Shittalpati
पौराणिक र पर्यटकीय  महत्वको तपोभूमि रेसुङ्गा

जगन्नाथ पन्त

भौगोलिक परिचयः 

समुन्द्र सतहदेखि २३४७ मिटर उचाईंमा अवस्थित छ रेसुङ्गा लुम्बिनी प्रदेशको गुल्मीमा पर्दछ । गुल्मीको सदरमुकाम तम्घासको शिरमा अवस्थित रेसुङ्गा साविकका १४ गाविस हाल रेसुङ्गा नगरपालिका, मुसिकोट नगरपालिका ,दरवार गाउँंपालिका र इस्मा गाउँंपालिकामा  समेत पर्दछ । जसको मुख्य भाग तम्घासमा पर्ने भएकाले नै होला तम्घास गाविस र आसपासका क्षेत्र मिलाइ नगरपालिका बनाउँदा पालिकाको नाम रेसुङ्गा राखिएको हो । तम्घास बजारबाट रेसुङ्गा महापोखरीसम्म कालोपत्रे सडक यातायातको सुविधा छ ।  तल्लो रेसुङ्गा र गौशालासम्म पुग्ने सामान्य सडक सुविधा समेत छ । महापोखरीबाट आाधुनिक सिडी चढ्दै आधा घण्टाको उकालो हिडाइ गरी सजिलै त्यहाँ पुग्न सकिन्छ । पाल्पाको तानसेनदेखि हार्थोक–जोर्ते –अर्गली–रिडी वा तानसेन–रानीमहल–अर्गली–रीडी–श्रृङ्गा हुँदै तम्घास, रीडी–खज्याङ् –चारपाला गुल्मी दरवारको  सडक हुँदै उक्त क्षेत्रमा पुगिन्छ । कपिलवस्तुको गरुसिंगेहुँदै अर्घाखाँचीको  सुपादेउराली – सन्धिखर्क –  छत्रदेव तम्घास हुँदै पनि पुगिन्छ । सालझण्डी –खज्याङ– गुल्मी  दरवार  हुँदै पनि जान सकिन्छ ।  तानसेन– पाणीनी तपोभूमि–सन्धिखर्क –छत्रदेव वा सन्धिखर्क –गफुङ्गा – पुर्कोटदह   ढोरपाटन सडक समातेर सिमलटारी– तम्घास हुँदै पनि जान सकिन्छ । प्युठान– पुर्कोटदह– तम्घास, बागलुङ्का विभिन्न भागबाट वामीटक्सार हुँदै पनि पुग्न सकिन्छ । काठमाडौंबाट सिधा हवाई उडान गरी ५० मिनेटमा रेसुङ्गा एयरपोर्ट अवतरण गरेर पन्ध्र मिनेट गुडेपछि पनि पुगिन्छ रेसुङ्गा । काठमाडौंदेखि  रेसुङ्गा  हप्तामा सामान्यतया चार फ्लाइटको सुविधा छ ।

रेसुङ्गाको पौराणिक महत्व :

