समय परिवर्तनशील छ । मानिसका इच्छा, आवश्यकता र विचार तथा दैनिकी पनि परिवर्तन हुदैँ गहिरहेको देखिन्छ । सधै परम्परालाई आत्मसाथ गर भन्नु पनि मुर्खता हो तर आफ्नो धरातल बिर्सेर अधिक आधुनिकतामा रमाउनु पनि अर्को ठूलो मुर्खता हो । ऐन कानुन, नीति नियम र शासनको कार्य शैलीमा प्रदर्शन प्रभाव त यो देशमा परेकै थियो । त्यो भन्दा बढी प्रभाव आजभोली हाम्रो सामाजिक परिवेश र नागरिकको दैनिक व्यवहारमा प्रदर्शन प्रभावले गाजिएको देखिन्छन् । यसले हाम्रो आर्थिक पक्षलाई मात्रै हैन् सामाजिक, सास्कृतिक रितीरिवाज तथा परम्परा माथि हस्तक्षेप गरेको देखिन्छ । खुला अर्थतन्त्र र सामाजिक सञ्जालले यस पक्षको प्रोत्साहनमा थप सहयोग पुुर्याएको देखिन्छ । आज भोली ब्यक्ति, परिवार तथा समाज फजुल खर्च र देखासिकीमा रमाएको देखिन्छ । यसले स्वयम परिवार र समाजलाई मात्रै होईन सिगो देशलाई नै परनिर्भरता तर्फ धकेल्दै लगेको देखिन्छ । यसको प्रत्यक्ष असर नेपालको समग्र अर्थतन्त्रको स्थितिमा परेको देखिन्छ । यसले नागरिकलाई भन्दा बढी प्रभाव सरकारको आर्थिक लक्ष्य, आर्थिक वृद्धि, आर्थिक समृद्धि, प्रति व्यक्ति आयमा वृद्धि, आयात व्यापारको अंश कटौतीमा परेको देखिन्छ । यहाँ प्रदर्शन प्रभाव, परनिर्भरता र नेपालको अर्थतन्त्रमा यसको प्रभावसँग सम्बन्धित विविध पक्षलाई लिएर चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।
प्रदर्शन प्रभाव र परनिर्भता :
प्रदर्शन प्रभाव एक प्रकारको मानविय व्यवहार हो जसले अरुको देखासिकी र नक्कललाई दैनिक जीवनमा अबलम्वन र अभ्यास गर्दछ । विशेष गरेर यसले नेपाली आमनागरिक, परिवार तथा समाजमा सकरात्मक भन्दा बढी नकरात्मक प्रभाव पारेको देखिन्छ । यसले आय भन्दा बढी व्यय बढाउदै लगेको छ भने आफ्नो आर्थिक हैसियत, सामाजिक परिवेश भन्दा माथि उठेर गरिने यस्ता नक्कलहरुले आर्थिक र सामाजिक रुपमा विभिन्न समस्याहरु सिर्जना गरेको देखिन्छ । यसको उदाहरण हो, स–साना चाडपर्व मनाउँदा पनि ठूलो खर्च गरेर धुमधामले मनाउने गरेको देखिन्छ । सुख होस् या दुख जुनसुकै घटनामा केक काट्नै पर्ने, ऋण खोजी खोजी तामझाम गर्नु पर्ने, भोजभतेरमा रमाउने र जीवनभर ऋणको भारी बोक्नु पर्ने, उठीबास हुने अवस्था आदि पर्दछन् । प्रदर्शन प्रभावले नेपाली समाजलाई आधुनिकताको नाममा सकरात्मक भन्दा नकरात्मक प्रभाव बढीनै पारेको हो की ? सजिलै अनुमान लगाउन सकिन्छ । यस प्रभावले धर्म संस्कृति र रितीरिवाज मनाउने क्रममा परम्परागत पक्ष हराएको अनुभूति गराएको छ । हिजो बेचेर आर्थिक पक्ष सुधार गर्ने, रमाउने हामी आज किनेर उपभोग गर्दा गर्व महशुस गर्न थालेका छौ । आम्दानी खर्च हिसाब किताव नै नगरी आधुनिकतामा रमाउन थालेका छौ । फजुल र अनावश्यक खर्चको दरलाई बढाउदै लगेका छौं । वर्तमानको मात्रै चिन्ता गरिरहेका छौ, भविश्यको चिन्ता गर्न छोडि सकेका छौ । यसले नेपाली परिवारको