Shittalpati
बुटवल उपमहानगर पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

बुटवल, बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । बुटवल उपमहानगरपालिकाभित्र बसोबास गर्ने बालबालिकाहरुले खोप पाएको वडा खोप समन्वय समिति र बुटवल उपमहानगरपालिकाको सिफारिसका आधारमा जिल्ला खोप समन्वय समितिको स्वीकृतिमा पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको हो ।

शुक्रबार एक कार्यक्रमका बीच जिल्ला खोप समन्वय इकाईबाट प्राप्त पत्रअनुसार नगर प्रमुख खेलराज पाण्डेयले बुटवल पूर्ण खोप दिगोपना सुनिश्चित भएको घोषणा गरेका हुन । उनले बुटवलमा कुनै पनि प्रकारका खोपको अभाव हुन नदिन बुटवलले विशेष चासो दिएको र पर्याप्त पूर्वतयारी गर्दै आवश्यक जनशक्ति र पूर्वाधार व्यवस्थापन गरेको बताए । प्रमुख पाण्डेयले भने ‘बुटवललाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउनका लागि आवश्यक काम भइरहेको छ ।’

यसअघि जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइँले बुटवलले सबै सूचकहरु पूरा गरेर पूर्ण खोप सुनिश्चित भएको बताउँदै बुटवललाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलले समयमै सबै सूचकहरु पूरा गरेको र आगामी दिनमा पनि खोपको सुनिश्चित गर्ने बताइन् । पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताए ।  स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैतमा नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेरअनुसार खोप पाए/नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा खोप दिने प्रक्रियाअनुरुप खोप दिने व्यवस्था गरेको छ । बुटवलले १६ महिनादेखि २ वर्षसम्मका बालबालिकाहरुले १५ महिनासम्ममा पाउनुपर्ने सम्पूर्ण खोप लगाएको र पूर्ण खोप सुनिश्चित गर्दै आवश्यक मापदण्डहरु पूरा गरेको छ ।  

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update