महर्षि विभाण्डकका छोरा महर्षि ऋष्यशृङ्गले तपस्या गरेको पवित्र स्थान हो रेसुङ्गा ।  ऋष्यशृङ्ग तपोमूमि नाम कालान्तरमा अपभ्रंश भै रेसुङ्गा रहन गएको हो । त्रेता युगका थिए ऋष्यशृङ्।  रेसुङ्गामा तपस्या गरी सिद्धि प्राप्त गरेका थिए र महर्षि कहलिएका थिए । कुनै वर्ष पुस माघमा अत्याधिक हिमपात भै बस्न असहज हुँदा तीन घण्टा जति पैदल पूर्व  दुरीमा  रहेको डाँडोमा बसी समेत तपस्या गरेकाले श्रृङ्गा भन्ने नामरहन गएको धार्मिक स्थान समेत छ । हाल रुरु गाउँंपालिकामा श्रृङ्गा धार्मिक स्थल पर्दछ । जहाँ बलेटक्सार बजार वा धरमपोखरा सडकबाट पन्ध्र मिनेट पैदल उकालो जंगलका बीचमा छ ।  सडक यातायातमा श्रृङ्गा भनेर  लेखिएको  ठाउँं भने  छत्रकोट गाउँंपालिका पर्दछ । यसरी श्रृङ्गा  रुरु  र छत्रकोट गाउँपालिकाको सीमाना विन्दुमा रहेको छ । ऋष्यशृङ् महर्षि सिद्ध महापुरुष थिए । उनी योगि , तपस्सि र सिद्धि प्राप्त गरेका वैदिक र यज्ञिंक थिए । त्रेता युगका विषय अहिले श्रृति , पुराण र ऐतिहासिक विषय ज्ञान वा विश्वासका विषय हुन । त्रेता युगमा अयोध्याका राजा दशरथ निसन्तान हुँदा निकै चिन्तित थिए । रेसु्ङगामा वडो तपस्यी सिद्ध महर्षि छन् भन्ने थाहा पाएर दशरथले ऋष्यशृङ्गवाट पुत्रेष्टी यज्ञ गर्ने संकल्प गरेछन् ।  ऋष्यशृङ्गले  गरिदिएको  पुत्रेष्टि  यज्ञको  फल ( पायस )  खाएपछि दशरथका रानीहरु गर्भवती भई  राम , भरत , लक्ष्मण र शत्रुध्नको जन्म भएको पौराणिक कथन छ ।  पायसलाई अमृत पनि भनिन्छ ।  अमृत मृतसंजीवनी हो नजन्मेकालाई जन्माउने ,  जन्मेकालाई  अमर बनाउनेर  र मरेकालाई समेत पुनर्जीवित बनाउछ अमृतले ।  कुनै पुजाआजामा पञ्चामृत चढांउने र खाने चलन अहिले पनि छ नि ।  कौशिल्या रानीको भागमा  फल  अलि  परी राम जन्म भएका, कैकेयीबाट भरत, सुमित्राबाट जुम्ल्याहा शत्रुध्न र लक्ष्मणको जन्म भयो । अहिले पनि पुत्र नहुनेले हरिवंश  यज्ञ लगाउने चलन जुन छ त्यो त्यही पुत्रेष्ठी यज्ञको सुनि सुनाइ देखासिखी  हो भन्न सकिन्छ । यसमा  वैज्ञानिक विश्वास के पनि गरिएको पाइन्छ भने रेसुङ्गामा अनेकौ अमुल्य जडिबुटी थिए । निसन्तानलाई बांँझोपन निवारण गर्ने जडिबुटिबाट आौषधि बनाएर ऋष्यशृङ्गले राजा दशरथ र उनका रानीहरुलाई यज्ञको प्रसाद भनि खान दिएका र सन्तान प्राप्ति  गर्न सके  । रेसुङ्गा   छ   र  ऋष्यशृङ्ग  सिद्ध महर्षि भए , महर्षि ऋष्यशृङ्ग थिए  र राम जन्मे । रेसुङ्गा विना अयोध्या  अधुरो छ ।