भान्छामा पकाउने कुरामा परिवर्तन आएको छ । यसले दैनिक लागत बढाएको छ । प्रदर्शन प्रभावका कारण उत्पन्न यस्ता क्रियाकलापले व्यक्ति, परिवार, समाज तथा सिंगो देशलाई नै परनिर्भता तिर धकेल्दै लगेको देखिन्छ । अर्थतन्त्रमा समस्या सिर्जना हुनुको एक कारण बनेको छ प्रदर्शन प्रभाव । नाम मात्रैको कृषि प्रधान देशको कुरा गर्दै अरु कुरा त छोडौ हरीयो तरकारीको लागि पनि विदेश तिर ताक्नु पर्ने बाटोमा हामी हिडिरहेको देखिन्छ । यातायात र इन्टर नेट पुगेको ठाउँमा संगै पुगेको छ प्रदर्शन प्रभाव अनि प्रदर्शन प्रभावले साथ दिएको छ परनिर्भरतालाई । अन्यको त कुरै छोडौ सामान्य दैनिक उपभोग्य वस्तुको आयात अत्याधिक बढाउदै लैजानुले हाम्रो परनिर्भर अर्थतन्त्र दिनप्रती दिन झनै परनिर्भर हुँदै गएको देखिन्छ । आत्मनिर्भर अर्थतन्त्र र राष्ट्रियताको चर्को भाषण गर्ने, यो देशको राष्ट्रियताको ठेक्का नै लिएजस्तो गर्ने राजनीतिक दलका नेतृत्व, आवश्यक योजना तथा ऐन कानुनको निमार्णमा भने वेखवर जस्तै देखिन्छन् । यहि कारण राज्यले उपयुक्त नीति बनाई आत्मनिर्भरतालाई जोड दिन सकेको देखिदैन् । उनीहरु देश विकास र जनताको जीवनस्तर सुधारका लागि हैन । सत्ता प्राप्ति यसैको खेलमा समय बेथित गर्दै लगेको देखिन्छ । आन्तरिक आम्दानीका स्रोतको खोजि नगर्ने सहयोग र अनुदानका भरमा राज्य सञ्चालन गर्ने राजनीतिक नेतृत्व परनिर्भतालाई प्रोत्साहन गर्ने पक्षमा सबै भन्दा बढी दोषी देखिन्छन् भने साथ दिदैछन् प्रदर्शन प्रभावमा परी आधुनिकतामा रमाउने अभ्यास गर्दै गरेको नागरिक अनि समाज ।
प्रदर्शन प्रभाव ,परनिर्भरता र नेपालको अर्थतन्त्र :
सार्वजनिक ऋण र आयात व्यापारको अंश दिनप्रती दिन बढ्दै जानु नेपालको अर्थतन्त्रको सबै भन्दा ठूलो समस्या हो । यसले नेपालको अर्थतन्त्रलाई जटिल बनाउदै लगेको देखिन्छ । अर्थतन्त्र जति सुकै जटील होस् सरकार र यसका समर्थक सकरात्मक कुरा गर्ने, सफलताको रुपमा यसलाई लिने, ढाकछोप गर्ने प्रवृती सबै भन्दा खतरनाक पक्ष हो कुनै पनि देशको अर्थतन्त्र सुधारका लागि । यहि दोष लुकाउने प्रवृत्तीले नेपालको अर्थतन्त्र परनिर्भर बन्दै गएको देखिन्छ । सरकारहरु आर्थिक वृद्धि, कुल ग्राहस्थ उत्पादनमा वृद्धि, समृद्धिका चर्का नारा लगाउने तर आत्मनिर्भर अर्थतन्त्रतर्फ चासो नदेखाउनु अर्थतन्त्रमा समस्या उत्पन्न हुनुको एक कारण हो । अर्थतन्त्र सुधारमा चासो देखाउने अर्थमन्त्री र सरकारले आत्मनिर्भर अर्थतन्त्रका लागि कदम चाल्नु अनिवार्य देखिन्छ । मागेर र भिख मागेर संघीयता र संविधान सफल बनाउने दिवा सपना देख्ने राजनीतिक नेतृत्वको प्रवृत्ती रुपान्तरण हुनु जरुरी देखिन्छ सबल अर्थतन्त्रको सबालमा । नेपालको अर्थतन्त्रमा पछिल्लो समय देखिएको मुख्य बाधक नेपाली समाजमा बढ्दै गएको प्रदर्शन प्रभाव र यसले बढाउदै लगेको परनिर्भर अर्थतन्त्रनै हो ।
अब के गर्ने त ?
