाउने उपायको खोजी वा पूर्वतयारी गर्न ढिलाई गर्नु हुँदैन । यसर्थ सरकारले डढेलो नियन्त्रणका लागि आवश्यक योजना बनाउनुको साथै विपद्मा परेका नागरिकहरुका लागि राहत र उद्धारमा गम्भीर बन्न जरुरी छ ।