रेसुङ्गाको धार्मिक  महत्व  ः

सनातन धर्म मान्यता अनुसार जम्मा २७ वटा देव गिरी छन् । त्यस मध्यको एउटा महत्वपूर्ण देव गिरी रेसुङ्गा  हो । यस देव गिरीमा देवी, देवताहरुले विचरण गर्छन् भन्ने विश्वास रहि आएको छ ।  यज्ञशाला , सीता राम  मन्दिर , बाल सिद्ध स्थान, विष्णु पादुका, महापोखरी ,गौशाला, सानो  रेसुङ्गा, सावनी , मनकामना मन्दिर ,शशिधर स्वामीको आश्रम , रेसुङ्गा मठ , राम कुवा प्रमुख  स्थान रेसुङ्गाका धार्मिक पहिचान हुन । रेसुङ्गा गोविर्ता हो ।  स्वामी शशिधरले तपस्या गरेको स्थान हो रेसुङ्गा । अहिले पनि उनको पुरानो आश्रमका अवशेष देख्न सकिन्छ । उनको पुरानो कुटिलाई जिर्णोद्वार गरि संरक्षण गरिएको छ । स्वामी शशिधरले जोसमनि संप्रदायको स्थापना गरेका थिए । तत्कालिन समाजमा महिलालाई मनुष्य जस्तो मानवोचित व्यवहार नहुने र जातिय छुवाछुतको भेदभाव रहेको समयमा लैंगिक विभेद र जातिय छुवाछुत विरुद्ध बुलन्द रुपमा अभियान चलाएका थिए स्वामी शशिधरले जोसमनि संप्रदाय खडा गरेर । उनका लाखौं अनुयायीहरु नेपाल, भारतको गढवाल, राजस्थान, वर्मा, श्रीलंका सम्म फैलिएका थिए भनिन्छ । शशिधरका पुत्र पनि महाप्रभु कहलिएका थिए । महाप्रभु आवाल ब्रह्मचारी  लक्ष्मी नारायणले सानो कुण्ड  सिद्ध पोखरीलाई वि. सं. १८८३  मा  विस्तार गरी  महापोखरी निर्माण गरे ।  धेरै तिर्थहरुको जल मिसाइएको उक्त पोखरीमा साउनको महिनाभरी स्नान गरेमा पुण्य मिल्ने जन विश्वास रहेकाले रेसुङ्गामा साउनमा विशेष धार्मिक मेला लाग्ने गर्दछ । शशिधरका भाई बुद्धिधर, बुद्धिधरका छोरा छविलाल, छविलालका छोरा ठाकुर प्रसाद समेत रेसुङ्गाका तपस्वि थिए । कमलापति नामका तवस्विले पनि रेसुङ्गाको श्रीबृद्धि गरेको पाइन्छ । कालिमाटी काठमाडौंका यदुकानन्दले पनि रेसुङ्गामा तपस्या गरी महाप्रभु भएका थिए । महाप्रभु यदुकानन्दले  वि . सं .१९८३ देखि २०२१ साल सम्म रेसुङ्गामा यज्ञहरु लगाएका थिए रे । उनले  नै यज्ञशाला र राधाकृष्ण  मन्दिर निर्माण गरेका हुन भन्ने छ ।

ऋषिशृङ्गलाई भेट्न राम र लक्ष्मण रेसुङ्गा गएको वर्णन पनि पाइन्छ । अग्लो देवगिरी रेसुङ्गामा पानीको अभाव रहेछ । रामले वाण  हानेर पानी निकाली दिएको राम कुवा अहिले पनि छ । राम कुवामा  ग्रिष्म ,वर्षा या  हिउँद सधै एक स्तरमा पानी रहन्छ । ननिकाले पनि पानीको स्तर बढ्दैन , जति निकाले पनि घट्दैन,त्यसको जल सेचन ,सेवनले अदाध्ये रोग र पिडा समन हुने विश्वास रहि आएको छ । हालको तम्घास बजार समिपमा चरिखोला छ । लक्ष्मणले वाण हानी पानी निकाली उक्त स्थानमा जल उत्पन्न गराएको भन्ने  पनि कथन रहेको छ । सिद्धस्थानको नामले चिनिने वाल सिद्ध मन्दिर शिवजीको वाल स्वरुप मन्दिर हो । यहाँ राती एक्लै बसेर  शिव आराधना गर्दा भगवान शिवको साक्षात्  दर्शन पाइन्छ भन्ने जनविश्वास छ। वि.सं.२०४२ सालमा योगी नरहरीनाथ जसलाई महर्षिकल्प र राष्ट्र योगीको उपमाले समेत सम्बोधन गरिन्छ उनले कोटी होम यज्ञ गरेका र गौशाला शुरुवात गरेका थिए । रेसुङ्गा  एक देव गिरी, तपोभूमि, सिद्ध  भूमि, यज्ञ भूमि, राम लक्ष्मणले टेकोको भूमि , देवि देवताले विचरण गर्ने भूमि पुरातात्विक  संरचना भएकाले यसको धार्मिक महत्व अवर्णणीय छ ।

