Shittalpati
पाल्पाका स्थानीय सरकारले चलाए गाउँमै शिविर

संगीता आचार्य
पाल्पा, जिल्लाका अधिकांस स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेका छन् । उनीहरुले एकृकित घुम्ती शिविरमार्फत होस् वा स्वास्थ्य शिविर नै सञ्चालन गरेर किन नहोस् आमनागरिकको निःशूल्क स्वास्थ्य परीक्षण र औषधि उपचार गरी स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्ने गरेका हुन् ।

गरिब, असहाय तथा स्वास्थ्यको पहुँच भन्दा बाहिर रहेका नागरिकका लागि गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यहाँका स्थानीय सरकारले निःशूल्क स्वास्थ्य शिविर चलाउने गरेका छन् । जिल्लाका ठूूला अस्पतालहरु युनाईटेड मिसन अस्पताल,जिल्ला अस्पताल र लुम्बिनी मेडिकल कलेजसम्म उपचार गर्न जान नसकेका जेष्ठ, अशक्त नागरिकहरुलाई विशेषज्ञ चिकित्सकसहितको टोली गाउँ–गाउँमा पुर्‍याएर पालिकाका स्वास्थ्य शाखाहरुले शिविर चलाएका हुन् । आर्थिक वर्ष २०८०/०८१ को हालसम्म जिल्लाका ६ स्थानीय सरकारले सञ्चालन गरेका शिविरमार्फत १५ हजार २ सय ९७. जनाले सेवा लिएका छन् । यहाँको बगनासकाली गाउँपालिकाका विभिन्न ग्रामीण क्षेत्रमा सञ्चालन गरिएका शिविरमा ६ हजार ६ सय ९० जनाले सेवा लिएका छन् । पालिकाले बैशाख १४ गतेदेखि २३ गतेसम्म ९ वटै वडाका गाउँहरुमा शिविर सञ्चालन गरेको थियो । उक्त शिविरमा ५ हजार ६ सय १६ महिला र १ हजार ७४ जना पुरुषले स्वास्थ्य परीक्षण गराएका थिए । गाउँमा रहेका अशक्त, असहाय, जेष्ठ नागरिकहरुको निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख मणीराम अधिकारीले बताए । उनले भने ‘गाउँबाट सहरसम्म स्वास्थ्यमा पहुँच नभएका नागरिकलाई सबै प्रकारका सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो ।’ त्यस्तै रम्भा गाउँपालिकाले मंसिर २६ देखि ३० गतेसम्म पाँच वटै वडामा पुगेर स्वास्थ्य शिविर चलाएको थियो । उक्त  शिविरमा २ हजार ९ सय ५३ जना महिला, र ८ सय १७ जना पुरुष गरी ३ हजार ७ सय ७० जनाले सेवा लिएका थिए । शिविरमा सबै किसिमका रोगको परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख शिव प्रसाद अर्यालले बताए । यस्तै तिनाउ गाउँपालिकाले माघ १२ र १३ गते पाठेघरको मुखमा क्यान्सर परीक्षण शिविर सञ्चालन गरेको थियो । जसमा ३ सय ६६ जना महिलाहरुले चेक जाँच गरेका थिए । जहाँ भि.आई.ए पोजेटिभ भएका महिलाहरु ४० जना रहेको स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्कीले बताए । पौष २१ र २२ गते मोतिविन्दु जाँच गराउने १ हजार ३ सय जनाले चेक गराउँदा ९९ जनाको शल्यक्रिया गरिएको थियो । ७ सय बढीको रगत परीक्षणमा ४३ जना मधुमेहका विरामी फेला परेका थिए । उता रैनादेवी छहरा गाउँपालिकामा पनि निःशूल्क स्वास्थ्य शिविर चलाइएको छ । गत असोज र कार्तिकमा पालिकाले शिविर चलाएको थियो । उक्त शिविरबाट २ सय ७१ जनाले स्वास्थ्य सेवा लिएको स्वास्थ्य शाखा प्रमुख जीवन रानाले बताए । उनका अनुसार ग्रामीण क्षेत्रमा रहेका असशक्त, असहाय  नागरिकको स्वास्थ्य परीक्षण गरिएको थियो । निस्दी गाउँपालिकामा पनि गत फागुन २३ देखि ३० गतेसम्म स्वास्थ्य शिविर सञ्चालन भएको थियो ।  जसमा १ हजार ३ सय ३४ जनाको आखा जाँच र ४ सय ५२ जना पाठेघरको मुखमा क्यान्सर भएका महिला गरी १ हजार ७ सय ८६ जनाले सेवा लिएको स्वास्थ्य शाखा संयोजक रेमबहादुर दिशाले बताए ।

यस्तै तानसेन नगरपालिकाले गत चैतमा अर्गेली र छेलुङ्गमा  एकिकृत घुम्ति शिविरमार्फत स्वास्थ्य शिविर चलाएको थियो । अर्गेलीमा सञ्चालन भएको शिविरमा १ सय १२ र छेलुङ्गमा १ सय २० जनाले स्वास्थ्य सेवा लिएको स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले बताए । यहाँका अन्य स्थानीय तहले समेत शिविर सञ्चालन गरेका छन् । स्थानीय सरकारले सञ्चालन गरेका शिविरमा  सामान्य परीक्षणका अलावा हाडजोर्नी, छाती तथा फोक्सो, स्त्री रोग, फिजियोथेरापी, श्वासप्रश्वास र भिडियो एक्स–रेसहितको सुविधा उपलब्ध गराइएको थियो । परीक्षणपछि आवश्यक पर्ने सेवाग्राहीलाई निःशुल्क औषधी पनि उपलब्ध गराइएको सम्बन्धित पालिकाका स्वास्थ्य शाखाले जनाएका छन् । उनीहरुले गम्भीर प्रकृतिका अस्पतालमै उपचार गराउनुपर्ने नागरिकका लागि सम्बन्धित अस्पतालमा जान सुझाव दिएका छन् । गाउँमा नै विशेषज्ञ सेवा प्राप्त भएपछि सर्वसाधारणहरू खुसी भएका थिए । जिल्लामा सरकारी अस्पतालको अवस्था प्रभावकारी नहुँदा सामन्य नागरिकले निजी तथा सामुदायिक अस्पतालमा महँगो शुल्क तिरे औषधी उपचार गर्नुपर्ने बाध्यता रहेको छ । सरकारले चलाएको स्वास्थ्य बिमा समेत निरन्तर सञ्चालनमा नआउँदा नाागरिक मर्कामा परेका छन् । यस्ता विरामीहरुका लागि निःशुल्क स्वास्थ्य शिविरले महत्वपूर्ण टेवा पुग्ने गरेको  सरोकारवालाहरु बताउँछन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update