पाल्पा, पाल्पाको पूर्वखोला गाउँपालिका–६, हेक्लाङमा यही वैशाख १९ मा लागेको डढेलो बस्तीमा फैलिएपछि ३३ घरगोठ जलेर नष्ट भए । समयमै आगो निभाउन पालिकामा दमकल नहुँदा लाखौंको क्षति भयो । गुल्मीको इस्मा गाउँपालिका –२ र ४ मा पनि यही वैशाख ११ गते आगलागी हुँदा ७७ घरगोठ जलेर नष्ट भए । रेसुङ्गा नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीय बासिन्दा जुट्दा पनि दुई दिनपछि मात्र आगो निभ्यो । सुख्खायाम लागेपछि देशभर वन र बस्ती जलिरहेका छन् । आगोमा परेर दिनहुँ दर्जनौं घर र सयौं हेक्टर वन क्षेत्र खरानी भइरहेको छ ।
प्रदेशमा ८०३ घर जलेर नष्ट, ३१ को मृत्यु
लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा आगलागीबाट ८ सय ३ घर जलेर नष्ट भएका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार चालु आर्थिक वर्षको साउन १ देखि वैशाख २२ सम्म १ हजार ३ सय २३ आगलागीका घटनामा ८ सय ३ घर जलेर नष्ट भएका हुन् । आगलागीबाट ६ सय १० गोठ पनि जलेका छन्, ३१ जनाको मृत्यु भएको छ भने १ सय ८ जना घाइते भएका छन् । यो वस्तीमा लागेको वा डढेलोमा परेर मृत्यु र घाइते भएको नभई विभिन्न समयमा (कुँडो पकाउँदा, खाना पकाउँदा) जलेर भएको घटनाको विवरण हो । यस्तै ८ सय ३७ चौपायाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीबाट ६९ करोड ९१ लाख ८४ हजार २ सय ६९ रुपैयाँ बराबरको क्षति भएको छ ।
पाल्पा र गुल्मीमा ९७ घर जलेर नष्ट, १० को मृत्यु
पाल्पामा मात्र ५१ वटा आगलागीका घटना भएका छन् । तिनमा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । यस्तै ३५ घर र ५६ वटा गोठ र ८४ पशुचौपया समेत जलेका छन् । गुल्मीमा पनि १ सय ८३ वटा आगलागीका घटना भएका छन् । तिनमा ७ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । यहाँ ६२ घर र ९१ गोठ जलेका छन् ।
आगलागी भएको स्थान, आगो निभाउन खटिएको जनशक्ति, ज्यान गुमाएका मानिस, चौपाया र घर गनेर बसेका स्थानीय सरकार थप घटना नहुन भन्ने विषयमा सजग देखिदैनन् । विपद् व्यवस्थापनको काम स्थानीय सरकारलाई दिइएको भए पनि उनीहरुसँग पर्याप्त दमकल छैनन् । गुल्मीको रेसुङ्गा नगरपालिका, पाल्पाको तानसेन र रामपुर नगरपालिकामा मात्र दमकल छन् । अरु १९ वटा पालिकामा छैनन् । बरु उनीहरुले जनप्रतिनिधिका लागि बिलासिताका गाडी खरिदलाई प्राथमिकता दिएका छन् । ५० देखि ६५ लाख पर्ने ४१ भन्दा बढी गाडी यहाँका पालिकाले खरिद गरेका छन् ।
तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठका अनुसार ठूलो आगलागी भएका बेला अन्य पालिकाले हाम्रै नगरको दमकल प्रयोग गर्ने गरेका छन् । यहाँका पालिकाका अधिकांश बस्ती तथा भागमा सडक पुगे पनि सबै ठाउँमा आगलागी हुँदा दमकल पुग्न सम्भव छैन । अर्कोतर्फ धेरै ठाउँमा एकैपटक आगलागी भयो भने पहिलो प्राथमिकता आफ्नै नगरपालिकालाई दिने गरेको छ । अन्य पालिकाहरूले जति हारगुहार गरे पनि समयमा दमकल पाउँदैनन् । वैशाखको पहिलो हप्ता बगनासकाली गाउँपालिकाले पालिका क्षेत्रमा लागी रहेको आगो निभाउन दमकल पठाइदिन तानसेन नगरपालिकालाई आग्रह गरेको थियो । तर, नगरको दकमलले त्यतिबेला नगरपालिकाकै श्रीनगरडाँडामा आगो निभाइरहेको थियो । त्यो बेला दमकल जान सकेन र उक्त क्षेत्रमा ठूलो क्षति हुन पुग्यो । रामपुर नगरपालिकाको दमकल पनि आगलागी भइहाले नजिकका पालिकामा पठाउने गरिएको छ ।