रेसुङ्गाको पर्यापर्यटकीय महत्व  ः 

हिउँद यामको पुस माघमा रेसुङ्गा हिउँले सेताम्मे हुन्छ । बसन्त ऋतुमा लालिगुराँस फुलेर पुरै रेसुङ्गा मनमोहक हुन्छ । यहाँबाट अन्नपूर्ण हिम श्रृंखलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । धौलागिरी हिमाल टलटल समिपमा टल्किएको देख्न सकिन्छ । मनास्लु , माछापुच्छ्रे , माना पाथी हिमाल पुरै देखिन्छ । रेसुङ्गा वनमा अनेकौ वनस्पति, जडिवुटि छन् । चितुवा, रतुवा र अनेक जंगली जनावर देख्न पाइन्छ । रंगि विरंगी धेरै प्रजातिका चरा चुरुङ्गी हेर्नु छ भने रेसुङ्गा जान छुटाउनु हुँदैन । तम्घास बजार वा गौडाकोटबाट पैदल उकालो ट्रेकिंगको आनन्द अवर्णनीय छ । महापोखरीदेखि यज्ञशालासम्म ९९४ वटा आधुनिक फराकिला  पश्तरले निर्मित सिडी चढ्दै ,छेउमा लगाइएका  फलामे  बार समाउँदै  बीचबिचमा  स्टिलका बेन्चहरुमा विश्राम  गर्दै विचरण गर्दाको क्षण अविस्मरणीय हुन्छ । तिर्खा लागेमा बीचमा राम कुवाको जलले प्यास मेटाउन सकिन्छ । अझ बसन्त ऋतुमा लाली गुराँसका फूल हेर्दै र सुगन्ध लिदै हिड्दाको आनन्द त कति छ कति । यज्ञशालादेखि  सिद्ध स्थान सम्म पुग्दा वा भ्यूटावर सम्म पुग्न थप  ३५२  भन्दा  वढी  सिडी पार गर्नुको ट्रेकिंगको रमाइलो जति माथितर्फ गयो त्यति बढ्दै जान्छ ।  भ्यू टावर चढेर तम्घास बजार , रिडी खोला , अर्घाखांची , बाग्लुङ सम्मका दृष्य हेर्दा मन आनन्द विभोर हुन्छ । गौडाकोटदेखि सिमीचौर बीचमा रेसुङ्गाबाट झरेका मनोरम झरना देख्न पाइन्छ । आधा शताव्दी पहिले गोरखपुरमा रेलगाडी कुदेको  र गोरखनाथ मन्दिर देखिन्थ्यो रे रेसुङ्गा चुचुरोबाट । अहिले पनि मौसम खुलेको समय परे राम्रो खालको वाइनाकुरल ( दुरविन) बाट हेर्दा बुटवल बजार र रुपन्देहीका समथर भाग र लुम्बिनी समेत ठम्याउन  सकिन्छ । रेसुङ्गापार्क पर्यटकीय आकर्षण स्थल बन्दै गएको छ । रेसुङ्गा नगरपालिकाको पहलमा निर्माण भएको यो पार्क दृष्यावलोकन गर्न , स्वच्छ अक्सिजन लिन , घाम ताप्न , शितल छहारी लिन , तस्विर खिच्न  र विविध मनोरञ्जन गर्न , बनविहार  गर्न अनुपम छ । तम्घास बजारबाट नजिक रहेकाले  यस पार्कमा पुग्न सहज छ ।

