Shittalpati
निजी क्षेत्रको मनोबल उकास

अर्थतन्त्रको एक हिस्सा निजी क्षेत्र हो । व्यक्तिगत वा सामुहिक लगानीद्धारा ब्यापार व्यवसायमा संलग्न वैधानिक हैसियत प्राप्त संस्थालाई निजी क्षेत्र भनेर चिन्ने गरिन्छ । निजी क्षेत्र कुनै पनि देशको नीति कानून बमोजिम स्थापना भएको उद्यमशील, व्यवसायिक ब्यक्ति वा ब्यक्तिहरुको समूह हो । जसको संलग्नता, ब्यापार, ब्यवसाय, वस्तु वा सेवा व्यापार आदिमा रहेको हुन्छ । लगानीको स्वामित्व, कार्यप्रणालीमा नियन्त्रण र ब्यवस्थापनको समग्र अधिकार एक ब्यक्ति वा एकभन्दा बढी ब्यक्तिहरुको समूहमा रहने र यसमा स्वामित्व, ब्यवस्थापन, कार्य सञ्चालन र स्व नियन्त्रणको अधिकार सरकार बाहिर रहने भएकोले यसलाई निजी क्षेत्र भन्ने गरिएको हो । नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको छ । 

मुलुकको अर्थतन्त्रमा यस क्षेत्रको ७० प्रतिशत योगदान रहेको पाइन्छ । तर सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण त्यति सकरात्मक देखिदैन । यो अत्यन्त दुखको कुरा हो । बारम्बार राजनीतिक परिवर्तन र अस्थिरताका कारण निजी क्षेत्रका लगानीकर्तामा उत्साह छैन । आमलगानीकर्तामा आत्मविश्वास र मनोबल गुमेको छ । लगानी गरेर पनि त्यसको प्रतिफल पाउन निकै गाह्रो छ । यस्तो अवस्थामा सरकारले ध्यान दिनुपथ्यो तर त्यसो गरेको पाइदैन ।

लामो समयको आर्थिक शिथिलताका कारण निजी क्षेत्रका लगानीकर्ताको मनोबल खस्केको छ । निजी लगानीकर्ता तथा व्यवसायीको मनोबल बढाउने प्रयासमा सरकार र यसअन्तर्गतका निकायले कुनै कदम चालेको देखिँदैन । अहिले सरकार र केन्द्रिय बैंकले बढ्दो रेमिट्यान्स आप्रवाह र नियन्त्रणमा रहेको आयात व्यापार तथा यी दुईका कारण उल्लेख्य रूपमा बढेको विदेशी मुद्रा सञ्चिति एवं कम आयातका कारण सिर्जित भुक्तानी सन्तुलनलाई समग्र अर्थतन्त्रको सुधारका सूचकका रूपमा प्रस्तुत गर्दै आएका छन् । तर, आन्तरिक बजारमा भने सहकारीबाट सुरु भएको समस्या अब ठूला उद्योगसम्मै पुगिसकेको छ । 

 बजार चलायमान बन्न नसक्दा र बजारमा पुँजी परिचालन कमजोर बन्दा भुक्तानीको चक्र बिग्रिन गएको छ, जसको सबैभन्दा ठूलो मार उद्यमीले भोग्नुपरेको छ । यसर्थ निजी क्षेत्रको मनोबल बढाउने गरी सरकारले नीति तथा कार्यक्रम ल्याउन जरुरी छ । 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update