नीतिमध्ये सबैभन्दा महत्वपूर्ण नीति राजनीति हो । राजनीति जतिसुकै सम्भावनाको खेल भए पनि न्यूनतम इमान हुनुपर्छ । राजनीति ठीक दिशामा हिँड्ने हो भने अरु नीतिहरु स्वतः सरल रेखामा हिँड्छन् । नीतिहरुको राज नै राजनीति हो । तर नेपालमा पछिल्लो समय राजनीति इमान,जमान र नीतिमा चल्न सकेको छैन् । व्यक्तिगत कुण्ठा, इष्र्या, डाह र आत्मरतिमा नै यसबीचको राजनीतिक गतिविधि केन्द्रित हुँदै आएको छ । व्यक्तिपरक चाहना नै नेपालको राजनीति बन्न पुगेको छ । यो अत्यन्त दुखको कुरा हो ।
सत्ताका लागि राजनीतिक दलहरुले जे पनि गर्न तयार छन् । पछिल्लो समय सत्तामा पुग्न र पुगेपछि सत्ता जोगाई राख्न दलहरु कहिले कोसँग कहिले कोसँग सत्ता साझेदारी गर्ने गरेका छन् । यसले आमजनताको हित गरेको देखिदैन । सत्ता संघर्षका कारण जनताका मूलभूत समस्या ओझेलमा पर्ने गरेका छन् । आज व्याप्त बेरोजगारीका कारण दैनिक हजारौं युवायुवती रोजगारीका लागि विदेशीनु परेको छ, भने अर्कोतर्फ सत्ताका लागि दलहरुले गर्दै आएको हर्कतले उनीहरुलाई नै जिस्क्याइरहेको छ । राजनीति भनेको इमानदार हुनुपर्ने हो । यसको सिद्धान्त पनि त्यही हो तर नेपालको हकमा भने यो नियम लागू भएको पाइँदैन ।
पुराना दलहरु बिग्रिए भन्दै नयाँ जन्मिएका दलहरुको हैसियत र हर्कत हेर्दा उनीहरु पनि उही ड्याङका मुला हुन् भन्ने जनताले बुझिसकेका छन् । तर पनि उनीहरु मिसन ८४ को नारा दिएर फेरि एकपटक जनतालाई भ्रममा पार्न उद्यत रहेको देखिन्छ । अब दलहरु भ्रममा नपरे हुन्छ । जनताहरु धेरै सचेत भइसकेका छन् । अब पनि नेताहरु सुध्रिएनन् भने ढिलो चाँडो आफै सक्किने छन् । नेताहरूमा नैतिकता, इमानदारिता र पारदर्शिताको भावना विकास हुन आवश्यक छ । राजनीतिक दलहरुका लागि
सबैभन्दा ठूलो चुनौती नै आमजनतामा भरोसा र विश्वास बढाउनु हो । यसका लागि उनीहरुमा
इमान्दारिताको खाँचो छ ।