रातदिन सेवामा खटिने नर्सहरु अस्पतालमा पुगेका बिरामीका लागि भरोसाका केन्द्र हुन् । बिरामीको हेरचाहमा उनीहरुको महत्वपूर्ण भूमिका रहेको छ । औषधि खुवाउने, सुई खोप्ने, बिरामीका हरेक गुनासो सुन्नेदेखि सबै काम नर्सले गर्छन् तर नेपालमा तिनै नर्स विभिन्न बहानामा पीडित छन् । हरेक वर्षको मे १२ तारिखमा नर्सिङ सेवा र नर्सहरुलाई सम्मान गर्ने उद्देश्य लिएर अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाउने गरिन्छ । यस वर्षको दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । तर उनीहरुका पीडा कम हुन सकेका छैनन् ।
आधुनिक नर्सिङ पेसाको सुरुवात गर्ने फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल (आईसीएन) को आह्वानमा प्रत्येक वर्ष विश्वभरि नै नर्स दिवस मनाउने गरिन्छ । यो दिवसलाई शारीरिक तथा मानसिक रुपमा खटिएर बिरामीको सेवा गर्ने नर्स तथा नर्सिङ पेशालाई सम्मानित पेशाका रुपमा लिने गरिएको छ । तीनै नर्सको पीडा अत्यन्त दुख लाग्दो छ । सबैभन्दा ठूलो त नर्स बनिसकेपछि जागिर पाउन र न्यून पारिश्रमिकको पीडा नै सबैभन्दा ठूलो हो । महंगो अध्ययन शुल्क र सबैभन्दा सस्तो जागिरमा समेत हुने श्रम शोषण अर्काे समस्याको पाटो हो । एउटा नर्सले अस्पतालमा रातिको समयमा एक्लैले ३० देखि ३५ जनासम्म बिरामीको स्वास्थ्य निगरानी गर्नुपर्ने हुन्छ । अहिले बेड रेसियो अनुसार कोटा निर्धारण गरिएको छैन । त्यस्तै, लामो समयदेखि नयाँ कोटामा दरबन्दी नखुल्दा नर्सहरु निजी अस्पतालमा अति कम शुल्कमा जागिर खान बाध्य छन् । अध्ययन पूरा गरेपछि हरेक तहको अध्ययनमा भोलेन्टियर बनेर काम गर्नुपर्ने पनि नर्सहरुको अर्काे पीडा हो । त्यस्तै, कार्यक्षेत्रमा रहँदा पुरुष कामदार र बिरामी कुरुवाहरुको गिद्दे दृष्टिको जोखिम पनि उनीहरुको अर्काे पीडा रहेको नर्सहरुको गुनासो छ ।
कोरोना महामारीका बेलामा ज्यानको प्रवाह नगरी होमिएका ति नर्सहरुको योगदान कसैले पनि भुल्नुु हुुँदैन । जतिबेला कोरोना संक्रमणका विरामीहरुले अस्पताल तथा स्वास्थ्य संस्थाका शैयाहरु भरिएका थिए त्यति बेला तिनै संक्रमितलाई बचाउने प्रयास गर्दा कतिपय नर्सहरु संक्रमित भए भने कतिले त मृत्युवरण समेत गरे । आफ्नो सुरक्षाको पर्वाह नगरी सेवा प्रदान गर्नमा लागिपरेका सम्पूर्ण चिकित्सा सेवाकर्मीहरूको जति नै प्रशंसा गरे पनि कमै हुन्छ । त्यस्तो कठिन समयमा पनि आफ्नो स्वास्थ्य, घर परिवारको चिन्ता नगरी आफ्नो कर्तव्य निष्ठाका साथ पालना गरी बिरामीको सेवा गर्नमा तत्पर थिए र अहिले पनि छन् । त्यसैले नर्सको नेतृत्व गर्ने संस्था नेपाल नर्सिङ संघका पदाधिकारीहरूले दिवसको ‘सेलिब्रेसन’ गर्ने मात्र नभई उनीहरूको हकहितका लागि संघर्ष गर्न जरुरी छ ।