Shittalpati
बौद्ध दर्शन र यसको सार

१. शुभारम्भ
नेपाली भाषामा दर्शन शब्दको शाब्दिक अर्थ–हेर्नु, देख्नु वा जीवन र जगत सम्बन्धी कुराको चिन्तन गर्नु हुन्छ । ज्ञानको स्रोत, विवेकको प्रयोग, मूल्य प्रणालीको आधार, समालोचनात्मक चिन्तन र तर्कको विधाको रूपमा दर्शनलाई व्यापक अर्थमा प्रष्ट्याउन सकिन्छ । महादेशीय दृष्टिले एशियामा विकास भएका दर्शनलाई पूर्वेली दर्शन र यूरोप तथा पश्चिमी मुलुकहरूबाट विकसित दर्शनलाई पाश्चात्य दर्शन भनिन्छ । नेपालको लुम्बिनीमा जन्मेका गौतम वुद्धद्वारा प्रतिपादित बौद्ध दर्शनलाई पनि पूर्वीय दर्शनको मान्यता दिइएको छ । बौद्ध दर्शनको ज्ञान हुनका लागि सर्वप्रथम निम्न दुईवटा दर्शनको सार बुझेको हुनपर्दछ ।

(क) हिन्दू दर्शन
हिन्दू दर्शन संसारकै जेठो दर्शन हो । यसको उत्पतिस्थल प्राचीन भारत बर्ष नै हो । भारतबर्ष भन्नाले हालको भारत, नेपाल, पाकिस्तान र बंगलादेश भनि बुझ्नु पर्दछ । हिन्दू दर्शन सनातन , आर्य, धार्मिक, आध्यात्मिक र बैज्ञानिक दर्शन समेत हो । हिन्दू दर्शनको विकास ‘श्रुति’ र ‘स्मृति’ बाट भएको हो । हिन्दूहरूको आदिम ग्रन्थ वेद हो । वेदमा आधारित भइ साङ्ख्य, योग, न्याय, वैशेषिक, मीमांश वेदान्त दर्शनको विकास भएको छ । यिनै षटदर्शनको सार नै हिन्दू दर्शनको सार हो । संक्षेपमा भन्नुपर्दा ईश्वरीय तथा भौतिक जगतलाई प्राथमिकता दिई ‘ सत्यम् शिवम् सुन्दरा’ लाई आत्मसात गर्दै जीवनलाई सही र सरल मार्गमा अगाडि बढाउदै लैजानु नै हिन्दू दर्शनको सार हो ।

(ख) चार्बाक दर्शन
चार्बाक दर्शन पूर्वेली भौतिकवादी दर्शन हो । यसलाई लोकायत दर्शन पनि भनिन्छ । यसले संसार सत्य छ र यो जल वायु आकाश पृथ्वी गरि पाँच तत्वले बनेको छ भन्दछ । यस दर्शनले परलोक वेद ईश्वर आदिलाई मान्दैन । शरिर नै आत्मा हो र शरीर नष्ट भएपछि चेतना पनि संवतः नष्ट हुन्छ भनिएको छ । ‘ऋणम् कृत्वा घृतम् पिवेत’ भनी सन्देश दिने यस दर्शनको सर्वोच्च सन्देश सार भन्नुनै ‘जबसम्म बाँचिन्छ , सुखसँग बाँच’ रहेको छ । उल्लेखित हिन्दू दर्शन र चार्बाक दर्शनको बिचबाट अगाडि बढ्न खोजेको दर्शनलाई बौद्ध दर्शन भनिएको छ । बौद्ध दर्शनको उत्पत्ति महात्मा गौतम बुद्धको उपदेशबाट भएको  हो ।

२. बौद्ध दर्शन
बौद्ध दर्शनका प्रवर्तक सिद्धार्थ गौतम हुन् । यिनको जन्म लुम्बिनी, ज्ञानप्राप्ति बुद्धगया, धर्मचक्र प्रवर्तन सारनाथ र महापरिनिर्वाण कुशीनगरमा भएको थियोे । यी चार संवेजनीय स्थलहरूलाई बौद्ध चारधामको रूपमा मानिदै आएको छ । ‘बुद्ध’ भनेको व्यक्तिको नाम होइन, जसले बोध गर्ने काम गर्छ, उसलाई बुद्ध भनिन्छ । चतुरार्य सत्य भगवान बुद्धको मूल उपदेश हो । चतु भनेको चार, आर्य भनेको उत्तम, पवित्र र सत्य अर्थात् जहिले पनि सही भइरहने हो । चतुरार्य सत्य भगवान बुद्धको मौलिक उपदेश हो, जो निम्नानुसार रहेका छन् :

