Shittalpati
पाल्पामा ९ हजार ४ सय ६७ बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

पाल्पा, यही जेठ १३ गतेदेखि सञ्चालन हुने पोलियो रोगविरुद्धको आइपिभी खोप कार्यक्रम अन्तर्गत पाल्पाका ९ हजार ४ सय ६७ बालबालिकालाई आइपिभी खोप उपलब्ध गराउने तयारी गरिएको छ । २०७३ वैशाखदेखि २०७५ असोजसम्मका बालबालिकालाई देशभर एकैसाथ सञ्चालन हुने पोलियो रोगविरुद्धको आइपिभी खोप उपलब्ध गराउने सरकारको निर्धारित कार्यक्रम अन्तर्गत पाल्पामा पनि खोप कार्यक्रम तय गरिएको हो ।

आइतबार स्वास्थ्य कार्यालय पाल्पाले आयोजना गरेको जिल्ला खोप समन्वय समिति तथा सञ्चारकर्मीसँगको अभिमुखीकरण कार्यक्रममा आइपिभी खोप अभियान र यसको तयारीका बारेमा जानकारी गराएको छ । तत्कालीन अवस्थामा खोप आपूर्ति बन्द भएकाले पोलियोविरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई यही जेठ १३ गतेदेखि दुई हप्ते अभियानमा खोप लगाउन लागिएको जिल्ला खोप समन्वय समितिका सदस्य–सचिव एवं जनस्वास्थ्य कार्यालय प्रमुख डा. राजेन्द्र गिरीले बताए । उनका अनुसार नेपालमा सुईमार्फत लगाइने पोलियोविरुद्धको खोप (आइपिभी) आपूर्ति बन्द हुँदा उक्त संख्याका बालबालिका खोपविहीन बन्न पुगेका थिए । 

यहाँका रैनादेवी छहरा गाउँपालिकाका ८ सय ५५, निस्दी गाउँपालिकाका ६ सय २, रिब्दीकोट गाउँपालिकाका ५ सय २१, माथागढी गाउँपालिकाका ८ सय ४७, रामपुर नगरपालिकाका १ हजार ९ सय २१ बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालयका प्रमुख डा. गिरीले बताए । यस्तै  बगनासकाली गाउँपालिकाका ५ सय ६०, पूर्वखोला गाउँपालिकाका ५ सय ६८, तिनाउ गाउँपालिकाका ६ सय ९५, तानसेन नगरपालिकाका २ हजार २ सय ४० र रम्भा  गाउँपालिकाका ६ सय ५८ बालबालिकालाई खोप लगाईने छ ।  १४ हप्ता र ९ महिना उमेर समूूहका बालबालिका र छुट भएका ५ वर्ष उमेरभित्रका ४/४ महिनाको फरकमा खोप लगाइने छ । वि.सं.२०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएका बालबालिकालाई अभियान सञ्चालन गरी जेठ १३ गतेदेखि २७ गतेसम्म ‘फुल–डोज’का रूपमा खोप लगाइने प्रमुख डा. गिरीको भनाइ छ ।

जल्लामा पहिलो चरणमा जेठ १३ देखि २० सम्म रैनादेवी छहरा, रिब्दीकोट, तानसेन, बगनासकाली, तिनाउ र माथागढीमा खोप लगाइने छ । यस्तै दोस्रो चरणमा जेठ २१ देखि २७ सम्म रम्भा, पूर्वाखोला, रामपुर र निस्दीमा लगाउने तयारी भएको छ । खोप अभियान विद्यालयमा सञ्चालन गरिने छ । खोप कार्यक्रमका लागि जिल्लामा ५ सय २९ खोप केन्द्र निर्धारण गरिएको छ । जसमा ४ सय ४८  विद्यालय र ८१ स्वास्थ्य केन्द्र रहेका छन् । खोप कार्यक्रमका लागि ५ सय २७ स्वास्थ्यकर्मी र ५ सय २९ जना स्वयंसेवक खटिने स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारले छुटेका बालबालिकालाई लक्षित गरेर खोप कार्यक्रम ल्याएको डा. गिरीले बताए । उनले भने ‘यसअघि खोप लगाएकाले पुनः लगाउनु पर्दैन, पोलियो थोपा खुवाइरहेका बालबालिकालाई खोप लगाउन पर्दैन कि भन्ने हुनसक्छ, खोप र पोलियो थोपा फरक हो, पोलियो थोपा खुवाइ रहेकालाई पनि खोप लगाउनुपर्छ ।’ कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा सिंजाली, पत्रकार महासंघका अध्यक्ष रेखीराम राना, महासंघका पूर्व अध्यक्ष गोविन्द भट्टराई लगायतले आइपिभी खोप कार्यक्रम सफल पार्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । पोलियो रोगविरुद्धको खोप नलगाएमा स्थायीरुपमा पक्षघात हुन सक्ने स्वास्थ्यकर्मीले बताएका छन् । सबैभन्दा बढी पाँच वर्षसम्मका बालबालिका पोलियो रोगको भाइरसबाट संक्रमित हुन सक्ने जनाइएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update