स्थानीय तह यति बेला आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारीमा छन् । स्थानीय तह सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम स्थानीय तहले असार १० भित्र आगामी आवको नीति तथा कार्यक्रम र बजेट गाउँ/नगर सभामा पेस गर्नु पर्छ । बजेटमा गत आवको राजस्व र व्ययको यथार्थ विवरण, चालु आवको अन्तिमसम्ममा हुने आम्दानी र खर्चको संशोधित अनुमान तथा आगामी आवको योजना तथा कार्यक्रम र आय व्ययको अनुमानित विवरण समावेश गर्नु पर्छ । स्थानीय तहले आन्तरिक राजस्व र आयबाट प्राप्त रकम, राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम, नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानलगायतका आधारमा वार्षिक बजेट निर्माण गर्नु पर्छ । योजना निर्माणका विभिन्न तह पार गरी नीति तथा कार्यक्रम र बजेट ल्याउने अन्तिम तयारीमा स्थानीय तह जुटेका हुन् । सबै भन्दा पुरानो पाल्पाको तानसेन नगरपालिका पनि आगामी नीति, कार्यक्रम र बजेट बनाउने तयारीमा जुुटेको छ । समयसीमा नजिकै आएकाले सोही अनुसार नगर सरकारले नीति, कार्यक्रम र बजेट ल्याउन तयारी थालेको छ । तर, कस्तो नीति तथा कार्यक्रम र बजेट ल्यानुपर्छ ?, आवश्यकता कस्तो हो भन्ने विषयमा भने सम्बन्धित निकायसँग खासै छलफल चलाएको पाइदैन ।
विगतका नीति तथा कार्यक्रमलाई हेर्ने हो भने पनि त्यस्तो गरेको देखिदैन । स्पष्ट कानूनको अभाव तथा कार्यान्वयन हुने/नहुने पाटोलाई ध्यान नदिई विगतको परम्परालाई मात्रै आधार मानेर नीति तथा कार्यक्रम र बजेट ल्याउँदा त्यसको परिणाम सकारात्मक देखिदैन । अघिल्लो कार्यकालमा भएका बेरुजु र देखासिकीका योजनाबाट जोगिंदै आफ्नो स्रोत र साधन परिचालन गर्न सक्ने गरी कार्यक्रम तथा योजना ल्याउनु पर्छ । जसले आम नगरवासीलाई छुन सकोस् । यसर्थ यहाँ नगर सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको नीति, कार्यक्रम र बजेटमा केही कुराहरु समावेश गर्न सकेमा नगरवासीहरुमा केही आशाको किरण पलाउन सक्थ्यो कि भन्ने उद्देश्यले बुँदागत रुपमा केही सुझावहरु प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
१) ग्रामीण र बजारको समिश्रणबाट बनेको नगरपालिकाको संरचनाले उत्पादन र बजारको सम्बन्धलाई नजिक बनाएको छ । ग्रामीण क्षेत्रमा उत्पादन बृद्धिका कार्यक्रम र बजारको शुनिश्चितता प्रदान गर्न सकिन्छ । यसका लागि क्षेत्र विशेष र विविध वस्तु उत्पादनका लागि प्रभावकारी कार्यक्रमबाट सम्बोधन जरुरी देखिन्छ ।
२) बजारमा हप्तामा कम्तिमा २ दिन र हरेक वडामा एक दिन हाट बजारको व्यवस्था जरुरी छ ।
३) ग्रामीण वडाहरुको आवश्यकता पहुँच (सडक, सिचाँइ, खानेपानी,विद्यूत र स्वास्थ्य), सम्भाव्य ग्रामीण पर्यटनका पूर्वाधार, उत्पादित वस्तुको सुनिश्चित बजार प्रमुख आवश्यकता हुन् भने बजारको आवश्यकता व्यापार यसका लागि मानिसको आवतजावत, नियमित खानेपानीको उपलव्धता, व्यवस्थित ढल निकास व्यवस्था, विद्यूत आपूर्ति, बजार टोलको सुन्दरता नै मुख्य हुन् । यस्ता पक्षहरुमा समन्वयात्मक र सहकार्यमा प्रवद्र्धन गर्ने कार्यक्रमहरुले आपसी सम्बन्धलाई समेत प्रगाढ बनाउने छ जो अति आवश्यक पक्ष पनि हो ।
