Shittalpati
रामपुरमा मादल बजाउने तालिम

पाल्पा, जिल्लाको रामपुर नगरपालिका –६ पाल्पामा मादल बजाउने तालिम दिइएको छ ।  वडाको संस्कृति संरक्षण कार्यक्रम अन्तर्गत संरक्षण समितिको समन्वयमा मादल बजाउने तालिम दिइएको हो ।

१० दिनसम्म चलेको तालिमको विहिबार एक कार्यक्रमकाबिच समापन गरिएको छ । तालिमको सहभागीलाई प्रमाण पत्र वितरण गर्दै उपप्रमुख बाल कुमारी थापाले समापन गरेकी हुन् । तालिमको समापन गर्दै उनले तालिमले कला, ज्ञान, सिप आर्जनसंगै संस्कृतिको संरक्षणका लागि महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उपप्रमुख थापाले भनिन् ‘तालिमले गाउँ छिमेकमा हुने विभिन्न कार्यक्रममा मादल बजाउने व्यक्तिको अभाव हुँदैन भन्ने हामी विश्वास लिएका छौं ।’  

कार्यक्रममा रामपुर नगरपालिकाका सल्लहाकार तथा निवर्तमान वडा अध्यक्ष हुमनाथ न्यौपानेले तालिम मादल बजाउनमा मात्र सिमित नभएको भन्दै यसले संस्कृतिको संरक्षणसँगै बाजाको संरक्षण पनि हुने बताए । राष्ट्रिय जनमोर्चा रामपुरका नगर अध्यक्ष राम प्रसाद गैरेले तालिममा सिकेका ज्ञानलाई अभ्यास मार्फत दक्ष मादल बाधक बन्न आग्रह गरे । तालिमका प्रशिक्षक कलाकार हुम विसीले १० दिनको तालिममा मादल बजाउनका लागि आधारभूत ज्ञान,सिप सिकएको बताउँदै सिकेका ज्ञानसिपलाई व्यवहारमा उतार्नुु पर्नेमा जोड दिए । तालिममा सहभागी मधुरा पाठकले संस्कृतिको संरक्षणका लागि प्रदान गरिएको तालिम आफुहरुका लागि उपलब्धीमूलक भएको भन्दै मादल र संस्कृतिको संरक्षणका लागि लाग्ने प्रतिवद्धता व्यक्त गरे ।१० दिनसम्म चलेको तालिममा २५ जना महिलाहरुको सहभागिता रहेको थियो ।  वडा अध्यक्ष दिवाकर देवकोटाको अध्यक्षता, कार्यपालिका सदस्य शारदा आचार्यको स्वागत, मञ्जु ढुंगानाको धन्यवाद ज्ञापन, सुष्मा आलेलेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update