प्रदर्शन प्रभाव, परनिर्भता र कुनै पनि देशको अर्थतन्त्रको विविध पक्ष एक अर्काका परिपुरकका रुपमा विकसीत हुँदै गऐको देखिन्छ । कुनै पनि देशको अर्थतन्त्रलाई सबल बनाउनका लागि पछिल्लो समय बढ्दै गऐको प्रदर्शन प्रभावलाई नियन्त्रित र व्यवस्थित बनाउन जरुरी देखिन्छ भने यसो गर्न सकेमा परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रमा रुपान्तरण गर्न केहि सहयोग पुग्ने देखिन्छ । यहाँ केहि सुधारत्मक पक्षलाई उल्लेख गर्ने प्रयास गरिएको छ ।
–राजनीतिक स्थिरता र स्थायी सरकारको वाताबरण बन्नु पर्ने ।
– दोष पूर्ण सरकारी नीतिमा सुधार गर्ने ।
– आयात नीतिमा सुधार गर्ने ।
– जनतामा सचेतना वृद्धि गर्ने ।
– औद्योगिकरण र व्यबसायिक कृषिमा जोड दिने ।
– देश भित्रका स्रोत साधनको परिचालनको योजना बनाउने ।
– लगानी मैत्री वातावरण बनाउने , स्वदेशी लगानी कर्तालाई प्रोत्साहन गर्ने ।
– कर तथा भन्सार नीतिमा सुधार गर्ने ।
– विलासीता बस्तुको आयात नीति बनाउने ।
– वचतका लागि प्रोत्साहन,सुरक्षा र परिचालनमा जोड दिने ।
– रेमिटान्सको प्रयोग अत्याधिक रुपमा फजुल खर्चमा प्रयोग गरेको देखिन्छ । यसलाई व्यवस्थित गर्ने । – दैनिक उपभोग्य वस्तुको उत्पादनमा जोड दिई ,यस्ता वस्तुको आयात निरुत्साहित गर्ने ।
निष्कर्ष : अर्थतन्त्रका कुरा गर्ने, अर्थतन्त्रलाई राजनीतिक मुुद्धा बनाउने, अर्थतन्त्रलाई सरकारको सफलताको आधार बनाउने तर यसमा सुधार गर्नै पर्ने पक्षमा भने खासै ध्यान नदिने सरकार र सरकारका अर्थमन्त्रीका कार्यशैली अर्थतन्त्र समस्या ग्रस्त हुनुको मुख्य कारण हो । जहाँ समस्या छ उपचार त्यही गरियो भने सफलता र समाधान हात पर्दछ तर यस्तो खालको उपचार गर्न सरकारहरु विगतमा चुकेको देखिन्छ । अब यसो हुनुहुँदैन । अर्थतन्त्रलाई विरामी र सुस्त अवस्थामा पु¥याउने एक कारण हो नागरिकहरुमा पछिल्लो समय तिव्र रुपमा विकास भएको प्रदर्शन प्रभाव र यसले सिर्जना गरेको परनिर्भरता । यस पक्षमा सुधार र उपचार गर्न सकेमा नेपालको अर्थतन्त्रले सहि उपचार पाउने देखिन्छ । यसका लागि समवद्ध सबै आ–आफ्नो ठाउँबाट लाग्न जरुरी छ ।
(लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)