प्राकृतिक विपद् बाजा बजाएर आउँदैन । यो कति बेला आउन्छ भन्ने कुनै पूर्व अनुमान गर्न सकिदैन । तथापी विपद् प्रतिकार्य योजना बनाएर तयारी अवस्थामा रहने हो भने विपद्बाट हुन सक्ने क्षतिबाट केही हदसम्म बच्न भने सकिन्छ । विशेष गरी बर्खा र खडेरीको समयमा सबै भन्दा बढी प्राकृतिक विपद्का घटना हुने गर्दछन् । अब बर्खा सुरु हुन थालेको छ । यो समयमा बाढी, पहिरोका घटनाहरु हुने गर्दछन् । नेपालको मौसम विज्ञान विभाग तथा सम्बन्धित सबैले यस वर्षको मनसुनमा मुलुकका अधिकांश स्थानमा बढी वर्षा हुने प्रक्षेपण गरिसकेका छन् । वर्षा अत्यधिक हुने र तापक्रम पनि बढ्ने भएकाले मौसमी प्रकोप सोचेभन्दा धेरै हुने देखिन्छ । यसका लागि अहिलेदेखि नै तयारी गर्नु जरुरी छ । सरदर वर्षाले मुलुकभर विपद् निम्त्याउने देखिन्छ ।
भू–क्षय, बाढी, पहिरो, घाम, हावाहुरी तथा असिनाको प्रकोप धेरै निम्तने देखिन्छ । यसका साथै मुलुकका अधिकांश स्थानमा अधिकतम वर्षा साबिकको भन्दा ३५ देखि ६५ प्रतिशतसम्म बढ्ने भनिएको छ । यसले वर्षाको मौसम नेपाली जनजीवनका लागि कष्टदायी हुने संकेत गरिसकेको छ । यो कष्टविरुद्ध लड्न र बच्नका लागि बेलैमा चनाखो हुनुपर्छ ।
यस वर्ष मुलुकभर डढेलो लागेका कारण पनि बाढी र पहिरोको जोखिम अत्यन्तै उच्च छ । तर, मनसुन नजिकिँदै गर्दा पनि सरकारले सम्भावित जोखिमबाट बच्न केही तयारी गरिरहेको छैन । यो अत्यन्त दुखको कुरा हो । हरेक वर्ष पहाडमा बाढी, पहिरो र तराइमा डुबान हुने गरेका घटना विर्सिन सकिदैन । तर पनि यस्ता विपद्बाट कुनै पनि सरकारले पाठ सिक्न सकेका छैनन् । हरेक वर्ष हुने यस्ता घटनाको एकपछि अर्को अनुभवबाट सुरक्षात्मक विधि अपनाउन सकिने भए पनि सरकारको त्यसतर्फ ध्यान जान नसक्नु विडम्वनाको कुरा हो ।
कुनै व्यक्ति वा समुदाय प्राकृतिक प्रकोपको चपेटामा परेर जन–धनगुमाउन नपरोस् भन्नको लागि पूर्वतयारी अत्यावश्यक हुन्छ । पूर्व तयारीमा विशेष ध्यान दिन सकेमा विपद्बाट हुने क्षतिलाई न्यूनिकरण गर्न सकिन्छ । यसर्थ तीनै तहका सरकारले विपद् व्यवस्थापनको पूर्व तयारी गर्नेतर्फ ध्यान दिन जरुरी छ ।