पाल्पा, प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती पाल्पामा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । बुद्ध जयन्ती मुल समारोह समिति तानसेन पाल्पाले २५६८ औ बुद्धजयन्ती विविध कार्याक्रम गरेर मनाउने तयारी गरेको हो ।समितिले तानसेनमा पत्रकार सम्मेलन गरी जेठ ५ गते देखी १२ गतेसम्मका कार्यक्रमहरु सार्वजनिक गरेको छ । बैशाख पूर्णिमाको दिनलाई बौद्ध धर्मालम्वीहरुले बुद्धको जन्म दिन, बुद्धत्व प्राप्त गरेको दिन र महापरिनिर्माण ( मृत्यु) भएको दिन त्रि संयोग भएको पवित्र दिनको रुपमा लिने भएकाले बुद्ध पुर्णिमाको रुपमा मनाउने परम्परा रहँदै आएको छ ।
समितिका अध्यक्ष उत्पल कुमार बज्राचार्यले जेठ ५ देखी १२ गतेसम्मका विविध कार्यक्रमहरु पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका छन् । पहिलो दिन जेठ ५ गते बौद्ध महास्थविरबाट बौद्ध झण्डोत्तोलन गर्ने र सबैको सहभागितामा प्रचार प्रसारको लागि नगर क्षेत्रमा शान्ती पदयात्रा गर्ने कार्यक्रम रहेको अध्यक्ष बज्राचार्यले जानकारी दिए । सोही दिन विरेन्द्रपार्क तानसेन टुँडिखेलमा रक्तदान कार्यक्रम, पारिलेक वन श्रीनगरमा सरसफाई, ध्यान शिविर र दिप प्रज्वलन गर्ने, श्रीनगर डवली बताँसेमा बुद्ध मुर्ति अनावरण गर्ने र पाल्पा अस्पतालका विरामीहरुलाई फलफूल वितरण गर्ने कार्यक्रम रहेको उनले बताए । जेठ ६ गते महावोधी विहार लहरे पिपलमा विपश्यना ध्यान अभ्यास, बौद्ध टोल बौघागुम्वामा बुद्ध पुजा तथा धार्मिक कार्यक्रम सञ्चालन हुने छ ।
जेठ ७ गते धर्मचक्र महाविहार तानसेनमा ज्ञानमाला भजन, शील प्रार्थना, बुद्ध पुजा र धर्मदेशना कार्यक्रम र बुद्धसंग सम्बन्धित रहेर माविस्तरीय वक्तृत्वकला प्रतियोगिता, मिसन अस्पतालका विरामीहरुलाई फलफूल वितरण गर्ने कार्यक्रम बनाएको छ । सोही दिनै बौघागुम्वामा बुद्ध पुजा र बालबालिकालाई खेलकुद सामग्री वितरण गर्ने कार्यतालिका रहेको समितिले जनाएको छ । जेठ ८ गते १७ औ भिक्षु विमलानन्द स्मृती दिवस महावोधी विहार लहरेपिपल, पारिलेक वन श्रीनगरमा सरसफाई तथा दिप प्रज्वलन, महाचैत्यविहार टक्सारमा अन्तरमावि नगरस्तरीय चित्रकला प्रतियोगिता, चिर्तुङ्गधारा सन्तोक बौद्धगुम्वामा बौद्ध झण्डोत्तोलन, लक्ष्मी मावि तानसेमा शैक्षिक सामग्री वितरण, आनन्द विहारमा बौद्ध सम्बन्धी साहित्य कार्यक्रम, धर्मचक्रमहाविहारमा दिपप्रज्वलन, बौघागुम्बामा बुद्धपुजा तथा हाजीरी जवाफ कार्यक्रम रहेका मूल समारोह समितिका सचिव ज्ञानकाजी शाक्यले बताए ।
जेठ ९ गते बुद्धविहार होलाङ्दीमा ज्ञानमाला भजन, शील प्रार्थना, बुद्ध पुजा र धर्मदेशना कार्यक्रम, महावोधी विहार लहरे पिपलमा शान्ति दिपयात्रा, सन्तोक बौद्धगुम्वा चिर्तुङ्गधारामा शान्ति दिपयात्रा, महाचैत्यविहार टक्सारमा ५१ औं अन्तरमावि हाजीरी जवाफ कार्यक्रम, बौघागुम्वामा बुद्धपुजा र १०८ दिपप्रज्वलन र महाचैत्य विहार टक्सारमा सामुहिक ज्ञानमाला भजन कार्यक्रम रहेको छ । जेठ १० गते बौद्ध पूणिमाको दिन विहान प्रभातफेरी, जिल्लामा रहेको सबै बौद्धविहारहरुमा ज्ञानमाला भजन, शील प्रार्थना, बुद्ध पुजा र धर्मदेशना, प्रसाद भोजन कार्यक्रम, १० बर्षसम्मका बालबालिकाहरुलाई कल्पबृक्ष दान, भगवान बुद्धको रथयात्रा तथा नगर परिक्रमा कार्यक्रम, बेलुका विहार तथा घर–घरमा दिपावली गर्ने कार्यक्रम रहेको समितिका निवर्तमान अध्यक्ष विरेन्द्रकाजी शाक्यले बताए ।
जेठ १२ गते दमकडा माविका दृष्टिविहिन विद्यार्थीहरुलाई भोजन दान कार्यक्रम गरेर बुद्धजयन्तीका विविध कार्यक्रम समापन गर्ने समितिले जनाएको छ । उसले जेठ ५ गतेदेखी १२ गतेसम्म ३९ वटा कार्यक्रमहरु गर्ने जनाएको छ । कार्यक्रममा पत्रकारहरुले उठाएका जिज्ञासाहरुको बौद्धविद्धान छत्रराज शाक्य, समितिका अध्यक्ष उत्पल कुमार बज्राचार्य, निवर्तमान अध्यक्ष विरेन्द्रकाजी शाक्य, उपाध्यक्ष मनिन्द्र बज्राचार्य, कोषाध्यक्ष बसन्तलाल बज्राचार्य लगायतले जवाफ दिएका थिए । समितिका सचिव ज्ञानेन्द्रकाजी शाक्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।