Shittalpati
एमाले पाल्पाको अधिवेशन तयारी पुरा, महासचिव पोखरेलले सम्बोधन गर्ने

पाल्पा, नेकपा एमालेको १० औँ जिल्ला अधिवेशनको तयारी पुरा भएको छ ।  शुक्रबारदेखि तानसेनमा हुन लागेको अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको एमालेले जनाएको छ । उसले तानसेनमा पत्रकार सम्मेलन गरी अधिवेशनको तयारी पुरा भएको जनाएको हो । 

अधिवेशन मुल आयोजक समितिका संयोजक एव जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको बताए । अधिवेशनको एमाले महासचिव शंकर पोखरेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अधिवेशनका लागि पार्टी सचिव एव लुम्बिनी प्रदेश इन्चार्ज पद्यमा अर्याल, पोलिटिव्युरो सदस्य ठाकुर गैरे, दलबहादुर राना, लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कडेल लगायतका केन्द्रिय नेताहरुले विहिबार नै पाल्पा आईपुगेका छन् । अधिवेशनको लागि जेठ ५ गते नै ८१ वटा वडा कमिटी, १० वटा पालिका, २० वटा भातृसंगठनबाट ४ सय ५० जना प्रतिनिधीहरु छनौट भएका छन् । छनौट भएका प्रतिनिधीहको ५ प्रतिशत जिल्ला कमिटीबाट मनोनय गर्ने कार्यक्रम रहेको छ । अधिवेशनमा १०५ जना जिल्ला कमिटी सदस्यहरु निर्वाचित हुनेमा ३३ प्रतिशत महिला, १५ प्रतिशत ४० बर्ष भन्दा कम उमेर युवाहरु, तथा दलित, अल्पसंख्यक प्रतिनिधीहरुको सुनिश्चितता रहेको पाटी अध्यक्ष घिमिरेले पत्रकार सम्मेलनमा जानकारी दिए ।

अधिवेशनको लागि पार्टी अध्यक्ष घिमिरेको संयोजकत्वमा निवर्तमान अध्यक्ष नारायण प्रसाद आचार्य सहित ४ सदस्यीय प्रतिवेदन निर्माण उप–समिति, उपाध्यक्ष देवीलाल लामिछानेको संयोजकत्वमा आर्थिक उप–समिति, सचिव रामजी पोखरेलको संयोजकत्वमा प्रतिनिधी व्यबस्थापन उप समिति, तानसेन नगर कमिटीको संयोजकत्वमा अतिथि सत्कार तथा मञ्च व्यबस्थापन, उपाध्यक्ष लामिछानेको संयोजकत्वमा ११ सदस्यीय आवास तथा भोजन व्यबस्थापन उपसमिति, जिल्ला कमिटी सदस्य रामलाल श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य सेवा उपसमिति, जिल्ला कमिटी सदस्य हुम गैरेको संयोजकत्वमा साँस्कृतिक उपसमितिहरुले आ–आफ्नो जिम्मेवारी अनुसार  तयारी पुरा गरेको सचिव रामजी पोखरेलले बताए । अध्यक्षको लागि वर्तमान सचिव रामजी पोखरेल र पूूर्व पार्टी सचिव ओमबहादुर घर्तिमगर आ–आफ्नो तयारीमा जुटेका छन् । सचिवको लागि विमल काफ्ले र दीपक विश्वकर्माको चर्चा रहेको छ । नेतृत्वको लागि सर्वसम्मतको पहिलो प्रयास रहने, सहमति हुन नसकेमा घर्ति र पोखरेल मध्ये बाटै नेतृत्व छनौट गर्ने तेस्रो विकल्प नखोजिने पाटी अध्यक्ष घिमिरेले बताए ।

अधिवेशनमा पहिलो जिल्ला सचिव झपेन्द्र बहादुर जिसी र दोस्रो जिल्ला सचिव दलबहादुर रानालाई सम्मान गर्ने, जाजरकोट भुकम्पमा सहयोग गर्न पुगेका पार्टीका उपाध्यक्ष देवीलाल लामिछाने, पाल्पा क्षेत्र नंं १ का प्रतिनिधी सभा सदस्य नारायण आचार्य लगायतका १५ जनालाई प्रशंसापत्र वितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष घिमिरेले जानकारी गराए । अधिवेशनको लागि करीव १० लाख रुपैया खर्च हुने जसको लागि प्रतिनिधीहरुबाट अनिवार्य रुपमा एक एक हजार सहयोग उठाएर, पार्टीका अन्य विभाग तथा क्षेत्रबाट चन्दा उठाएर खर्चको व्यबस्थापन गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए । पार्टी अध्यक्ष धनेन्द्रराज घिमिरेको अध्यक्षता, प्रेस चौतारीका जिल्ला अध्यक्ष कृष्ण कार्कीको स्वागत, अधिवेशन प्रचार–प्रचार उपसमितिका संयोजक मिलन विश्वकर्माको सञ्चालनमा  पत्रकार सम्मेलन कार्यक्रम भएको थियो ।

 

 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update