Shittalpati
लुम्बिनीका तराई भू–भागको तापक्रम ४० डिग्रीमाथि

पाल्पा, केही दिनयता देशका तराई क्षेत्रमा तापक्रम ह्वात्तै बढेको छ । तराईका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको हो । विशेष गरी लुम्बिनी प्रदेशका तराई जिल्लामा तापक्रमले सीमा नाघेको छ । 

ती स्थानहरुमा ४० डिग्री सेल्सियस माथि तापक्रम पुगेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गत वैशाख १६ गतेदेखि नै क्रमशः तापक्रम बढ्दै गएको छ । बिचमा केही दिन पानी परेर घटेको तापक्रम जेठ ४ गते शुक्रबारदेखि पुनः बढेको हो । यो क्रम जेठ ६ गते आइतबारसम्म रहने महाशाखाले विहीबार जारी गरेको विशेष बुलेटीनमा उल्लेख गरिएको छ । तापक्रम वृद्धि हुँदै गएकाले गर्मी अत्याधिक मात्रामा बढेको छ । लुम्बिनी प्रदेशका तराईका जिल्लाहरुमा  अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएकोे छ । ‘तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिन’ अनुसार तराईमा धेरै गर्मी र हावासमेत तातो हुनेछ । ‘विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको देखिन्छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागका धेरैजसो स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ,’ बुलेटिनमा भनिएको छ । विशेषगरी लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु, बाँके लगायतका जिल्लामा तापक्रम अत्याधिक वृद्धि भएको मौसमविद् गोविन्द झाले एनजेडीलाई जानकारी दिए । उनका अनुसार यी क्षेत्रको तापक्रम ४०–४३ डिग्री सेल्सियस नाघेको छ । विहीबार ति जिल्लामा ४० डिग्री रहे पनि शुक्रबार ४३ डिग्री नाघेको झाको भनाई छ । तराईका अन्य जिल्लामा भने ४० डिग्री रहेको छ ।  सुदूरपश्चिम प्रदेशमा पनि तापक्रम अधिकतम रहेको छ । आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेको मौसमविद् झाको भनाई छ । उनले भने ‘तातो बढ्ने भएकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन सबैमा अनुरोध गरिएको छ ।’ तातो लहर “हिटवेभ” सम्बन्धी विशेष “बुलेटिन”मा देशको पहाडी भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्नसक्ने भएकाले सचेत रहन बुलेटीनमा भनिएको छ ।

 विभागले तापक्रमलाई आधार मानेर तातो, धेरै तातो र अति तातो भनेर वर्गीकरण गरेको छ । कुनै स्थानमा तीन दिनसम्म तातो दिन भए ती स्थानमा तातो हावा (हिट वेभ)को लहर चल्ने उनले बताए ।   विभागले यसका लागि छुट्टाछुट्टै मापन केन्द्रहरुमा तापक्रमको आधारमा पर्सेन्टाइल भ्यालुहरु राखेको छ । त्यसैको आधारमा तातो हावाको बारेमा पूर्वानुमान गर्ने गर्छ । ‘कुनै एउटा मापन केन्द्रमा तीन दिनसम्म तातो दिनको थ्रेसहोल्ड काट्यो भने हामीले तातो हावा चल्यो भन्छौं,’ झाले भने । पहाडी ठाउँमा ३० डिग्री नाघ्दा धेरैलाई गाह्रो हुन्छ भने मधेसमा सामान्य लिने गरिन्छ । मधेसमा तापक्रम ३५ नाघेपछि धेरै तातो मानिने गरिएको छ । यस्तै, कुनै ठाउँमा तापक्रम ४० डिग्री कट्दा अति तातो भनेर भनिएको छ । 

यस्तो अवस्थामा मानिसहरु बिरामी हुने सम्भावना रहन्छ । महाशाखाका मौसिमविद् झा भन्छन्, ‘तापक्रम ४० डिग्री नाघ्नु भनेको धेरै हो । यो थ्रेसहोल्ड नाघ्यो भने मानिसलाई धेरै नै असर गर्छ ।’ कुनै स्थानमा बसोबास गर्ने मानिसहरुलाई औसतभन्दा बढी तापक्रम हुँदा त्यसले पार्ने असर फरक हुने उनले बताए । तापक्रम बढ्दै जाँदा शरीरलाई समेत असर गर्ने हुँदा स्वास्थ्यलाई ख्याल गर्न पनि उनले सबैलाई आग्रह गरे । धेरै गर्मी हुँदा थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने विभागले जनाएको छ । तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउन विभागले सुझाव दिएको छ । 

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update