पाल्पा,पाल्पाको तानसेनमा उद्योगी–व्यवसायीसँग ‘भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम’ (भिसिटिएस) सम्बन्धी अन्तरक्रिया गरिएको छ । पाल्पा उद्योग वाणिज्य संघले राजस्व अनुसन्धान कार्यालय बुटवल र करदाता सेवा कार्यालय पाल्पाको सहयोगमा एक दिने (भिसिटिएस) सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
मालसामान ओसार पसारलाई व्यवस्थित गर्न सरकारले लागू गरेको भिसिटिएस प्रणालीको प्रयोग बारे जानकारी दिने उद्देश्यले उद्योगी व्यवसायीसँग अन्तक्र्रिया कार्यक्रम गरिएको पाल्पा उद्योग वाणिज्य संघले जनाएको छ । छलफलमा सहभागी जिल्लाका उद्योगी,व्यवसायीले भिसिटिएससहित राजस्वसम्बन्धी विविध विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रममा राजस्व अनुसन्धान कार्यालय बुटवलका राजस्व अधिकृत हुम पाण्डे र राजन कुमार श्रेष्ठले व्यवसायीलाई भिसिटिएस एवं राजस्व सम्बन्धी विषयमा विस्तृत जानकारी गराए । राजस्व अधिकृत पाण्डेले शुरुवाति दिनमा यसको प्रयोग अप्ठ्यारो भएपनि पछि सहज हुने बताए । उनले भने ‘राजस्व चुहावटको अन्त्य र कर छलि हटाउन सरकारले यो प्रविधि कार्यान्वयनमा ल्याएको हो ।’ राजस्व छलीमा कडा कारबाहीको व्यवस्था रहेकाले व्यवसायीले नियम र परिधिभित्र रहेर व्यवसाय चलाउन समेत पाण्डेले आग्रह गरे ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले नयाँ प्राणालीका रुपमा आएको भिसिटिएस प्रयोगका बारेमा अन्तरक्रिया कार्यक्रम महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । उनले उद्योगी व्यवसायीहरुलाई अनिवार्य रुपमा भिसिटिएस प्रयोग गर्नुुपर्नेमा समेत जोड दिए । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले सरकारले ल्याएको नयाँ प्रणालीको प्रयोग बारे अधिकांस उद्योगी व्यवसायीहरु अनविज्ञ रहेकाले सोको बारेमा जानकारी गराउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले बढ्दो उद्योगी व्यवासायिको पलायनलाई रोक्ने सवालमा संघ गम्भीर ढंगले लागेको समेत उल्लेख गरे । करदाता सेवा कार्यालय पाल्पाका प्रमुख कर अधिकृत सन्तोष सुवेदीले करको दायरमा आउन उद्योगी व्यवसायीलाई आग्रह गरे ।
कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष राजु महर्जन, पूर्व अध्यक्षहरु मोहन प्रसाद श्रेष्ठ, हरि रायमाझी, घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत थमन बहादुर सारु, राजस्व अनुशन्धान कार्यालय बुटवलका नायब सुब्बा दिपेन्द्र श्रेष्ठ लगायतले कार्यक्रम उद्योगी व्यवसायीहरुका लागि सान्दर्भिक रहेको बताए । कार्यक्रममा जिल्लाका ७० भन्दा बढी उद्योगी व्यवसायिको सहभागिता रहेको थियो ।
के हो भिसिटिएस ?
भिसिटिएस भनेको एक ठाउँबाट अर्को ठाउँसम्म माल सामान ढुवानी गर्न राजस्व अनुसन्धान विभागले प्रयोगमा ल्याएको अनलाईन फारम हो । जहाँ बिल बिजक, पान/भ्याट नं, बस्तुको मुल्य, परिमाण, सामान पुर्याउनुपर्ने गन्तव्य, गाडी नम्बरलगायतका कुराहरु भर्नुपर्छ ।अहिले ठाउँ–ठाउँका उद्योगी व्यवसायीहरुलाई भिसिटिएस प्रयोगका विषयमा व्यवसायीहरुलाई प्रशिक्षण दिने गरिएको छ ।