४) नगरमा उद्यमशिलता, नविन क्रियाकलापका लागि उत्प्रेरणा, स्टार्टअपका लागि प्रेरित गर्ने नयाँ प्रविधि र प्राविधिक शैक्षिक प्रतिष्ठानहरु, पर्यटकिय गतिविधिहरुमा प्रोत्साहन दिने नीति तथा कार्यक्रमहरुको आवश्यकता देखिन्छ ।
५) नगर भित्रका सबै खाले संस्कार र संस्कृतिहरुलाई प्रवद्र्धन गर्न नियमित क्रियाकलापहरुको व्यवस्थाले बजारमा नयाँ आशार विश्वास पलाएर जाने देखिन्छ ।
६) युनेश्कोले सम्भावित World Heritage City को रुपमा जान सक्ने आधार भएको शहरको रुपमा लिष्ट गरेको सन्दर्भलाइ सम्वोधन गरी
क) तानसेन बजारमा रहेका सम्पदाहरुको संरक्षण सम्वद्र्धनका लागि सम्पदा शाखाको तत्काल गठन गरी जनशक्ति व्यवस्थापन गर्ने व्यवस्था मिलाउने,
ख) टक्सारलाई खुला संग्राहलयको रुपमा विकास गर्ने कदम चाल्ने (ढिला गर्दा बाँकी रहेका संरचना र टोलकै स्वरुप विग्रन जाने)
ग) कम्तीमा पनि टक्सार, भिमसेन टोल, असन टोल र शितलपाटी क्षेत्रलाई मध्यनजर राख्दै नगरले भवन निर्माण कार्यविधि तयार पारी लागु गर्ने र ठाउँ–ठाउँमा रहेका पाटी पौवालाई फाल्चाको रुपमा निर्माण गर्ने । शितलपाटी, टक्सार र नारायण मन्दिर क्षेत्रमा जेष्ठ नागरिक गृह (स्थल) निर्माण व्यवस्था मिलाउने ।
७) तानसेन नगर आफैमा विविध प्रकृतिका पर्यटन – प्राकृतिक एवं इको टुरिजम, हेरिटेज टुरिजम, धार्मिक र आध्यात्मिक टुरिजम, ऐतिहासिक र सांस्कृतिक टुरिजम, शाहसिक टुरिजम, खेल टुरिजम लगायतका लागि उपयुक्त थलो भएकाले तत्काल तानसेन नगर पर्यटन विकास बोर्ड गठन गरी दीगो पर्यटन नीति निर्माण गरी कार्य अगाडि बढाउन जरुरी छ ।
८) तानसेन नपाका रानीमहल, रिडी, अमरनारायण मन्दिर र प्रभास क्षेत्रलाई विशेष सांस्कृतिक क्षेत्र घोषणा गर्नुपर्ने देखिन्छ ।
९) सांस्कृतिक डबलीलाई नगर भित्र र पाल्पाकै विशेष संस्कृतिहरु (नेवार, मगर, ब्राÞमण क्षेत्री, कुमाले, बोटे, गन्धर्व) लगायतको प्रदर्शन कक्षको रुपमा विकास गरी सञ्चालन गर्ने व्यवस्था मिलाउने ।
१०) नगरका प्रायः सबै वडाहरुमा विशेष प्राकृतिक र सांस्कृतिक अवस्थाहरु रहेका क्षेत्र भएका कारण प्रकृति र ग्रामीण पर्यटनका लागि होमस्टेहरु, साहसिक पर्यटनका लागि पूर्वाधारहरुमा लगानी बढाउने ।
११) तानसेन दरबार क्षेत्रलाई दरवार परिसरको रुपमा (दरवार, भगवति मन्दीर, तीन सांचा, मूल ढोका, शिलखान समेटरिएको) कायम राख्न सहमति सहितको गूरु योजना निर्माण गरी कार्यारम्भ गर्ने ।
१२) तानपा १० को गुफाचौर (प्राकृतिक, आध्यात्मिक र ग्रामीण पर्यटन), तानपा ९ को माण्डव्य क्षेत्र (आध्यात्मिक क्षेत्र), तानपा १२ को कुइरे भिर (शाहसिक पर्यटन) लगायतलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न गुरुयोजना तयार पारि लागू गर्ने ।
१३) लुम्बिनी र तानसेनबिचको सम्बन्धलाई प्रगाढ बनाउने कार्यक्रम सञ्चालन गर्ने ।
१४) पाल्पा भगवतीको रथयात्राका अवसरमा मुलुकका मुख्य व्यक्तित्वहरु राष्ट्रपति, प्रधान सेनापति, मुख्य मन्त्री, छिमेकी पालिका प्रमुखहरुको सहभागितालाई नगरले प्राथमिकतामा राख्ने ।
