Shittalpati
दल विभाजनको औचित्य

पछिल्लो समय नेपालमा दल विभाजन राजनीतिक दलहरुको स्थापित चरित्रकै रुपमा विकास हुँदै गएको छ । विशेष गरी सत्ताकै लागि दलहरु जुट्ने र फुट्ने परम्परा जस्तै बनेको छ । जसको पछिल्लो उदाहरण बन्न पुगेको छ जनता समाजवादी पार्टी नेपाल । यो दल एक सातामै तीन टुक्रामा विभाजित भएको छ । उपेन्द्र यादवको नेतृत्वमा रहेको जसपा नेपालबाट छुट्टिएर बिहीबार प्रा.डा.महेन्द्र लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा गठन गरिएको छ । आइतबार मात्रै यादवबाट अलगिएर अशोक राई समूहले जनता समाजवादी पार्टी गठन गरेका थिए । यादवको स्वच्छाचारी प्रवृत्तिले पार्टी भताभुंग भएर टुक्राटुक्रामा विभाजित हुन पुगेको विभाजित नेता राई र लावतीको भनाइ छ । तर, उपेन्द्र यादवले पार्टी फुटको कारण व्यक्तिगत स्वार्थ रहेको प्रष्टीकरण दिइरहेका छन् । जसपा नेपालको महाधिवेशनको संघारमा उक्त दल विभाजित हुनुलाई अहिले निकै अर्थपूर्णसमेत मानिएको छ । यसको प्रत्यक्ष प्रभाव सत्ता गठबन्धनमा पर्ने स्थिति रहे पनि त्यसबाट मधेश प्रदेशको सरकारसमेत बच्न सक्ने छैन, जसलाई दीर्घकालीन असरका रुपमा समेत हेरिँदै छ ।

प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो सत्ता टिकाई राख्न जसपा फुटाएको भनेर सर्वत्र चर्चा गरिएको छ । राजनीतिक अस्थिरताकै बीच दल फुटाउनु राम्रो होइन । टुटफुटको दलीय चरित्रबाट जनता वाक्क भएको समयमै फेरि निराशा थप्ने बाहेक दलहरुको अर्को काम हुन सकेन । दल टुक्र्याएकाहरूसँग विभाजनको खास कारण छैन । तथापी तत्कालको लाभहानिकै लागि र सत्ता राजनीतिकै फोहोरी खेलमा लम्पट हुँदा यो अवस्था आएको कुरालाई भने नर्कान सकिदैन । सरकारमा छँदाछँदै र फेरि पनि सत्तामै बसिरहने लोभले यादवसँग छुट्टिएर अशोक राई र प्रा.डा.महेन्द्र लावतीको समूह विभाजित त भयो तर उनीहरूको कदमले सत्ता समीकरणलाई बलियोभन्दा धर्मर नै बनाउने निश्चित छ । दलहरुको आ–आफ्नै स्वार्थ भए पनि विभाजनले देश र जनताका लागि राम्रो गर्दैैन । यसले हाल विद्यमान अस्थिर राजनीतिको चक्रव्यूहलाई थप बढवा दिएको छ । यसर्थ अहिलेको अवस्थामा दल विभाजनको कुनै औचित्य छैन ।

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update