Shittalpati
बुद्ध जयन्ती र यसको सार्थकता

शान्तिका अग्रदूत गौतम बुद्धको २५ सय ६८ औं जन्म जयन्ती हो आज । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । नेपालमा जन्मिएर विश्वभर शान्तिको सन्देश फैलाएका बुद्ध आम नेपालीका गौरवमय व्यक्ति हुन् । उनको जति महिमा अरूको गाइँदैन । बुद्ध श्वेत केतु बोधितत्वका अवतार हुन् । उनलाई भगवानकै अवतारको रूपमा हेरिन्छ । धर्म दर्शनका एक प्रतीक हुन् उनी । उज्ज्वल तारामध्ये एक मानिने बुद्ध राष्ट्रिय विभूति पनि हुन् ।

भगवान विष्णुको नवौं अवतारका रुपमा जन्म लिएका गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरणस्वरुप बुद्ध जयन्ती मनाउने गरिन्छ । तर अहिले विश्व अशान्त छ । त्यसको सन्तापले आक्रान्त छ । कतै जातीय युद्ध भइरहेको छ, कतै धार्मिक युद्ध । कतै को भन्दा को शक्तिशाली भन्ने युद्ध भइरहेको छ । यी सबै युद्धले मानव सभ्यताको विकास होइन, विनाश गर्छ । तर यो कुरा विश्वका शक्तिशाली मुलुकका शासक, प्रशासकले किन बुझ्न कन्जुस्याइँ गरिरहेका छन् ? उनीहरूको दिमागभित्र कसरी विश्व जगतमा आफ्नो साम्राज्य फैलाउने भन्ने कुरा सवार छ । यसले विश्व मानव समुदायमा कलहको बीजमात्र रोप्दैन, यसको कारण विश्व अशान्तिमय बन्दैछ । यस्तो अवस्थामा गौतम बुद्धको शिक्षा महत्वपूर्ण हुने गर्दछ । गौतम बुद्धको उपदेश वा सन्देशको कोही कसैले पनि अनुसरण नगर्दा यस्तो अवस्था आएको हो । जसको परिणाम मुलुकमा सधै अशान्ति, राजनीतिक अस्थितरता सिर्जना हुने गरेको छ । यो अत्यन्त दुःखको कुरा हो । आज नेपालीले नेपाल बुद्ध जन्मिएको शान्तिभूमि हो भनेर गर्व गर्ने कुनै ठाउँ छैन । बुद्धले जतिसुकै शान्तिको पाठ पढाएको भए पनि त्यसको अनुसरण गर्न नसक्दा नेपालीले युद्धको त्रासदी भोग्नु परेको मात्र हैन अपितु त्यसको मूल्य नराम्रोसँग चुकाउनुपर्ने अवस्थाको सिर्जना भएको छ । हत्या, हिंसा, अराजकता, स–साना कुरामा पनि बन्द र हड्ताल गर्ने प्रवृत्तिको विकास, अपहरण आदि दिनहुँ देख्न पाइन्छन् । यो विडम्वनाको कुरा हो । यसो हुनु हुँदैन । शान्त मन र शान्त दिमागलाई सही प्रकारले उपयोग गरेर मात्र उज्यालोको खोजी सम्भव छ भन्ने शान्तिदूतले दिएको दार्शनिक आधार अहिले पनि सान्दर्भिक मात्र नभएर उत्तिकै व्यावहारिक पनि छ । उनको दर्शनलाई पछ्याउन सक्ने हो भने वर्तमान समयमा देखिएका धेरै समस्याहरुको समाधान गर्न नसकिने होइन । यसर्थ बुद्धले दिएको शिक्षा र उपदेशको अनुसरण गर्न सके मात्र हरेक वर्ष मनाइने बुद्ध जयन्तीले सार्थकता प्राप्त गर्न सक्दछ ।

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update