Shittalpati
स्वास्थ्य सुरक्षा सामग्री अभाव

गलकोट । बागलुङ जिल्लाको गलकोट नगरपालिका–५ हरिचौर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सुरक्षा सामग्रीको अभाव भएको छ । विश्वभर महामारीका रूपमा फैलिएको कारोना भाइरसलाई मध्यनजर गर्दै रोकथामका लागि स्वास्थ्यकर्मीले अपनाउनुपर्ने सुरक्षा सामग्रीको अभाव हुँदा दैनिक आउने बिरामीको उपचारमा समस्या भएको केन्द्रले जनाएको छ ।

गलकोट नगरपालिकाले कोभिड–१९ को रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गरे पनि पर्याप्त मात्रमा नभएको केन्द्रका प्रमुख डा अरुण गौतमले बताए । “हामीलाई शुरुमा नगरपालिकाले केही सामग्री सहयोग गरेको थियो, तर धेरै सामग्री प्रयोगमा आइसकेको छ”, उनले भने, “दैनिक २० देखि ५० बिरामी केन्द्रमा आउने भएकाले स्वास्थ्य सुरक्षा सामग्रीको अभाव भएको हो ।” कोरोना महामारीको समयमा स्वास्थ्यकर्मी सुरक्षित भएर बिरामीको उपचारमा खटिनुपर्नेमा स्वास्थ्य सुरक्षा सामग्रीको अभावले स्वास्थ्यकर्मीलाई समस्यामा पारेको छ । स्वास्थ्य केन्द्रमा पिपिइ, एन–९५ मास्क, सेफ्टी गगल्स, डिसइन्फेक्ट क्लोरिन पाउडरलगायतका सामग्री अभाव भएको डा.गौतमको भनाइ छ ।

केन्द्रमा प्राप्त थर्मलगनले राम्रोसँग ज्वरो मापन नगरेकाले प्रयोगमा नल्याइएको डा.गौतमको भना छ । एक सरकारी चिकित्सकको भरमा चल्दै आएको केन्द्रमा करारमा चिकित्सक नियुक्ति नहुँदा उपचारमा समेत समस्या हुँदै आएको छ । हालसम्म केन्द्रमा उपचारका लागि आएका शङ्कास्पद दुई जनाको आरडिटी परिक्षण गरिएको छ । नगरपालिकाले आवश्यकतानुसार स्वास्थ्य सामग्री प्रदान गरे पनि अन्यत्रबाट स्वास्थ्य सामग्री नआउँदा पर्याप्त नभएको हुनसक्ने गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए । केन्द्रलाई थप स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउने तयारीमा नगरपालिका रहेको भण्डारीको भनाइ छ ।

प्रविधिको प्रयोग गर्दै परीक्षाफल सार्वजनिक

महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण लकडाउन नभएको भए यतिबेला नयाँ शैक्षिकसत्र शुरु भई नयाँ कक्षामा नयाँ पाठ्यपुस्तकसहित विद्यार्थीले उमङ्गका साथ अध्ययन गरिरहेका हुन्थ्ये । तर चैत ११ गतेदेखि नेपालमा जारी लकडाउनका कारण अहिले शैक्षिक संस्था ठप्प छन् भने एसइईको परीक्षा लामो समयदेखि स्थगन भएको छ ।
लकडाउन जारी रहेका कारण बागलुङका अधिकांश विद्यालयले परीक्षा फल निकाल्न ढिलो भएको भन्दै प्रविधिको प्रयोग गरेर वार्षिक परिक्षाफल प्रकाशित गरेका छन् । विद्यालयको सूचनापाटीमा रिजल्ट टाँसेर परीक्षाफल प्रकाशित गर्ने विद्यालयले लकडाउनका कारण फरक शैलीमा परीक्षाफल निकालेका छन् । विद्यालयले फोन, एसएमएस, फेसबुक, म्यासेन्जर र भाइबरमार्फत परीक्षा फल प्रकाशित गरेका हुन् ।

सूचनापाटी टाँसेको परीक्षाफल फोटो खिचेर फेसबुकमार्फत सार्वजनिक गरेको र कक्षा शिक्षकले समेत फोनबाट विद्यार्थी तथा अभिभावकलाई परीक्षाफलका विषयमा जानकारी दिएको सिगाना माध्यामिक विद्यालय तित्याङका प्रधानध्यापक गोपालकुमार शर्माले जानकारी दिए । बागलुङ नगरपालिकाले वैशाख २१ गतेभित्र सबै विद्यालयले अनिवार्य परीक्षाफल प्रकाशित गर्ने र प्रकाशित परीक्षा फल विद्यार्थीलाई जानकारी हुनेगरी प्रविधिको प्रयोग गर्न अनुरोध गरेको थियो । जसअनुसार बागलुङ नगरपालिकाका सबै सामुदायिक तथा संस्थागत विद्यालयले फेसबुकलगायतका माध्यमबाट परीक्षाफल प्रकाशित गरे भने फोनमार्फत कक्षा शिक्षकले विद्यार्थी वा विद्यार्थीका अभिभावकलाई समेत सम्र्पक गरेर परीक्षाफलको विषयमा जानकारी गराएको बागलुङ नगरपालिकाका निमत्ति प्रमुख प्रशासकीय अधिकृत दण्डपाािण शर्माले जानकारी दिए । जिल्लाका अधिकांश विद्यालयले वार्षिक परीक्षाफल प्रकाशित गरिसकेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । अधिकांश शिक्षकले घरपायकको विद्यालयमा अध्यापन गराउने भएकाले परीक्षाफल प्रकाशनमा समस्या नभएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख कुश्मराज उपाध्यायले जानकारी दिए । लकडाउनका कारण अध्यापनमा समस्या भएको भन्दै सरकारले अनलाइन कक्षा सञ्चालन गर्ने भने पनि बागलुङमा अनलाइन कक्षा सञ्चालनका लागि समस्या हुने भएकोे उपाध्यायले बताए । बागलुङमा ५२५ सामुदायिक तथा ६४ संस्थागत विद्यालय छन् ।      –रासस

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update