Shittalpati
राजनीति चुनाव केन्द्रित नभई नतिजा केन्द्रित हुनुपर्छ  : सभापति श्रेष्ठ

पाल्पा, नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले राजनीति चुनाव केन्द्रित नभई नतिजा केन्द्रित हुनुु पर्ने बताएका छन् । नेपाली काँग्रेस प्रशिक्षण शाखा पाल्पाले निस्दीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति श्रेष्ठले अहिलेको आवश्यकता नतिजा केन्द्रित राजनीति रहेको बताएका हुन् ।

उनले अधिवेशन र चुनाव केन्द्रित राजनीतिले मात्र संगठन नचल्ने बताउदै नतिजा केन्द्रित राजनीतिमा लाग्न पार्टी नेता कार्यकर्ताहरुलाई आग्रह गरे । सभापति श्रेष्ठले भने ‘एउटा अधिवेशनबाट अर्को अधिवेशन, एउटा चुनावबाट अर्को चुनाव केन्द्रित राजनीतिले मात्र पार्टी चल्दैन । अब नतिजा केन्द्रित भएर लाग्नु आवश्यक छ ।’ सभापति श्रेष्ठले जनताको आशा, भरोसा र विश्वासलाई केन्द्रमा राखेर  नतिजामुखी काम गर्नुपर्नेमा जोड दिए । उनले काँग्रेसका कार्यकर्ता भैसकेपछि आत्तिने, पात्तिने र मात्तिने छुट कसैलाई नरहेको भन्दै आजैदेखि नतिजा दिने गरी लाग्न सबैलाई आग्रह गरे । निस्दीमा काँग्रेसको जनमत हुँदाहुँदै पनि केही प्राविधिक कारणले काँग्रेसले हार्नु परेको सभापति श्रेष्ठले बताए । उनले भने ‘निष्पक्ष निर्वाचन हुन्छ भने निस्दीमा निर्वाचन जित्ने आधार अझै पनि छ । त्यसैले आशाको किरण जगाएर अघि बढ्नु आवश्यक छ ।’ सभापति श्रेष्ठले युवाहरुलाई आयआर्जनसँग जोडिएर अघि बढ्न समेत आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सदस्य रामबहादुर कार्की, काँग्रेस पाल्पा क्षेत्र नं. २ प्रदेश ख का सचिव शंकर भण्डारी लगायतले पार्टीको वर्तमान अवस्था, केन्द्रले लिएको रणनीति, समसामयिक विषयसँंगै संगठन विस्तार र सुदृढ कसरी बनाउने भन्ने विषयमा प्रशिक्षण दिएका थिए । काँग्रेस पाल्पाका उपसभापति एवं प्रशिक्षण विभाग प्रमुख झपेन्द्र गहिरेले पार्टी जनताको भावना अनुसार नयाँ शिराबाट अघि बढेको बताए । उनले प्रशिक्षण अन्य पालिकामा समेत सञ्चालन गरिने बताए । प्रशिक्षण विभाग प्रमुख गहिरेको अध्यक्षता, महाधिवेशन प्रतिनिधि पूर्ण कुमार सोतीको स्वागत,  महाधिवेशन प्रतिनिधि एवं प्रशिक्षण विभाग सदस्य शालिकराम पाण्डेको सञ्चालनमा कार्यक्रम भएकमो थियो ।

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update