पाल्पा, नेकपा एमाले पाल्पाको १० औं जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । तयारीका लागि जिल्लाका नेताहरु आ–आफ्नो जिम्मेवारी अनुसारको काममा खटिएका छन् । एमाले पाल्पाको १० औ अधिवेशन यही जेठ ११ र १२ गते तानसेनमा हुँदै छ । पार्टी अध्यक्ष धनेन्द्रराज घिमिरेको संयोजकत्वमा ५ सय ७५ जना सदस्य रहेको मूल व्यवस्थापन समिति गठन गरी अन्तिम तयारीको काम भईरहेको एमाले पाल्पाले जनाएको छ ।
१० औं अधिवेशनको लागि पार्टी अध्यक्ष घिमिरेको संयोजकत्वमा निवर्तमान अध्यक्ष नारायण प्रसाद आचार्यसहित ४ सदस्यीय प्रतिवेदन निर्माण उप–समिति, उपाध्यक्ष देवीलाल लामिछानेको संयोजकत्वमा आर्थिक उप–समिति, सचिव रामजी पोखरेलको संयोजकत्वमा प्रतिनिधी व्यवस्थापन उप–समिति, तानसेन नगर कमिटीको संयोजकत्वमा अतिथि सत्कार तथा मञ्च व्यवस्थापन समिति, उपाध्यक्ष लामिछानेको संयोजकत्वमा ११ सदस्यीय आवास तथा भोजन व्यवस्थापन उप–समिति, जिल्ला कमिटी सदस्य रामलाल श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य सेवा उप–समिति, जिल्ला कमिटी सदस्य हुम गैरेको संयोजकत्वमा साँस्कृतिक उप–समितिहरुले आ–आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेको एमाले पाल्पाले जनाएको छ । अधिवेशनको लागि जेठ ५ गते नै ८१ वटा वडा कमिटी, १० वटा पालिका, २० वटा भातृसंगठनबाट ४ सय ५० जना प्रतिनिधीहरु छनौट भएका छन् । छनौट भएका प्रतिनिधीहको ५ प्रतिशत जिल्ला कमिटीबाट मनोनय गर्ने कार्यक्रम रहेको छ । एमाले अधिवेशनको बन्दशत्रमा ४ सय ७२ जना प्रतिनिधीहरुले भाग लिने छन् । एमालेले शसोधित विधानमा आगामी अधिवेशनबाट नेतृत्वमा आउने आकाँक्षी राखेका व्यक्तिहरु वडा कमिटीबाटै प्रतिनिधी भएर आउनु पर्ने व्यवस्था गरेको छ । अधिवेशनको उद्घाटन शत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओली आउने एमाले जिल्ला अध्यक्ष घिमिरेले बताए ।
१० औ अधिवेशनबाट पार्टी अध्यक्षको लागि वर्तमान सचिव रामजी पोखरेल र पूूर्व पार्टी सचिव ओमबहादुर घर्तिमगर आ–आफ्नो तयारीमा जुटेका छन । दुबै उम्मेदवारहरुले आफ्नो जित सुनिश्चित रहेको भन्दै अधिवेशन प्रतिनिधीहरुसँग मतदानको लागि फोन तथा भेटघाटलाई तिब्र बनाएका छन् । पार्टीमा वर्तमान सचिवको जिम्मेवारी निर्वाह गर्दै आएका पोखरेलले संगठन चलाएको सचिवको हैसियले स्वभाविक रुपमा अध्यक्षमा सर्वसम्मत रुपमै आफुले पाउनु पर्ने बताए । सर्वसम्मत नभएपनि चुनावी प्रतिष्प्रर्धा हुँदा पनि युवादेखी दलित, जनजाति, महिला, पाका पुस्तासम्म सबैको रोजाईमा रामजी पोखरेल भएकाले अत्याधिक मत ल्याएर अध्यक्ष पदमा विजयी हुने अध्यक्षका उम्मेदवार पोखरेलले बताए ।
अध्यक्ष पदका अर्का उम्मेदवार घर्तीले लामो सयमसम्म पार्टी सचिव भएर काम गरेको, कार्यकर्ताहरुको समस्या तथा मनोभावना बुझेको ,सबैपक्षलाई समेटेर लैजाने क्षमता भएकाले पार्टीकार्यकर्ता तथा नेतृत्व वर्गले ओम घर्तीलाई नै सर्वसम्मत रुपमा अध्यक्ष बनाउनेमा आफु ढुक्क रहेको बताए । निर्वाचन भईहालेमा पनि कार्यकर्ताहरुको पहिलो रोजाई नै घर्ती रहेकाले आफ्नो जित सुनिश्चित रहेको अध्यक्ष पदका उम्मेदवार घर्तिले बताए । एमाले जिल्ला नेतृत्वदेखी प्रदेश तथा केन्द्रिय तहले भने नेतृत्वमा जो सुकै आउने परिस्थिती बने पनि सर्वसम्मत रुपमा नेतृत्व चयनको लागि विविध पक्षबाट छलफल तथा बैठकहरु भईरहेको बताएका छन् ।