पाल्पा, सेन माध्यमिक विद्यालय तानसेन पाल्पाले ५६ औ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह मनाएको छ । विद्यालयले विभिन्न कार्यक्रमहरुको आयोजना गरी दिवस मनाएको हो ।
वार्षिक उत्सवको पाल्पा क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्य ठाकुर प्रसाद गैरेले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै सांसद गैरेले समग्र शिक्षा सुधारको लागि २०२८ को कानुन परिवर्तन गरी नयाँ कानुन ल्याउनु पर्ने बताए । नेपालको संविधान २०७२ ले शिक्षालाई मौलिक हकको रुपमा परिभाषित गरे पनि कानुन र बजेटको अभावमा संविधानको मौलिक धारा पूर्ण रुपमा प्रयोगमा आउन नसकेको सांसद गैरेको उल्लेख गरे । देशमा गुणस्तरीय प्रविधियुक्त शिक्षा भए विकास निर्माणदेखी खोज अनुसन्धानका कामहरुमा प्रगती गर्न सकिने उनले बताए । विगतमा भन्दा अहिले सेन माविको शिक्षाको गुणस्तरमा सुधार भएकोमा सांसद गैरेले खुसी व्यक्त गरे । कार्यक्रममा लुम्विनी प्रदेश सदस्य इन्द्राकुमारी गहतराजले विद्यालय शिक्षालाई गुणस्तरीय बनाउन तीनै तहका सरकार, शिक्षक, अभिभावक र विद्यार्थीले ध्यान दिनुपर्ने बताईन ।
विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक भिमलाल बस्यालले १ करोड ९२ लाख ४१ हजार बराबरको आय व्यव सार्वजनिक गरे । विद्यालयमा जेहेन्दार, गरिव, दलित, आदिवासी तथा जनजाती बालबालिकाहरुको छात्रबृत्तिको लागि ९६ वटा अक्षयकोष रहेका प्रधनाध्यापक बस्यालले बताए । अहिले छात्रवृत्तिमा मात्र १९ लाख ३६ हजार अक्षयकोष रहेकोमा अधिकाश बालबालिकाहरुलाई छात्रपवृत्ति रकम बाटै कापी कलम लगायतका विद्यालयका सरसमानको लागि सहयोग पुगेको उनको भनाई छ ।
विद्यालयले शैक्षिक गुणस्तरलाई ध्यान दिदै नियमित समय १० देखि ४ बजेसम्म बाहेक विद्यार्थीको अवस्था अनुसार विहानी र बेलुका कक्षा सञ्चालन गर्दै आएको, शिक्षण सिकाईसंगै जीवन उपयोगी व्यबहारिक शिक्षा प्रदान गर्दै आएको, कक्षा १० सम्मका बालबालिकालाई नियमित कम्युटर तथा साइन्स प्रयोगशाला अभ्यास गराउदै आएको, शिक्षणमा प्रविधिको प्रयोग गर्दै आएको जनाएको छ । नर्सरीदेखी कक्षा १२ सम्म अग्रेजी माध्यमबाट पठन –पाठन, जंग फुड निषेधित व्यहारमै कार्यान्वयन गरेको र विद्यालयको चमेनागृहमा समेत जंगफुडयुक्त सरसमान ल्याउन र पकाउन नपाउने, विद्यालयमै शिक्षक देखी बालबालिकासम्मलाई सरसफाईमा विशेष ध्यान पुर्याएको, विगत २ बर्षदेखी भर्ना दरमा वृद्धि हुँदै गएको विद्यालयका प्रधानाध्यापक बस्यालले जानकारी दिए । विद्यालयमा हाल नर्सरीदेखि कक्षा १२ सम्म ३ सय विद्यार्थी रहेका छन् ।
कार्यक्रममा तानसेन नगरपालिका निमित्त प्रमुख कोशलराज घिमिरे, विद्यालयका संस्थापक सदस्य द्वारिका शर्मा, पूर्व प्रधानाध्यापक चक्रपाणि गौतम, धवल पुस्तकालयका अध्यक्ष युवराज पौडेल, पप माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तविर बराल, पूर्व शिक्षक सुर्य बोहरा, शिक्षक अभिभावक संघका अध्यक्ष भरत खड्की, विद्यार्थी कृष्टिना राना लगाएतले विद्यालयले गरेका कामहरुको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा विभिन्न समाजसेवी व्यक्तिहरुबाट १ लाख ५० हजारको ४ वटा अक्षयकोष थपिएका छन् । विद्यालयमा बार्षिक उत्सवको असवरमा उत्कृष्ट कार्य सम्पादन गरेका शिक्षक भोजराज थापा, नुरराज गैरे र पिताम्बर रानालाई सम्मान समेत गरिएको थियो । कवडीतर्फ तानसेन नगरपालिका प्रथम भएका छात्राको समूहलाई शिक्षक नुरराज गैरेले नगद ५ हजार रुपैयाँ प्रदान गरी सम्मान गरेका थिए । कार्यक्रममा विद्यालयमा अध्धयनरत करीव १ सय ५० जना बालबालिकाहरुलाई विभिन्न किसिमको छात्रवृत्ति प्रदान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज अधिकारीको अध्यक्षता, सदस्य कमलराज तिमिल्सिनाको स्वागत, शिक्षक हरिबहादुर कुंवरको सञ्चालनमा कार्यक्रम भएको थियो ।