पाल्पा, जिल्लाको तानसेन नगरपालिकाले अनियमितता गरेको आरोप लगाएर छानवीन गर्न माग गर्दै अख्तियारमा उजुरी दिने क्रम बढेको छ । स्रोतसाधन परिचालन गर्दा समेत स्वतन्त्र स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबाट अनियमितता र बेथिति भएको भन्दै अख्यितारमा उजुरी दिने क्रममा बढेको हो ।
विकास निर्माणमा अनियमितता, डिपिआरका नाममा अनियमितता, कम गुणस्तर बनाएर बढी मूल्यांकन गर्न लगाएर अनियमितता हुने गरेको भन्दै नगरपालिकाविरुद्ध अख्तियारमा उजुरीको चाङ लागेको छ ।
तानसेन नगरपालिकाका विरुद्ध हालसम्म ७१ वटा उजुरी अख्तियारमा परेको नगर सरकारका प्रवक्ता यादव सिंह कार्कीले बताए । उनका अनुसार धेरै उजुरी पर्ने प्रदेशकै चौथो स्थानमा तानसेन पर्दछ । कार्कीले भने ‘धेरै जसो विकासका योजनालाई लिएर व्यक्तिगत रिसइवीका कारण पनि उजुरी परेका छन् । ती कुनै पनि उजुरीमा तुक छैनन्।’ रिस र डाहाले ओतप्रोत भएका उजुरीहरु धेरै भएको उनको दावी छ । अहिले अख्तियारमा उजुरी दिन सहज भएको छ, जसले जे मन लाग्यो, त्यही उजुरी दिने र काम गर्न नदिने प्रवृतिका विरुद्ध सबै खुलेर लाग्नु पर्ने बेला आएको समेत प्रवक्ता काकीले बताए ।
शित्तलपाटी डटकमसँगको कुराकानीमा उनले भने ‘तपाई हामी बसेर चिया खाए पनि उजुरी पर्ने डर हुन थाल्यो, कतिपयको त कामै अख्तियारमा उजुरी दिने र भित्र–भित्रै रमाउँने बाहेक केही पनि छैन् ।’ हालै मात्र नगरपालिकाले आयोजना गरेको तानसेन महोत्सवमा स्टल बुकिङ्ग गर्दा केही कार्यपालिका सदस्य र कर्मचारीका व्यक्तिगत खातामा पैसा जम्मा भएको भन्ने व्यापक गुनासो समेत आएको थियो । सो विषयमा जिज्ञासा राख्दा प्रवक्ता कर्कीले भने‘ नगरपालिकासँग ठेक्का कवोल गरेका ठेकेदारले राजस्व खातामा जम्मा गर्नुपर्ने रकम नगरेको भए गल्ति हुन्थ्यो, तर राजस्व खातामा जम्मा गर्नुपर्ने रकम जम्मा भएपछि, अरु कुरामा टाउको दुखाई किन ?’