पाल्पा, प्रेस चौतारी नेपाल पाल्पा शाखाले स्थापना दिवस मनाएको छ । चौतारीले जिल्ला अस्पतालको सेवा प्रवाहका विषयमा सरोकारवाला निकायहरुसँग छलफल गरी २४ औं स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य एव पूर्वमन्त्री वीरबहादुर रानाले अस्पतालमा कार्यरत जनशक्तिले जागिरे मानसिकता भन्दा माथि उठेर जनताको उपचार सेवामा लाग्न अनुरोध गरे । अस्पताल विकास समिति नभएको अवस्थामा मेडिकल सुपरिटेण्डन भएको जनशक्तिको राम्रो व्यवस्थान गरेर काम गर्ने जिम्मेवारी र दायित्व भएको पुर्वमन्त्री रानाले बताए । राजनीतिक दलका नेतृत्वकर्ताहरुले पनि अस्पताल विकासको लागि दलिय आस्था भन्दा माथि उठेर काम गर्नुपर्नेमा प्रदेश सांसद रानाले जोड दिए ।
छलफलमा अस्पताले आफ्ना सेवा प्रवाहका विषयमा जानकारी गराएको छ । उसले ९ महिनाको अवधिमा ७० हजार विरामीले सेवा लिएको, उपचार बापत बीमाबाट ६ करोड आम्दानी गरेको जानकारी गराएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डन डा. राजेन्द्र जि.सी.ले जिल्ला अस्पतालमा विरामीको संख्या दिनहुँ बढ्दै गएको, अधिकाश विरामीहरुको रिफर नगरी अस्पतालबाटै उपचार सेवा प्रदान गरेको बताए । अस्पतालको सेवा प्रवाहलाई छिटो छरितो, चुस्त दुस्त बनाउन अस्पताल प्रशासन लागि परेको अस्पतालका मेडिकल सुपरिटेण्डन डा. जिसीको भनाई छ ।
अस्पताललाई रिफर सेन्टरबाट हटाएर अस्पतालबाटै उपचार सेवा दिनु पर्छ भन्ने भावनाले कार्यरत जनशक्तिबाट राम्रो सेवा दिने काममा लागेको डा. जिसी दावी गरे । अस्पतालमा अहिले कुनै पनि औषधिको अभाव नरहेको, ल्याव मेसिनहरु थपेर रिपोट छिटो दिने प्रयासमा लागेको, आगामी दिन टिकट काउण्टरमा भिड व्यवस्थापनको लागि फलामको टोकन सिष्टम लागु गर्ने तयारीमा लागेको उनले बताए । अस्पतालमा व्यवस्थापन समिति नहुँदा विभिन्न काममा बाधा अवरोध भएकाले प्रदेश सरकारले चाडो भन्दा चाडो व्यवस्थापन समिति सिफारिस गर्न मेसु जिसीले अनुरोध गरे । अस्पतालमा विरामीको संख्या अत्याधिक हुँदा, स्थान अभाव भएकाले उपचारमा समस्या परेको समेत अस्पतालले जनाएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उप–प्रमुख काशिका गैरे, नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष धनेन्द्रराज घिमिरे, राष्ट्रिय स्वतन्त्रपार्टीका उपाध्यक्ष सुमन गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुलबहादुर कुवँर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरी, पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, बरिष्ठ पत्रकार मेघराज शर्मा, प्रेस चौतारीका केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष भगवान भण्डारी, केन्द्रीय सदस्य मिलन विश्वकर्मा, पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मा लगायतले सिमित श्रोत साधनमा पनि आ–आफ्नो जिम्मेवारी र दायित्व अनुसार काम गरेमा अस्पतालको सेवालाई चुस्त दुस्त गुणस्तरीय बनाउन सकिने बताए । चौतारीका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता, सचिव नारायण न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।