पाल्पा, पाल्पा जेसिजले विद्यालयमा पुगेर नसर्ने रोगबारे सचेतना फैलाउने कार्यलाई अगाडि बढाएको छ । तानसेन नगरपालिकाको प्राविधिक सहयोगमा जेसिजले नगर भित्रका विद्यालयमा पुुगेर विद्यार्थीहरुलाई नसर्ने रोग सम्बन्धी सचेतना फैलाउन थालेको हो ।
उसले तानसेन– ५ बन्दिपोखरास्थित लक्ष्मी माविमा अध्ययनरत विद्यार्थीहरुलाई नसर्ने रोग मुख्य स्वास्थ्य समस्याका रुपमा देखा पर्दै गएकाले जीनवशैली, खानपान र रहन सहनबारे सचेत गराउन विद्यार्थीहरुमा सचेतना कार्यक्रम गरिएको जनाएको छ । विद्यार्थीहरुलाई नसर्ने रोगका प्रकार, लक्षण, बच्ने उपाय र मानसिक स्वास्थ्य समस्याबारे जानकारी दिएको छ । विद्यार्थीहरुले घर र समुदायमा गएर नसर्ने रोग बारे जानकारी गराउने छन् भन्ने उद्देश्य राखेर विद्यालयमा पुगेर सचेतनाका कार्यक्रम सञ्चालन गरिएको जेसिजका अध्यक्ष अर्जुन कार्कीले बताए । समाजमा नसर्ने रोगका बिरामी धेरै भए पनि कमै मात्रले रोग पत्ता लगाएर उपचार गराइरहेको र अन्तिम अवस्थामा जानकारी पाएर उपचारमा जाने भएकाले जेसिजले सचेतना फैलाउन थालेको उनको भनाई छ । ‘दिन प्रतिदिन बिरामीको संख्या बढ्दै गएकाले हामीले सचेतना फैलाउन थालेका हों’, उनले भने, ‘हामीले नसर्ने रोग परीक्षणबारे स्वास्थ्य शिविर, जनचेतनामूलक कार्यक्रम, स्वास्थ्य संस्थाले समेत परामर्श दिने लगायतका कार्य गरिरहेका छौँ ।’ नसर्ने रोगमध्ये मुटुसम्बधी रोग, श्वासप्रश्वाससम्बन्धी रोग, हृदयघात, मस्तिष्कघात, मधुमेह (चिनी रोग), दम, सिओपिडी र क्यान्सरको समस्या भएकाहरु दैनिक उपचारका लागि अस्पताल जाने गरेका छन् । जनचेतनाको अभाव तथा कतिपय अवस्थामा स्वास्थ्य सेवाको पहुँच नपुग्दा नसर्ने रोग लागेको समेत थाहा नपाई अकालमा ज्यान गुमाउने गरेको जेसिजले जनाएको छ ।
नसर्ने रोगबाट बच्न मानिसले रहनसहन, खानपान र जीवनशैलीमा सुधार गर्नुपर्ने प्रशिक्षक झबिन्द्र न्यौपानेले बताए । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण कार्की, विद्यालयका प्रधानाध्यापक बिष्णु प्रसाद सिग्देल, पाल्पा औषधी ब्यवसायी समितिका सचिव सचिन बिष्ट, प्रशिक्षक झबिन्द्र न्यौपाने, चन्द्रतारा बस्याल, पाल्पा जेसिजका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहाकार जेसी पुर्णराज शाक्य, एनएलजि इन्स्योरेन्स कम्पनी पाल्पा शाखा प्रमुख प्रदिप पाण्डे जेसिजका काका उपाध्यक्ष जेसी गणेश पन्थी कानुनी सहल्लाहकार विवेककाजी शाक्य लगायतका व्यक्तिहरुको उपस्थिती
रहेको थियो ।