Shittalpati
नवप्रवर्तन कार्यक्रमका लागि पाल्पाका दुुई पालिका छनोट

पाल्पा, मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि पाल्पाका दुुई स्थानीय तह छनोट भएका छन् । नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालनका लागि छनोट भएका लुम्बिनी प्रदेशका ११ स्थानीय तहमध्ये पाल्पाका दुुई वटा रहेका हुन् ।

 कार्यक्रममा लागि पाल्पाको रिब्दीकोट गाउँपालिका र तिनाउ गाउँपालिका रहेका छन् । रिब्दीकोटले रिब्दिकोट अकबरे, बेसार र सुन्तलाको मुल्यशृंखला विकास कार्यक्रम र तिनाउले आर्थिक तथा सामाजिक विकासका लागि समुदायमुलक पर्यटन ( होमस्टे प्रवद्र्धन) सँगै उद्यमशीलता कार्यक्रमका लागि छनोट भएका हुन् ।

यस्तै पाल्पाका दुुई पालिकासहित प्रदेशका ११ वटा स्थानीय तह कार्यक्रमका लागि छनोट भएका छन् । जसमा  गुल्मीको गुल्मी दरबार गाउँपालिका,रेसुङ्गा नगरपालिका, कालिगण्डकी गाउँपालिका, दाङको राप्ती गाउँपालिका, आर्घाखाँचीको भूमिकास्थान नगरपालिका,सन्धिखर्क नगरपालिका,बर्दियाको बाँसगढी नगरपालिका, रोल्पाको त्रिवेणी गाउँपालिका,रुपन्देहीको गैडहवा गाउँपालिका रहेका छन् ।  जहाँ गुल्मी दरबार गाउँपालिकाले फलफुल तथा तरकारी खेती प्रवद्र्धन कार्यक्रम, राप्ती गाउँपालिकाले बेसार/अदुवा उत्पादन तथा प्रसोधन उद्योग स्थापना तथा सञ्चालन आयोजना, भूमिकास्थान नगरपालिकाले आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्न कृषि जन्यवस्तु तथा हस्तकलाका सामग्रीहरु उत्पादन र बजारीकरणको लागि सुचिकृत बेरोजगार जनशक्ति परिचालन कार्यक्रम, बाँसगढी नगरपालिकाले जैविक कृषि प्रवद्र्धन आयोजना, त्रिवेणी गाउँपालिकाले युवा रोजगारी तथा स्वरोजगारीको लागि दिगो कृषि परियोजना, ,रेसुुङ्गा नगरपालिकाले रेसुङ्गा क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि साहसिक खेल जिपलाइन तथा स्काई साईक्लिंग निर्माण योजना सम्बन्धि परियोजना सञ्चालन गर्नका लागि छनोट भएका छन् । यस्तै कालिगण्डकी गाउँपालिका सुन्तलाजात फलफुल तथा तरकारी खेतीमा कृषि प्रविधि, प्रशोधन र दिगो कृषि विकास परियोजना, गैडहवा गाउँपालिका आर्थिक तथा सामाजिक विकासमा गैडहवा, ,सन्धिखर्क नगरपालिका सामुदायिक विद्यालयमा आधारभूत शिक्षाको गुणस्तर सुधारको लागि इ सिकाई र डिजिटल शिक्षा परियोजनाका लागि छनोट भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

प्रदेश सरकारले नयाँ उद्यमी र उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्न सो कार्यक्रम ल्याएको हो । उसले चालु आर्थिक वर्षमा कार्यक्रम सञ्चालनका लागि स्थानीय तहसँग प्रस्ताव आह्वान गरेको थियो । जसका लागि ६० वटा स्थानीय तहले प्रस्ताव पेश गरेका थिए । उनीहरूले आफ्नो योजनासहित प्रस्ताव पेश गरेका हुन् । प्रदेश सरकारले प्रस्ताव पेस गर्नका लागि गत माघ १५ गते सूचना प्रकाशित गरेर ३० दिनको समय दिएको थियो । प्रदेशका १०९ पालिकामध्ये ६० वटा पालिकाले कार्यक्रम सञ्चालनका लागि प्रस्ताव पेस गरेको पनि ११ वटा स्थानीय तह मात्र छनोट हुन सफल भएका हुन् । मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम कार्यान्वयन निर्देशिका, २०८० बमोजिम गत माघ १५ मा प्रकाशित सूचना बमोजिम पेश हुन आएका प्रस्तावहरू मध्ये सोही निर्देशिकाको परिच्छेद २ को दफा ९ बमोजिम मुल्यांकन भई  गत फागुन  २४ गतेकोे निर्देशक समितिको निर्णयानुसार प्रदेशका ११ स्थानीय तहको नाम स्वीकृत  गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले एक सूचना प्रकाशित गरी जानकारी गराएको छ ।

छनोट भएका पालिकामा कार्यक्रम सञ्चालनका लागि १८ करोड ६० लाख रकम प्रस्ताव गरिएको छ । जसमध्ये १० करोड ८८ लाख प्रदेश सरकारबाट र सात करोड ७१ लाख पालिकाले बेहोर्नुपर्ने छ । लागत सहभागिताको आधारमा कार्यक्रम सञ्चालन गरिने प्रदेश सरकारले जनाएको छ । छनोट गरिएका पालिकामा कृषि, फलफूल, तरकारी क्षेत्रमा पाँचवटा, उत्पादन रोजगारसम्बन्धी तीनवटा, पर्यटनसम्बन्धी दुई र सेवा प्रभाव क्षेत्रको एक क्षेत्र रहेका छन् । निर्णय भएसँगै अब कार्यान्वयनको प्रक्रियामा अगाडि बढ्ने प्रदेश सरकारले जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update