(क) दुःख आर्यसत्य
पहिलो आर्यसत्य दुख हो । जन्मिनु, रोगी हुनु, इच्छा प्राप्ति नहुनु, वृद्ध हुनु र मर्नु अर्थात् संक्षेपमा पाँच स्कन्धधारी शरीर नै दुःख हो ।
(ख) दुःख समुदाय आर्यसत्य
तृष्णा नै दुखको मूल कारण हो । काम तृष्णा, भव तृष्णा (फेरि फेरि जन्म लिने इच्छा) र विभवतृष्णा (पुनर्जन्ममा  विश्वास नगर्ने इच्छा हुनु) नै दुःखको मुख्य तीन कारणहरू हुन् ।
(ग) दुःख निरोध आर्यसत्य
तृष्णाको निरोध नै निर्वाण हो । निर्वाण भन्नु नै राग, द्वेष र मोहको निरोध हो । यो दुःखबाट अलग रहेको  शान्तिको अवस्था हो, अमृतवस्था हो ।
(घ) दुःख निरोधगामिनी प्रतिपदा आर्यसत्य
यसलाई दुख निवारणका आर्य आष्टाङ्गिक मार्ग भनिएको छ । समग्रमा चतुरार्य सत्यलाई यसरी बुझ्न सकिन्छ:- जीवनमा समस्या आउँछ, समस्या उत्पन्न हुनुको कुनै न कुनै कारण अवश्य हुन्छ, समस्या समाधान हुन्छ र समाधानको उचित मार्ग अपनाउनु पर्दछ । बौद्ध दर्शन बुझ्नको लागि आर्य आष्टाङ्गिक मार्ग मनन् गर्नुपर्दछ । आर्य आष्टाङ्गिक मार्ग भनेको दुःखबाट मुक्त हुनका लागि, सुख शान्ति र समृद्धि प्राप्त गर्नाका लागि भगवान बुद्धले देखाएको मार्ग हुन् । जसलाई निम्नानुसार प्रस्तुत गरिएको छ ।
१.सम्यक वचन ( ठीक बोली)
२. सम्यक कर्मान्त ( ठीक कर्म )
३.सम्यक आजिविका ( ठीक जिविका)
४.सम्यक व्यायाम ( ठीक प्रयत्न )
५.सम्यक स्मृति ( ठीक स्मृति )
६.सम्यक समाधि ( ठीक एकाग्रता )
७.सम्यक दृष्टि ( ठीक धारणा )
८.सम्यक संकल्प ( ठीक विचार )
उल्लेखीत ठीक बोली, ठीक कर्म र ठीक जिविकोपार्जनलाई शील, ठीक प्रयत्न ठीक स्मृति र ठीक एकाग्रतालाई समाधि र ठीक धारणा तथा ठीक विचारलाई प्रज्ञा भनिएको छ । यी मार्गहरूलाई शील समाधि र प्रज्ञा गरी तीन भागमा विभाजन गरिएको छ । सबै प्राणीहरूमा सांसारिक दुःख माया र मोह छ । 

दुखको कारण मृत्यु, मृत्युको कारण जन्म, जन्मको कारण तृष्णा  र तृष्णाको कारण अज्ञान हो । दुःख निवारणका लागि उल्लेखित आठ कर्महरू गर्नु पर्दछ भनि भगवान बुद्धले बौद्ध दर्शनमा भनेका छन् । यी आठवटै मार्गको साधना गर्नाले अज्ञान नाश हुन्छ र पूर्ण शान्ति प्राप्ति हुन्छ । पूर्ण शान्तिको अपस्थालाई निर्वाण भनिन्छ । बौद्ध दर्शन अनुसार बुद्ध धर्म र संघको शरणमा गई अफ्ना अफ्ना शील नियमहरूको पालना गरी धर्मको अनुशरण गर्ने व्यक्तिहरूलाई चतुपरिषद भनिन्छ । भिक्षु, भिक्षुणी, उपासक र उपासिका गरि चार प्रकारका व्यक्तिहरूको सामुहिक भेला, बैठक तथा सभालाई चतुपरिषद भनिन्छ । यही चतुरपरिषदका व्यक्तिहरू मिलेर शील , समाधि र प्रज्ञा शिक्षाको व्यापक अनुसरण गर्न गराउन सकेको अवस्थामा मात्र बुद्ध धर्म र बौद्ध दर्शन कालान्तरसम्म समृद्धिकासाथ चिरस्थायी रहिरहनेछ ।
साधु साधु साधु !
(लेखक पाल्पा साहित्य समाजका अध्यक्ष र पाल्पाका स्थापित साहित्यकार समेत हुन् ।) 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update