रेसुङ्गा संरक्षण समीति  र रेसुङ्गा ः

२०४२ सालमा  योगी नरहरि नाथले कोटि होम यज्ञ गरी २०२१ सालपछि सुस्ताएको रेसुङ्गा जगाएका थिए । तर रेसुङ्गाको महिमा र चर्चा घट्दै  जाने हो कि भन्ने चिन्ता थपिदै थियो । तत्कालिन १४ पञ्चायत छुने क्षेत्र समेट्दै समाजसेवीहरुले गठन गरेको रेसुङ्गा संरक्षण समीति २०५५ सालमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको छ ।  बजेट अभाव र अधिकारको अभाव खेप्दै  संरक्षणमा बामे सर्न थाल्यो संरक्षण समिति । यदुकानन्दले राणा सरकारको सहयोग समेत जुटाइ मासिक ५ सय पुजा खर्च बन्दोवस्त मिलाएकामा निज २०१९ सालमा विरामी परि उपचार गर्न हिड्नु भएको, तम्घास सदरमुकाम भएपछि गोविर्ता अतिक्रमण पर्छ भन्ने चिन्ता दर्शाउनु भई रेसुङ्गाका सर सम्पत्तिपछि फिर्ता गर्ने शर्तमा विभिन्न व्यक्तिलाई जिम्मा दिनु भएकोमा ति व्यक्तिहरुले फिर्ता नदिएका , नियमित पुजा बन्द भई अलपत्र परेकोमा संरक्षण समितिले पुजा पाठ पुन सुचारु गरेको हो । रुद्रबहादुर भुजेल अध्यक्ष भै २०६९ सालसम्म धेरै काम गर्नु भयो । उपाध्यक्ष  सुरेश चन्द्र भुसालको समन्वय र सक्रियतामा तथा तत्कालिन सिडिओ नेत्र प्रसाद शर्माको सहयोगमा २०६० सालमा वाचन शिरोमणी नारायण प्रसाद पोखरेलबाट यज्ञ र कथा वाचन  गराइ  ३१ लाख वचत  भएको रकमले रेसुङ्गा मोटरबाटो र नारायण स्मृति भवन निर्माण  गरिएको थियो । २०७० सालदेखि अहिले सम्म सुरेश चन्द्र भुसाल अध्यक्षको रुपमा कार्यरत हुनुहुुन्छ । २०७० सालमा यज्ञशालाको जिर्णोद्वार गरि पित्तलले  छानो  छाउने , थाम फेर्ने ,ढुङ्गा छाप्ने काम भयो । रेसुङ्गा संरक्षण समितिका सबै पदाधिकारी र सदस्यहरु थप सक्रिय हुँदै गएका कारण  भू संरक्षण कार्यालयको सहयोगमा महापोखरी समिप २० हजार लिटर क्षमताको पानी ट्याङकी निर्माण, ६ सय मिटरमाथि ४० हजार क्षमताको पानी ट्याङ्कि निर्माण गरी सोलार प्यानल जडान गरी यज्ञशाला क्षेत्रमा पानी सहज गराइएको छ । २० लाख लागतका १३ वटा पोखरी निर्माण गरी रेनवाटर हारभेष्टिङ् कार्य , पिउने पानी पोखरी र गाईहरुको लागि पानी पोखरी समेत निर्माण गरेको छ ।  ३० लाख जुटाइ यज्ञशाला क्षेत्रमा कम्पाउण्डवाल निर्माण गर्न संरक्षण समिति सफल भयो । नेपाल सरकार र पछि लुम्बिनी प्रदेश सरकार जलाधार संरक्षण कार्यालयले सिडि निर्माणमा २ करोड ५० लाख वजेट कार्यक्रम स्विकृत गरेकोमा संरक्षण समितिले २०७२ –८–१२ मा शुरु गरि २०७७ असारमा १ करोड ९० लाख मै कार्य संपन्न गर्यो । स्वर्गद्वारी आश्रमका गुरु भागवतानन्दका भक्त ईन्जिनीयर झविन्द्र ज्ञवालीबाट रु ५० लाख, विभिन्न संघ संस्थाहरु, रेसुङ्गा नगरपालिका समेतबाट थप सहयोग जुटाई २०७७ सालमा संरक्षण समितिले १ करोड ५० लाखमा गाई गोठ, गोपाल गृह  र शौचालय निर्माण गरेको छ । थप १५ लाख सहयोग जुटाई गौशालामा रहेका गाईहरुको सुरक्षाका लागि २०७७ सालमा नै गौशालामा  कम्पाउण्ड निर्माण गरेको छ संरक्षण समितिले । तत्कालिन कृषि सचिव डा. युवक ध्वज जि . सी.को  पहलमा २५ लाख लागतमा मल प्रशोधन मिसिन र ५ लाख लागतमा पञ्चकव्य( गहूंत ) प्रशोधन  मिसिन व्यवस्था भएको छ ।  रेसुङ्गा गौशालाको प्रशोधित गहूंतको  माग  बढ्दो रुपमा छ । गौशालामा अहिले करिव २ सय गाईहरु रहेका छन् । तर संख्या थपघट भइरहन्छ ।

