पाल्पा, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले एकिकृत निजामती ऐनको लागि संगठनले पहल गरिरहेको बताएका छन् । नेपाल निजामती कर्मचारी संगठन पाल्पाले आयोजना गरेको एक दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई तानसेनमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
निजामति विधेयकमा संगठनले राखेका संसोधन प्रस्ताव समावेश हुने सम्भावना ९० प्रतिशत रहेको भन्दै अध्यक्ष कोइरालाले विधेयक पारित भएमा सबै तहका कर्मचारीहरुको ९५ प्रतिशत मागहरु पुरा हुने बताए । संशोधन प्रस्तावको विषयमा प्रधानमन्त्री, सभामुख, मुख्य सचिव, सचिव, राजनीतिकदलका प्रमुख सचेतक, संसदीयदलका नेताहरु तथा सांसदहरुलाई जानकारी गराएको समेत उनले उल्लेख गरे ।
संघीय कर्मचारी विधेयक पारित नहुँदा अहिले कर्मचारी तहमा ठूूलो समस्या परेको, सरुवा बढुवा रोकिएकोले चाडो भन्दा चाडो पास गर्न सबैतिर संगठनले पहल गरिरहेको संगठनका अध्यक्ष कोइरालाले बताए । हालको संघीय निजामती सेवा विधेयकमा करारका कर्मचारीहरुको लागि पनि उमेर हद नलागी स्थायीको लागि सहभागी हुन पाउने, स्थायी नभएमा विशेष व्यबस्था गरिएको संगठनका अध्यक्ष कोइरालाले बताए । संगठनको पहलमा सबै कर्मचारी संघ, युनियन लगायतसँग सहकार्य गरेर विधेयकमा संसोधन प्रस्ताव राखिएको उनले बताए । देशभरीका सबै तह र तप्काका सरकारी कर्मचारीहरुलाई समेट्ने गरी एकिकृत निजामती ऐनको लागि संगठनले पहल गरिरहेको संगठनका अध्यक्ष कोईरालाले बताए ।
प्रशिक्षण कार्यक्रममा संगठनका केन्द्रीय उपमहासचिव रामचन्द्र अधिकारी, संगठनका केन्द्रिय प्रशिक्षण विभागका सचिव कवि सिंह कठायतले प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रममा निजामती कर्मचारी संगठनको महत्व, संगठनले गर्दै आएका कामहरु, कर्मचारी हकहितको लागि गरेका गतिविधीहरुका बारेमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा एमाले नेता डा. राम बहादुर राउतले सकारात्मक सोचले मानिस संघ संगठनलाई उच्च स्थानमा पुर्याउने विषयमा उदाहरण सहित प्रशिक्षण दिएका थिए । कार्यक्रममा पेशागत महासंघका केन्द्रिय लेखा आयोग संयोजक मेघदेव पन्त, संगठनका लुम्बिनी प्रदेश इन्चार्ज दधिराम मरासिनी, नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, संगठनका पुर्व अध्यक्ष गणेश बस्याल, पुर्व केन्द्रिय सदस्य सुन्दर प्रसाद श्रेष्ठ लगायतले नेपालकै अग्रणी संस्थाको रुपमा कर्मचारीहरुको हकहितमा संगठनले निरन्तर काम गर्दै आएको बताए ।
प्रशिक्षण कार्यक्रममा कार्यसमितिमा रही सेवानिवृत भएका कर्मचारीहरु उमादेवी आचार्य, राजेन्द्र प्रसाद आचार्य, नारायण प्रसाद भट्टराईलाई सम्मान गरिएको थियो । कार्यक्रम संगठनका जिल्ला अध्यक्ष युवराज ज्ञवालीको अध्यक्षता, उपाध्यक्ष भोजबहादुर थापाको स्वागत सचिव रुकलाल भट्टराईको सञ्चालनमा भएको थियो । प्रशिक्षण कार्यक्रममा १ सय ५० जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।