नेपाल लगायत विश्वभर आज मे १७ मा विश्व दूरसञ्चार तथा सूचना दिवस मनाइँदै छ । विश्वमा दूरसञ्चार सेवा विकास, विस्तार, सञ्चालन र नियमनको प्रभावकारी व्यवस्था होस् भन्ने उद्देश्यले सन् १८६५ मे १७ मा अन्तर्राष्ट्रिय टेलिग्राम युनियन जन्म भएको थियो । यो दिवस मनाउनुको मुख्य उद्देश्य विश्वमा दूरसञ्चार सेवा (भ्वाइस, डाटा, दृश्य प्रसारण) को विकास र विस्तारमा समाजमा देखापरेका समस्या सुल्झाउने तथा देशको आर्थिक विकास र सामाजिक रूपान्तरणमा सक्दो सहयोग पुर्याउने हो । यस क्षेत्रका नीति निर्माता नियामक संस्था सेवाप्रदायक र उपभोक्ताबीचको जनचेतना जागृत गराउनु र सोहीअनुसार सेवा विस्तार गर्नु हो ।
प्रविधिको विकासले सुगम र दुर्गम क्षेत्रलाई नजिकमात्र पारेको छैन, सेवाको प्रकार, स्तर र मूल्यमा पनि एकरूपता ल्याउने अवसर उपलब्ध गराएको छ । प्रविधिको अवसरको सदुपयोग गर्न सकेमा हाल विश्व, क्षेत्र र स्थानीय तवरमा देखिने भिन्नताको ठूलो खाडल ‘डिजिटल डिभाइड’ सजिलैसँग पुर्न सकिनेछ । यद्यपी पछिल्लो समय नेपालमा दिवस परम्परागत रुपमा मात्र मनाइँदा आईटीयुबाट प्राप्त हुनसक्ने थप लाभ लिन भने सकिएको छैन । यो अत्यन्त दुःखको कुरा हो । विश्वमा दूरसञ्चारका अनेकौं माध्यमहरु परिचित भइसकेका छन् । आधुनिक विश्वमा दूरसञ्चार दिवसले यस्तै नयाँ–नयाँ प्रविधिको प्रयोग र उपयोगितालाई आत्मासात गर्दै गोपनियतापूर्ण प्रविधि र सुरक्षित सञ्चारको वकालत गर्दछ ।
विश्वभर सूचना तथा सञ्चारका क्षेत्रमा भइरहेको प्रगतिबाट नेपाल पनि अलग छैन । नेपाली आकाशमा दौडिएको माइक्रोवेभको तरंग अप्टिकल फाइबरसम्म आइपुगेको छ । इन्टरनेटको विकास तिब्र गतिमा छ । यसबाट नेपाल पनि विश्वको सूचना संसारभित्र सहजै अटाउन सफल भएको छ । यो सकरात्मक पक्ष हो । दूरसञ्चारको विकासँगै आधुनिक युगमा फोन, मोबाइल र इन्टरनेट नागरिकको पहिलो आवश्यकता भएको छ । यो बिना जीवनको कल्पना गर्न गाह्रो भएको छ । यो त गास, बास, कपासजस्तै आधारभूत आवश्यकता बनिसकेको छ । नेपालले दूरसञ्चार क्षेत्रमा गरेको प्रगतिलाई विश्व दूरसञ्चार क्षेत्रमा पुर्याउन र चुनौती एवं समस्यालाई समाधान गर्न आवश्यक छ । यसका लागि सरकारले नै नयाँ नीति तथा कार्यक्रम बनाएर लैजान जरुरी छ । यसो भयो भने मात्र हरेक वर्ष दूरसञ्चार दिवस मनाउनुले सार्थकता प्राप्त गर्दछ ।