बृक्षारोपण गरी दिगो वातावरण संरक्षणमा समेत रेसुङ्गा संरक्षण समिति लागि रहको पाइन्छ ।  वर , पिपल र समिका प्रशस्त्र विरुवा रोपण गरिएको छ । कृषि ज्ञान केन्द्र तम्घासको सहयोग र ज्ञान केन्द्र प्रमुख नवराज भण्डारीको विशेष सक्रिय सहयोग जुटाई यज्ञशाला, विष्णु पादुका र सानो रेसुङ्गा जाने मार्गका किनारामा  स्याऊ,ओखर,नास्पाती र जापानिज हुवावेद लगाएतका फलफूलका विरुवा रोपण गरि हुर्काउदै गरिरहेको छ संरक्षण समितिले । सानो रेसुङ्गामा २५ लाखको लागतमा सन्त निवास  निर्माण,  यस स्थानमा  बाल ब्रह्मचारी फलाहारी स्वामी तदर्थानन्द ( तारा गुरु )  २० वर्ष देखि तपस्यारत हुनुहुन्छ र २० लाखको लागतमा ऋष्यशृङ्को विग्रह सहितको कुटि निर्माण रेसुङ्गा संरक्षण समितिले गरेको छ । यस लेखमा अगाडि उल्लेख गरियो कि रेसुङ्गा  छ र ऋष्यशृङ्ग पाइयो , ऋष्यशृङ्ग थिए र पो राम पाइयो । अर्थात रेसु्ङ्गा र अयोध्या अनि रेसुङ्गा र त्रेता युग देखिको अन्तर सम्बन्ध छ । यसै  पौराणिक महत्वलाई मनन गरि रेसुङ्गा संरक्षण समितिले २०८० साल बैशाख २२ गते देखि ३१  गते सम्म  श्रीराम महायज्ञ ,श्रीराम कथा प्रवचन एवंम् विराट सन्त भक्त दर्शन मेला आयोजना गरेर रेसुङ्गाको महिमा अयोध्या , वनारस , हरिद्वार , वृन्दावन , देहरादुन , राजस्थानसम्म फैलाउन सफल भयो । अयोध्या पुरानो राम मन्दिरका पिठाधिश स्वामी राजेन्द्र नन्दनको प्रमुख आचार्यत्वमा राजस्थानका योगि शंभुनाथ व्यासाचार्षबाट श्रीराम कथा वाचन , हरिद्वार ,वृन्दावन , बनारस, देहरादुनका पण्डाहरुबाट लक्ष्य होमन , कन्या पुजन समेत गरि भारतका ४० भन्दा वढी र नेपालका  सन्तहरु समेतको  सहभागितामा महामहोत्सव  भव्यताका साथ संपन्न गर्न रेसुङ्गा संरक्षण समिति सफल भयो ।  लाखौ संख्यामा नेपाली दर्शानार्थीको  उपस्थिति रहेको थियो । उक्त कार्यमा तम्घासका व्यवसायी गिरीराज रेग्मीले  झण्डै ७ लाख बराबरको खाद्यान्न  , तरकारी , फलफूल र प्रसाद सन्त महन्त , अतिथि र दर्शनार्थीलाई खुवाउनु भयो , हवन तथा खानका लागि २ लाख बढिको घिऊ , दुध , दही वस्नेत दुग्ध डेरीका युद्धबहादुर जिसीले उपलब्ध गराउनु भयो । दरवार गा पा गौडाकोटका ई टोपबहादुर बस्नेतले रु १,५१, १११,  रे न पा १ मिलनचौकका यज्ञ प्रसाद शर्मा पन्थीले रु १,२५,५२५ , दरवार गा पा  ४ चारपालाका फर्सबहादुर कार्कीले रु ५१, १११, इस्मा गा पा कार्यालय गुल्मीले रु १,११, १११  र  छत्रदेव गा पा अर्घाखांची   कार्यालयले रु २५ हजार नगद  सहयोग गरे ।  अन्य  विभिन्न संघ ,संस्था , दाताहरुवाट नगद  गरि  ६५  लाख महामहोत्सवमा संकलन भई खर्च कटाइ २९  लाख वचत गर्न सफल भएको  कोषाध्यक्ष  नेत्र वहादुर बस्नेत क्षेत्रीले जानकारी दिनु भयो ।  २०२१ सालवाट २०४२ को बीचमा झण्डै चर्चा हराएको रेसुङ्गालाई संरक्षण समितिले पुनर्जागरण गरि २०७० सालदेखि  संरक्षणका क्षेत्रमा ठूलै उपलब्धी हासिल भएको छ ।  अध्यक्ष  सुरेश चन्द्र भुसाल विस्व हिन्दू महासंघ जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य, योग प्रशिक्षक  र   पतञ्जलीको जिल्ला अध्यक्ष, रेसुङ्गा क्याम्पस व्यवस्थापन समिति उपाध्यक्ष र कार्यवाहक अध्यक्ष, किसान संघका केन्द्रीय सदस्य, नेपाली कांग्रेस जिल्ला सभापति, युवक  संगठनको जिल्ला सभापति भै कार्यअनुभव भएका, माओवादी सशस्त्र विद्रोहका कठिन समयमा पनि जिल्ला नछोडि जनताका सेवामा निरन्तर खटिएका र उच्च सदाचारी व्यक्ति भएकाले पनि  संरक्षण कार्यमा सहयोग जुटाउन सहज भएको भन्नु हुन्छ सहसचिव यज्ञ प्रसाद पन्थी । उपाध्यक्ष त्रय थम्मन खड्का, मति प्रसाद खनाल , राजेन्द्र पाण्डे , सचिव गोपाल पन्थी, कोषाध्यक्ष , सहसचिव र कार्य समितिका २७ जनाको सक्रियताले गर्दा संरक्षणमा योगदान पुगेको हो भन्नु हुन्छ अध्यक्ष । गौशालाको खर्च धान्न मुस्किल छ भन्नु हुन्छ कोषाध्यक्ष । १३ जना हेरालुलाई खानपिन,वस्न , पारिश्रमिक गाईको दाना,घास, पानी जुटाउन हम्मे रहेछ । ५०० जनाले दैनिक १ रुपैयाँ र गौशालाका  आजिवन सदस्यता नै मुख्य आधार रहेछ । तर आजिवन सदस्य धेरै नै कम रहेछन् । रेसुङ्गामा पुग्ने धार्मिक पर्यटकका लागि  १५० देखि २०० लाई खाना र  बास वस्न सक्ने गरी संरक्षण समितिले प्रवन्ध समेत गरेको छ ।  यसका लागि दाताहरुले सिलिपिंग व्याग , सिरक , डसेना, तकिया, वासिङ् मेसिन समेत दिएका छन । उसो त नजिकै सुविधा सम्पन्न होटेलहरु प्रशस्त छन् तम्घासमा ।