दुुई वटा नगरपालिका र दश वटा गाउँपालिका रहेको गुल्मीमा रेसुङ्गा नगरपालिकामा मात्र दकमल छ । जिल्लामा हुने घटनामा यही पालिकाको दमकल प्रयोग हुने गरेको छ । जनप्रतिनिधिहरू सडक पुर्याउन तँछाडमछाड गर्छन्, तर विपद्को पूर्वतयारीमा भने ध्यानै दिँदैनन् । दमकल किन्नेबारे स्थानीय तहले छलफलसम्म पनि चलाएका छैनन् । ‘दमकल एकदमै आवश्यक छ, तर बजेट नभएकाले चुप बसेका छौं,’ पाल्पाको बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले भनिन् । गुल्मीको चन्द्रकोट गाउँपालिकाका युवराज खत्री क्षेत्रीले बढी खर्चिलो हुने भएकाले दमकल किन्न निर्णय नगरेको बताए । उनले भने ‘एउटा चालक, एउटा प्राविधिक राख्नैप¥यो । पालिकाले त्यो खर्च थेग्न सक्दैन ।’ गुल्मीको इस्मा, चन्द्रकोट, छत्रकोट गाउँपालिकाले दमकलको विकल्पका रुपमा ट्याङ्कर खरिद गर्ने योजना बनाएका छन् । दमकल खर्चिलो हुने र सबै ठाउँमा पु¥याउन नसकिने भएकाले दमकल खरिदमा कुनै योजना नबनाएको तर ट्याङकर खरिदका लागि यस पटक बजेट विनियोजन गरिएको इस्मा गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुंवरले बताईन् । अन्य पालिकाहरुले समेत पैसा नभएकाले दमकल किन्न नसकिएको बताउने गरेका छन् । मुसिकोट नगरपालिकाका नगर प्रमुख जीवलाल खरेलका अनुसार नगरका अधिकांस ग्रामीण क्षेत्रका सडकहरु साँघुरा छन्, केहीमा सडक नपुगेकाले दमकल खरिद नगरिएको हो । उनले भने‘ आगलागी हुँदा ट्याक्टरमा पानी लैजाने र स्थानीय, प्रहरीहरुको सहयोगमा निभाउने काम गर्दै आएका छौं ।’ पाल्पाको निस्दी, गुल्मीको रुरुक्षेत्र, गुल्मी दरबार, छत्रकोट गाउँपालिकाले भने फायर हाइड्रेन्ट, प्रेसर पम्प जस्ता यन्त्रहरु भने खरिद गरेका छन् ।
हरेक वर्ष हुने विपद्का घडीमा प्रमुख जिल्ला अधिकारीले जनप्रतिनिधिसँगको छलफलमा पालिकाहरुबिच समन्वय गरेर दमकल किन्न आग्रह गर्छन् । जनप्रतिनिधिहरुले पनि छलफलमा सहमति त जनाउन्छन् तर दमकल किन्न तयार नै हुँदैनन् । विपद् व्यवस्थापनको छलफलमा पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लले एउटै पालिकाले नसके अरूसँग मिलेर किन्न अनुरोध गर्दै आए पनि उनको कुरासमेत पालिकाका प्रमुखहरूले सुनेका छैनन् । प्रजि काफ्लले स्थानीय सरकार एक आपसमा समन्वय गरेर दमकल खरिद गरे डढेलो नियन्त्रणमा सहज हुने बताए ।
विपद् प्रतिकार्य योजना छ, कार्यान्वयन छैन
यहाँका स्थानीय सरकारले विपद् प्रतिकार्य योजना, कार्यविधि र कानुन बनाए पनि कार्यान्वयन गरेका छैनन् । विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन २०७४ अनुसार पालिका प्रमुखको अध्यक्षतामा स्थानीय विपद् व्यवस्थापन समिति गठन गर्नुपर्ने प्रावधान छ । सोही ऐन अनुसार पालिकाले समिति गठन गरे पनि ठोस काम गर्न सकेका छैनन् । विपद्मा परेका पीडितलाई उद्धार र पुनस्र्थापना गर्ने, विपद्का लागि अत्यधिक जोखिम क्षेत्र पहिचान तथा नक्सांकन गरी जनचेतना फैलाउने, जोखिम घटाउन समय सापेक्ष नीतिगत र संस्थागत संयन्त्रमा सुधार गर्ने, विपद्बाट पीडितलाई आधारभूत आवश्यकताका लागि तत्कालै राहत उपलब्ध गराउने, विकास निर्माण तथा भौतिक संरचनाको निर्माण वातावरणीय दृष्टिले उपयुक्त बनाउन जोड दिने, जोखिम न्यूनीकरणका लागि उपयुक्त सूचना उपलब्ध गराउने लगायतका काम उक्त समितिले गर्नुपर्ने भनिएको छ । तर, ती समितिहरु विपद् परेको बेला बाहेक अन्य समयमा निष्क्रिय छन् ।
डढेलो निभाउने कार्यविधि छैन
विपद् प्रतिकार्य योजना, कार्यविधि बनाए पनि यहाँका कुनै पनि पालिकाले डढेलो निभाउने कार्यविधि बनाएका छैनन् । विपद् प्रतिकार्य योजनामा डढेलोबाट क्षति भएमा राहत उपलब्ध गराउने भन्ने उल्लेख गरिए पनि डढेलो लाग्न नदिन के गर्ने र लगाउनेहरुलाई कस्तो दण्ड सजायको व्यवस्था गर्ने भन्ने कुरा गरिएको छैन । पछिल्लो समयमा भएका डढेलाका घटनाले डढेलो नियन्त्रण सम्बन्धी छुट्टै कार्यविधि बनाउनुपर्ने महसुुस भएको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए । मानविय लापरवाहीका कारण आगलागीका घटना बढ्ने गरेकाले त्यसलाई छुट्टै कार्यविधि बनाउन जरुरी रहेको उनको भनाई छ ।