१५) तानसेन नगर भित्रका कला, संस्कृति, साहित्यको अभिलेखिकरण र प्रवद्र्धनका लागि सम्बोधन गर्न आवश्यक छ ।
१६) श्रीनगरडाँडामा रहेका सल्लाका रुखहरुलाई चौडापाते रुखहरुद्धारा प्रतिस्थापनका लागि अध्ययन गराउने र पर्यापर्यटनको नमूना अभ्यासको रुपमा विकास गर्न कार्यक्रम लागु गर्ने ।
१७) अर्गली दरबार आफ्नो मातहत ल्याउने साथै रानी महल जाने बाटो डबल लेन बनाई भारतीय पर्यटक मुक्तिनाथ जाने व्यवस्था मिलाउने ।
१८) तानसेनको टुँडिखेललाई केन्द्रमा राखी अन्य खेल मैदानहरुको उपयोग गर्ने गरी खेल विकास अवधारणा बनाई कम्तीमा प्रदेशस्तरिय खेल हबको रुपमा विकास गर्ने गरी सम्वद्ध संस्था तथा खेलाडीलाई प्रोत्साहन गर्न जरुरी छ ।
१९) तानपा क्षेत्र भित्रका तर बाहीर वा विदेशमा रहेका जनशक्तिको वडास्तरिय अभिलेखीकरण गरी क्षमता पहिचानका साथ परिचालन रणनीति जरुरी छ ।
२०) कालीगण्डकी किनारलाई बिच भलिवलको प्रदेश तथा राष्ट्रिय टिम उत्पादन गर्ने लक्ष्य सहित स्थानीय क्लवहरुलाई प्रोत्साहन गरी रानीमहललाई बिच भलिबलको हब बनाउन गत वर्ष गरिएको प्रतिवद्धता अनुरुप आगामी आवमा पर्यटन वोर्डको समन्वयमा अन्तर्राष्टिय प्रतियोगिता सञ्चालनका लागि पहल गर्नेगरी सम्बोधन गर्न आवश्यक छ ।
२१) तानपा प्रवेशमा गौडेको पुलदेखि तानसेन बतासेसम्म र बर्तुङ्ग देखी राइडाँडा (सिमाना सम्म) . सम्म सडकका दुवैतर्फ गुलमोर वा सिरीसका फूलका विरुवा लगाउने कार्यक्रम आवश्यक छ ।
२२) प्रभासदेखि बर्तुङ्ग सम्मका चौडा स्थानमा स्थानीय जग्गा धनिहरुलाई स्तरीय तर शुलभ रेष्टुुरेन्टहरु खोल्न प्रेरित गर्ने कार्यक्रम जरुरी छ ।
२३) गौडेका खाजा घरहरुलाई स्वच्छ सफा र ताजा खाजा व्यवस्थाका लागि व्यवसायीहरुलाई सहमति गराउन जरुरी छ ।
२४) पाल्पा भगवती, तानपा १० को बालकन्या भगवती र तानपा ८ को कोकल भगवतीको सम्बन्ध प्रगाढ बनाउन मन्दिर निर्माण र सम्बन्ध स्थापना संयन्त्र बनाउन जरुरी छ ।
२५) पाल्पाली ढाका उद्यमी र करुवा उद्यमीलाई उत्पादनमा प्रोत्साहनका लागि कार्यक्रम र पाल्पाली र गैर पाल्पाली उत्पादनको स्पष्ट जानकारी ग्राहकलाई गराउने बाध्यात्मक व्यवस्था गर्न जरुरी छ । तानसेनको विकासमा गैर सरकारी तथा व्यवसायिक संस्थाहरुको भूमिका अहंम हुने हुनाले त्यस्ता संस्थाहरुसँगको समन्वयमा राष्ट्रिय एवं प्रदेशस्तरिय कार्यक्रम पर्यटन लक्षित गर्ने गरी समन्वय व्यवस्था मिलाउन जरुरी छ ।
२६) नपाका लागि आम्दानीको श्रोत व्यवस्थापनका लागि सम्भाव्य स्थानहरुलाई विशेष खानी क्षेत्र घोषणा गरी प्राकृतिक श्रोत परिचालन रणनीति जरुरी छ ।
२७) आत्मनिर्भर तानसेनको लक्ष्य राखी कृषि, पशुपालन क्षेत्रलाई प्राथमीकताकासाथ सम्बोधन जरुरी छ । उल्लेखित सुझावहरुले नियमित क्रियाकलापहरुलाई सम्बोधन गर्दैनन् तर तानसेनको दीगो विकासमा भने महत्व अवश्य राख्ने विश्वास छ । नपाले पर्खिएको विकास र त्यसको अनुभूति नगरवासीले गर्ने गरी काम गर्नु अहिलेको आवश्यकता मात्रै होइन नेतृत्वको जिम्मेवारी पनि हो । विश्वास छ यस्ता सुझावहरुले नविनतम सोच र अवधारणा अनुरुप कार्यक्रम बन्नु पर्छ ।