जाऊं हिड रेसुङ्गा अभियान ः

रेसुङ्गा नगरपालिकाको आयोजनामा मिति २०८१ बैशाख २० गते अनुपम फुडल्याण्ड वत्तिसपुतली काठमाडौंमा भव्य कार्यक्रम सम्पन्न भयो । संयोजक रहनु भएका योगराज शर्मा कणेलको सक्रियता र गुल्मेली अधिकृत समाजले प्रभावकारी सूचना संप्रेषण गरेकाले करिव ८ सयको उपस्थिति देखिन्थ्यो । सम्माननीय प्रधानमन्त्रीको प्रमुख आथित्यता भएकाले पनि कार्यक्रम भव्य थियो । पूर्व मुख्य सचिव लिलामणी पौड्यालले वर्तमान सरकारको न्यूनतम साझा कार्यक्रमा पर्यटन र वातावरण प्राथमिकतामा रहेकाले  रेसुङ्गाको विकासमा सरकारको ध्यान जाओस् भनि स्वागत   मन्तव्य राख्नु भयो । रेनपाका मेयर खिलध्वज पन्थीले  रेसुङ्गाको ऐतिहासिक, पुरातात्विक, धार्मिक र पर्यटकीय महत्वको बारेमा प्रकाश पार्दै प्रधानमन्त्रीलाई  गुल्मी आउन , मन्त्रिपरिषदको एउटा बैठक रेसुङ्गामा गर्न  समेत निमन्त्रणा र अनुरोध गर्नुभयो । प्रधानमन्त्री ज्यूले गुल्मी आउने र रेसुङ्गाको विकासमा सहयोग गर्ने, गुल्मी आगलागी  पीडितलाई सहयोग गर्ने बचन दिनु भयो । संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मंन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, माननीयहरु  चन्द्र भण्डारी, गोकर्ण विष्ट, सूर्य थापा, विष्णु कुमारी सापकोटा, पूर्व सभासद कमला विकले  संबोधन गर्नुभएको कार्यक्रमा गुल्मीका लुम्बिनी प्रदेश  माननीय सदस्यहरु, नेपाल सरकारका वहालवाला र पूर्व सचिवहरु, केन्द्रीय, प्रदेश र जिल्लाका गुल्मेली नेताहरु, केहि संख्यामा विभिन्न जिल्लाका र काठमाडौमा रहेका गुल्मेलीहरुको उल्लेख्य  उपस्थिति  देखिन्थ्यो ।  गुल्मेली कलाकारले गीत गाएर सभा गुञ्जायमय भएको थियो भने पत्रकारहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रम सञ्चालन इस्मा गापा अध्यक्षले गर्नु भएको थियो । सम्माननीय प्रधानमन्त्री ज्यूको उपस्थितिले आयोजक र सहभागी  प्रफुल्लित  देखिन्थ्ये । यस अभियानले रेसुङ्गाको प्रचारमा ठूलै उपलव्धी हुने आशा पलाएको छ ।

