Shittalpati
पाल्पाका दुई स्थानीय तहमा औद्योगिक ग्राम बन्दै

पाल्पा, जिल्लाका दुई स्थानीय तहमा औद्योगिक ग्राम बन्ने भएको छन् । संघीय सरकारले पाल्पाका दुई नगरपालिकासहित देशका ३२ पालिकामा औद्योगिक ग्राम बनाउने सम्झौता भए अनुरुप औद्योगिक ग्राम बन्न लागेको हो । पाल्पाको तानसेन नगरपालिका र रामपुर नगरपालिकामा औद्योगिक ग्राम बन्ने भएको छ  ।


सम्झौता अनुसार संघीय सरकारले औद्योगिक ग्राम बनाउने पालिकाहरुलाई ९२ लाख रुपैयाँका दरले अनुदान दिएको छ । पाल्पाका तानसेन, रामपुर पालिका सहित प्रदेश पाँचका तिलोत्तमा, सैनामैना, सुनवल नगरपालिकामा पनि औद्योगिक ग्राम बन्ने भएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित पालिकाहरुबीच समझदारी पत्रमा हस्ताक्षर र अनुदानको चेक हस्तान्तरण भएपछि औद्योगिक ग्राम बन्ने निश्चित भएको छ ।

सरकारले आव २०७६/०७७ को स्विकृत वार्षिक कार्यक्रमा सातवटै प्रदेशमा १० वटाका दरले औद्योगिक ग्राम घोषणा गर्ने कार्यक्रम राखेको थियो । केन्द्र, प्रदेश र स्थानीय तहको संयुक्त साझेदारीमा कार्यक्रम चलेको हो । संघीय सरकारको ६० प्रतिशत र प्रदेश सरकार तथा स्थानीय तहको ४० प्रतिशत लागतमा औद्योगिक ग्राम निर्माण हुने छ । स्थानीय तहलाई केन्द्रले उपलब्ध गराउने अनुदानबाट स्थानीय सरकारहरुले पूर्वाधार विकासका कार्यक्रम सञ्चालन गर्ने छन् । त्यस अन्तर्गत सीमा पर्खाल, तारबार, पहुँचमार्ग, प्लट, ११ केभी विद्यूत प्रसारण, सम्भव भएसम्म वैकल्पिक उर्जाको प्रयोग, गोदाम घर, पानीको आपूर्ति, फोहोर व्यवस्थापनजस्ता पूर्वाधार विकास गर्नुपर्छ ।

कानून बमोजिम उद्योग स्थापना गर्न न्यूनतम सुविधा र पूर्वाधार उपलब्ध भएको क्षेत्र नै औद्योगिक ग्राम हो । स्थानीय तहले यस्तो औद्योगिक ग्राममा आवश्यक पूर्वाधार निर्माण गर्ने र त्यहाँ निजी क्षेत्रलाई आकर्षित गरी घरेलु लघु तथा उद्यम प्रवद्र्धन गर्ने सरकारको नीति रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update