Shittalpati
बजेट खर्च दश महिनामा ६० प्रतिशत

पाल्पा, आर्थिक वर्ष २०८०/०८१ सकिन केहि समय मात्रै बाँकी रहँदा बजेट खर्च अत्यन्तै कम देखिएको छ । चालु आर्थिक वर्षको १० महिनामा बिनियोजित कूल बजेटको ६० प्रतिशत मात्र खर्च भएको छ । सरकारले चालु आर्थिक वर्षका लागि विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याए पनि बजेट खर्च सन्तोषजनक  देखिएको छैन ।

महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख मसान्तसम्ममा वार्षिक विनियोजनको ६० दशमलव ३५ प्रतिशत अर्थात्  १० खर्ब ५६ अर्ब ८९ लाख २४ हजार बराबर खर्च भएको जनाएको छ ।  सरकारले चालु आर्थिक वर्षका लागि  १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । वैशाख मसान्तसम्ममा चालुगततर्फ वार्षिक विनियोजनको ६५ दशमलव ९१ प्रतिशत खर्च भएको छ । चालु शीर्षकमा  ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर वार्षिक विनियोजन भएकोमा हालसम्म  सात खर्ब ५२ अर्ब ५५ करोड ७३ लाख बराबर खर्च भएको छ । पुँजीगत शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख बराबर वार्षिक विनियोनज भएकोमा सो अवधिमा वार्षिक लक्ष्यको ३७ दशमलव ०४ प्रतिशत अर्थात्  एक खर्ब ११ अर्ब ८८ करोड २९ हजार बराबर खर्च भएको जनाइएको छ ।

त्यसैगरी, वित्तीय व्यवस्था शीर्षकमा ६२ दशमलव ६ प्रतिशत खर्च भएको छ । यो शीर्षकमा  तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाख बराबर विनियोजन भएकोमा वैशाख मसान्तसम्ममा  एक खर्ब ९२ अर्ब ४५ लाख २२ हजार बराबर खर्च भएको हो ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update