 कार्य व्यस्तताका कारण प्रम ज्यूले शुरुमै सम्वोधन गरी हिड्नासाथ  सहभागीहरु ७५  प्रतिशत हल बाहिर निस्केर  विभिन्न समुहमा कुराकानी गर्न, फोटो खिच्न र समीक्षा गर्न व्यस्त देखन्थे । कयौ  पटक रेसुङ्गा पुगेका र  गुल्मीकै भएर होला हलभित्रको भाषण चलिरहँदा  कुर्सिहरु दुई तिहाई खाली थिए । हल वाहिर भने अन्त्य सम्म ठूूलै उपस्थिति  थियो । प्रदेश माननीय समेत मञ्चमा आसन  र  मन्तव्य  राख्न नपाएकाले बाहिरै कुरा राखिरहेका थिए । रेसुङ्गाको प्रचार गर्न आयोजित कार्यक्रमा रेसुङ्गा संरक्षण समितिका अध्यक्ष र रेसुङ्गामा विगत २० वर्षदेखि  अन्न नखाई तपस्यारत फलाहारी आवाल ब्रह्मचारी स्वामी तदर्थानन्दलाई यथोचित स्थान  र मन्त्यव्य राख्ने व्यवस्था नगरेकोमा आश्चर्य प्रकट गर्दै कार्यक्रम राजनीतिक आमसभा जस्तो भयो भन्ने बाक्लै गाइगुई चलेको सुनिन्थ्यो । प्रधानमन्त्रीलाई रेसुङ्गामा क्याविनेट बैठक गर्न अनुरोध गर्दा हामीले यतिवटा कार्यपालिका बैठक र नगर सभा गरेका छौ रेसुङ्गामा भन्ने आधार  भए कति जाति सुनिने थियो , राम कथा लगाउँदा तम्घास– रेसुङ्गा सार्वजनिक यातायात खर्च दिउला भनेको आश्वासन एक वर्ष हुँदा पनि  पुरा भएन , टिशर्ट वितरण गर्नु भन्दा गाइको दाना पानीका लागि खर्च  दिएको भए राम्रो  काम  हुनेथ्यो , रेसुङ्गा वनमा गाउँलेहरुले जथाभावी दाउरा लैजानाले दिन प्रतिदिन वन पातलिएर मासिदैछ । वर्षैपिच्छे रेसुङ्गामा हुने आगलागि रोक्न  प्रतिरोधात्मक काम गर्न , सुकेका र लडेपढेका दाउरा उठाई राजस्व आम्दानी गरे हुन्थ्यो । सम्बन्धित स्थानीय सरकारले भन्नु हुन्छ संरक्षण समितिका कोषाध्यक्ष । जानकारी मुलक लिफलेटको भने तारिफ  भएको पाइयो । लिफलेटलाई अझ परिमार्जन गरेर हिन्दी, अंग्रेजीमा समेत बनाएर भारतका अयोध्या लगायत ठाउँंमा पुर्याउन सके विदेशी पर्यटक आउथे भन्ने भनाई पनि अभियानमा सुनिन्थ्यो । तानसेन रानीमहल, रिडी ह्रृषीकेश, मुक्तिनाथ,छत्रदेव,अर्घाभगवती, सुपादेउराली,पाणिनी तपोभूमि, स्वर्गद्वारी, लुम्बिनीलाई जोडेर धार्मिक पर्यटकीय सर्किटको एकीकृत अवधारणा ल्याउन सकेमा थप उपलव्धी  हासिल गर्न सकिने  तर्फ पहल गर्नु श्रेयस्कर  हुने देखिन्छ । गत बैशाख ३० गते रेसुङ्गा जाउँ भनि गुल्मेली अधिकृत समाजले पनि प्रचार गरको थियो । काठमाडौंमा रहेका गुल्मेलीमा भन्दा पनि अरु ठाउँ विशेष गरी भारतमा प्रचार पुर्याउन अभियानले  सार्थकता पाओंस् । भ्रमण गरौं  नेपालको गुल्मी, दर्शन गर्न  रेसुङ्गा  तपोभूमि ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update