Shittalpati
सुनको मूल्य हालसम्मकै उच्च

पाल्पा, विहीबार नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार प्रतितोलामा एक हजार छ सय रुपैयाँले बढेर उच्च रेकर्ड कायम गरेको हो । मूल्य बढेर प्रतितोला सुनको मूल्य १ लाख ४० हजार कायम भएको छ । तेजावी सुनको मूल्य पनि प्रतितोला एक हजार पाँच सय ५० रुपैयाँले बढेर प्रतितोला एक लाख ३९ हजार तीन सय रुपैयाँ पुगेको छ । साथै चाँदीको भाउ प्रतितोला ६० ले बढेर एक हजार आठ सय पाँच रुपैयाँ पुगेको छ । सुनको भाउले यतिबेला विश्व बजार नै तातेको छ । अन्तर्राष्ट्रिय बजारमा एकपछि अर्को उचाइ लिएको सुनले नेपालमा पनि नयाँ कीर्तिमान बनाइरहेको छ ।

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । जब अन्तर्राष्ट्रिय कमोडिटी बजारमा सुनको माग र आपूर्ति बढी प्रभावित हुन्छ, मूल्य पनि उच्च दरमा घटबढ हुन्छ । यतिबेला अन्तर्राष्ट्रिय बजारमा सीमित आपूर्तिबीच सुनको माग उच्च दरले बढ्दा मूल्यमा असर परिरहेको छ । नेपालमा हाल दैनिक २० किलो सुन आयात गर्न सक्ने व्यवस्था छ । वैदेशिक रोजगारमा रहेकाले ५० ग्रामसम्म सुनका गहना ल्याउन पाउने व्यवस्था छ । सुनको मूल्य बढ्दा नेपालबाट बाहिरिने विदेशी मुद्रा बढ्न जान्छ । विदेशी मुद्रा सञ्चिति घटेका बेला यसले नकारात्मक असर पार्न सक्छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update