Shittalpati
भुवनपोखरीको रैनादेवी माविमा बृहत स्वास्थ्य शिविर हुँदै  

पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिका –३, भुवनपोखरीस्थित रैनादेवी माविमा निःशूल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । जेठ ११ गते शुक्रबार विशेषज्ञ चिकित्सकसहित बृहत निःशुल्क शिविर हुन लागेको हो ।

शिविरको सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्था तथा वडा अध्यक्ष प्रदीप क्षेत्रीले जानकारी दिए । सबै किसिमका विरामीहरुलाई छुट्टा–छुट्टै चेकजाँचको लागि कोठा व्यवस्थापन, लाईनको व्यवस्था, औषधी वितरण कक्ष, एक्सरे कक्षको व्यवस्था मिलाई सकिएको वडा अध्यक्ष क्षेत्रीले बताए ।

रैनादेवी छहरा गाउँपालिकाको संयोजन, वडा कार्यालय र भुवनपोखरी रुपन्देही सम्पर्क समाज रुपन्देहीको आयोजना, निरोग स्वास्थ्य क्लिनिक बुटवल र नेपाल अस्तित्व फाउडेशन नेपालको सहयोगमा  शिविर सञ्चालन हुन लागेको हो ।

निःशुल्क शिविरमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सुगर प्रेसर थाईराइड दम, पेट, छाती रोग विषेशज्ञद्धय डा. नन्द पाठक, प्रकाश भट्टराईसहितको विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहने छ । यसैगरी शिविरमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलकै नाक, कान, घाटी रोग विशेषज्ञ विवश पराजुली, रेडियोलोजिष्ट डा. सुरेन्द्र रायमाझी, प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. ज्योती श्रेष्ठ, मेडिकल अफिसर डा. कल्पना न्यौपाने र डा. गोकुल पौडेलले प्रत्यक्ष रुपमा विरामीको चेकजाँच गर्ने छन् ।

यसैगरी किर्तिपुर अस्पताल काठमाडौका बालरोग विशेषज्ञ श्रीधर खनाल, लुम्बिनी नसिंङ होम, निरोग स्वास्थ्य क्लिनिकका हाडजोर्नी, नशा, बाथ रोग विशेषज्ञ डा. हिरामणी पौडेल, आम्दा अस्पताल बुटवलका बालरोग विशेषज्ञ डा. अनिल खनाल, नवजिवन फिजियो रिहावका फिजियो थेरापिष्ट डा. मिलन के.सी.ले लगायतले जनताहरुलाई निःशुल्क रुपमा उपचार सेवा प्रदान गरेका छन् । शुक्रवार विहान १० बजेदेखी शुरु हुने निःशुल्क स्वास्थ्य सेवामा धेरै भन्दा धेरै विरामीहरुको उपचार गर्न टोलटोलमा  माईकिङ तथा सामाजिक सञ्जालहरुमा प्रचार-प्रसारका कार्यक्रमहरु निरन्तर गर्दै आएको वडा अध्यक्ष क्षेत्रीले बताए । विरामीहरुलाई आवश्यक औषधीहरु पनि निःशुल्क रुपमा प्रदान गरिने वडा कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update