Shittalpati
पाल्पाको रिब्दीकोट गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा  

पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकालाई निश्चित इन्डिकेटरका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो ।

जिल्ला खोप समन्वय समितिका सह–संयोजक काशिका गैरे, समितिका सदस्य सचिव डा.राजेन्द्र कुमार गिरीले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको गाउँपालिकाको प्रमाणपत्र  पालिका अध्यक्ष नारायण बहादुर कार्की, उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेललाई हस्तान्तरण गरे । गाउँपालिकाका ८ वटै वडाहरुलाई पूर्ण खोप सुनिश्चिता घोषणा गरेपछि सिङ्गो गाउँपालिकालाई नै पूर्ण खोप सुनिश्चितता भएको गाउँपालिका घोषणा गरिएको हो ।

 चालु आर्थिक बर्षमा १५ महिना देखी ५ बर्ष मुनिका ८ सय ५२ जना सरकारले तोकेका १३ किसिमका खोपहरु बालबालिकाहरुलाई लगाईएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख सुनिल अधिकारीले बताए । सरकारले प्रदान गरेको १३ किसिमका खोपमा एक जना बालबालिकाहरु पनि नछुटुन भनि ८ वटै वडामा घरदैलो गरी पूर्ण खोप अभियानलाई सफल बनाइएको स्वास्थ्य शाखा प्रमुख अधिकारीले जानकारी दिए । पालिका भित्रका जन्मेदेखी १५ महिनासम्म र १५ महिनादेखी ५९ महिनासम्मका बालबालिकालाई दुई समूूहमा वर्गीकरण गरेर खोप अभियान सञ्चालन गरिएको थियो । घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका उप–प्रमुख काशिका गैरेले पूर्ण खोप कार्यक्रम अभियानले बाल मृत्युदर, मातृ मृत्युदर, शूून्यको अवस्थामा पु¥याएको, मानिसको औसत आयुमा वृद्धि गरेको, धेरै किसिमका रोगहरुबाट मानिसलाई सुरक्षित बनाएकाले समग्र स्वास्थ्य क्षेत्रमा उल्लेखनिय सुधार आएको बताईन ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र कुमार गिरीले पूर्ण खोप सुनिश्चिता कार्यक्रमले ५ बर्षमुनिका कुनै पनि बालबालिका सरकारको मापदण्ड भित्रका खोपहरु पाउने, कुनै तरिकाबाट छुटेका भएपनि पुन समेटिने भएकाले निकै प्रभावकारी भएको बताए । पाल्पाले विगत ३ बर्ष देखी खोप सुनिश्चितता भएको पालिका अभियानलाई निरन्तरता दिदै आएको प्रमुख डा. गिरीले बताए । खोप अन्र्तगतका दादुरा, विफर र पोलियो पाल्पामा हालको अवस्थामा निर्मुल अवस्थामा रहेको डा. गिरीले बताए । गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले पूर्ण खोप अभियानले पालिकाको स्वास्थ्य क्षेत्रमा उल्लेखनिय सुधार आएको बताए । पूर्ण खोप अभियानले प्रत्येक घर घरमा पुग्दा स्वास्थ्य क्षेत्रका अन्य विषयबस्तुमा समेत जानकारी प्राप्त भएकाले गाउँपालिकाले सोही अनुसारको निति कार्यक्रम र बजेट बनाउदै आएको पालिका अध्यक्ष कार्कीले बताए । सर्ने रोगहरु खोपबाट नियन्त्रण भएपनि नसर्ने रोगहरुको अवस्था दिनहुँ भयावह हुँदै आएकाले सिंगो गाउँपालिका नियन्त्रणको अभियानमा जुटेको अध्यक्ष कार्कीले बताए । गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले पूर्ण खोप सुनिश्चितता कार्यक्रमलाई पालिकाले निरन्तरता दिने र आगामी दिनमा जिल्लामै पहिलो गाउँपालिका हुने गरी आजैदेखी योजना बद्ध रुपमा काममा खटिने बताईन । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले नयाँ संविधान जारी भएपछि स्थानीय तहमा स्वास्थ्य अधिकार पाएको, आफै नीति नियम कानुन र बजेट बनाउने र आवश्यकता अनुसारको स्वास्थ्य कार्यक्रम लागु गर्न पाउँदा स्वाथ्य क्षेत्रमा उल्लेखनिय सुधार भएको बताए । बालबालिका स्वस्थ भए देश नै स्वस्थ हुने भएकाले सबै तहको सरकारबाट बालबालिकाको स्वास्थ्यमा बढी लगानी गर्नुपर्ने उनले बताए ।

घोषणा कार्यक्रममा गाउँपालिका प्रवक्ता प्रकाश रायमाझी, जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर विश्वनाथ न्यौपाने,गाउँपालिकाका स्वास्थ्य शाखा नर्सिङ प्रमुख कमला लामटाङ्गे लगायतले स्वास्थ्य विग्रिएमा जीवनको सबै कुरा विग्रने भएकाले सबैले आफ्ना बालबालिकाहरुलाई १३ प्रकारका खोप अनिवार्य लगाउन आग्रह गरे । पछिल्लो समयमा नसर्ने रोगले स्वास्थ्य क्षेत्रमा जटिलता ल्याएकाले खानपान, आनिबानी तथा व्यहारमा परिवर्तन गर्न र नियमित व्यायम गर्न, कृषि उत्पादनमा विषादी जाँच अनिवार्य गर्ने व्यवस्था लागु गर्न सरकारसँग माग गरेका छन् ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update