पाल्पा, लामो समयको खडेरीपछि वर्षा हुँदा किसानलाई राहत मिलेको छ । मकै छर्न तथा अन्य बालीनाली लगाउन तयारी अवस्थामा रहेका किसानहरुलाई वर्षा भएपछि ठूलो राहत मिलेको हो ।
किसानले खेतमा लगाएको बाली समेत खडेरीले सखाप हुन लागेको थियो । यस्तो समयमा वर्षा भएपछि किसानले केही भए पनि राहत महसुस गरेका छन् । गत मंगलबार र शनिबार वर्षा भएपछि पाल्पा, गुल्मीसहित पहाडी जिल्लाका किसानलाई राहत भएको हो । लामो समयदेखि गर्मी दिनानुदिन बढिरहेको बेलामा पानी नपर्दा किसान चिन्तित बनेका थिए । मकै छर्न तयार भएका किसान वर्षापछि खुसी भएका छन् । गत मंगलबार वर्षा भएपछि मकै छर्न तथा अन्य बालीनाली लगाउन सहज भएको गुल्मी इस्मा गाउँपालिका–२ की कमला मल्लले बताईन् । उनले भनिन्,‘लामो समयको खडेरीपछि पानी परेको छ, अब बारीमा मकै छर्ने तयारी गर्दैछौं ।’ सिँचाइका लागि आकासे पानीमा निर्भर रहेका किसानका लागि अहिलेको पानीले खुसी दिएको छ । ‘बारीमा छर्ने बेला भएको थियो, पानी नपर्दा छर्न पाएका थिएनौं, ढिलाइ भए पनि छर्न पाउने भयौं’ पाल्पाको रैनादेवी छहरा गाउँपालिकाकी भिमा कार्कीले भनिन् । सुख्खा रहेका खेतबारी वर्षाले अहिले चिस्यान भएको उनले बताईन्। कार्कीले बारीमा लगाएको तरकारीलाई अहिलेको वर्षाले राहत मिलेकोमा खुसी व्यक्त गरिन् । लामो समयसम्मको खडेरीले खेतबारीमा लगाएका तरकारी समेत फस्टाउन पाएका थिएनन् अब फस्टाउनेमा उनी आशावादी छन् । पाल्पा, गुल्मीसहित पहाडी जिल्लाका अधिकांश ठाउँमा मकै लगाउने समय भएकाले पानी परेपछि किसानले त्यसको तयारी गरेका छन् । खेतमा मकै छरिसकेका किसान पनि वर्षा भएपछि बाली सप्रने भन्दै खुसी भएका छन् । ‘खडेरीले खेतमा छरेको मकै टुसाउन पाएका थिएनन् । यो वर्षाले धेरै राहत पुर्यायो’, गुल्मी इस्मा गाउँपालिका–२ का किसान गोविन्द खत्रीले भने ‘सिँचाइ सुविधा नभएको हाम्रोजस्तो ठाउँका लागि हिउँदे वर्षाले सघाएको छ ।’ पानी नपर्दा खोलानाला सुक्खा भएका थिए । अधिकांश किसानलाई आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ ।
वर्षा भएपछि उत्पादन घट्ने चिन्ता पनि हटेको पाल्पा माथागढीका किसान जीवन रायमाझीले बताए । पाल्पामा ४९ हजार मेट्रिक टन मकै उत्पादन हुन्छ गर्दछ । यहाँ ८ हजार ८ सय ५ हेक्टर खेतमा वर्षायाममा सिँचाइ सुविधा उपलब्ध छ । वर्षैभरि ३ हजार ९ सय ३४ हेक्टर क्षेत्रफलमा सिँचाइ हुन्छ भने मौसमी सिँचाइ ४ हजार ८ सय ७१ हेक्टरमा गर्न सकिन्छ । यस्तै गुल्मीमा हाल ३ हजार ६ सय २६ क्षेत्रफमा वर्षभरि नै सिंचाइको व्यवस्था रहेको छ, भने ६ हजार ६ सय ९० क्षेत्रफल खेतमा आशिंक सिंचाइको व्यवस्था रहेको छ । जिल्लामा सबैजसो ठाउँमा सिँचाइको पर्याप्त व्यावस्था नहुँदा किसानहरु आकासे पानीमा भरपर्नु पर्ने बाध्यता छ ।