Shittalpati
असफलताको बाटोमा स्वास्थ्य बिमा कार्यक्रम

रामचन्द्र रायमाझी/संगीता आचार्य
पाल्पा, सरकारले केही वर्ष अघिदेखि लागु गरेको महत्वाकांक्षी स्वास्थ्य बिमा कार्यक्रम पाल्पामा असफलताको संघारमा पुगेको छ । यहाँका सेवा प्रदायक संस्थाहरुले प्रभावकारी सेवा नदिएको र राम्रा भनिएका स्वास्थ्य संस्थाले सेवा बन्द गरेपछि बिमा कार्यक्रम असफलताको बाटोमा गएको हो ।

स्वास्थ्य बिमा बोर्ड पाल्पाको तथ्यांक अनुसार हरेक वर्ष स्वास्थ्य बिमा कार्यक्रमप्रति आकर्षण घटेको पाइएको छ । बिमामा आवद्ध हुनेको दर बढेको सरकारले जिकिर गर्दै आए पनि नवीकरण गर्ने दर भने बढेको छैन । पछिल्लो आर्थिक वर्ष २०८०/८१ को जेठ १० गतेसम्मको तथ्यांकअनुसार जिल्लामा बिमा कार्यक्रममा सहभागी १७ हजार ४ सय १५ घरपरिवार मध्ये एक हजार एक जनाले बिमा योजना नवीकरण नगरेको पाइएको छ । जसमा १६ हजार ४ सय १४ जनाले मात्र नवीकरण गरेका छन् । यस्तै आर्थिक वर्ष २०७९/०८० मा  ३७ हजार ४ सय ८४ घर परिवारले बिमा गराएकोमा एक हजार ९ सय ५३  जनाले नवीकरण नै गराएका छैनन् । उनीहरु मध्ये ३५ हजार ५ सय ३१ ले मात्र नवीकरण गराएको बिमा बोर्ड पाल्पाका प्रमुख अर्जुन पौडेलले बताए । उनका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ४२ हजार ६ सय २३ घर परिवारले बिमा गराएकोमा ३९ हजार १ सय ४३ घर परिवारले मात्र नवीकरण गराएका छन् । जसमा ३ हजार ४ सय ५० जनाले नविकरण नै गराएनन् ।

हालसम्म ५३ हजार ४ सय १६ घरपरिवारका २ लाख ४० हजार ९ सय सदस्यहरु बिमा कार्यक्रममा सहभागी भए पनि पछिल्लो समय नवीकरण नगराउने बढेका छन् । २०७३ देखि पाल्पामा स्वास्थ्य बिमा कार्यक्रम लागु भएको थियो । सुुरुका वर्षहरुमा स्वास्थ्य बिमा कार्यक्रममा उत्साहजन सहभागीता रहेता पनि पछिल्ला वर्षहरूमा स्वास्थ्य बिमाप्रति सेवाग्राहीको आकर्षण घट्दै गएको हो । सेवा प्रदायकको झन्झटिलो स्वास्थ्य सेवा, बिमामार्फत सबै औषधि नपाइनु, जनचेतनाको कमी, बिमा बोर्डको झन्झटिलो प्रक्रियालगायतका कारण पनि नवीकरण कम भएको सेवाग्राहीहरू बताउंँछन् । तानसेनका शिव थापा आफूले बिमा सुविधा लिए पनि सोहीअनुसारको सेवा सुविधा भने नपाएको बताउंँछन् । ‘सेवा सुविधा सस्तो पर्छ भनेर अस्पताल गयो, सुविधाभन्दा सास्ती बढी पाइन्छ,’ उनले भने । बिमा गरेको १ वर्ष बितिसक्न लाग्दा पनि आफूले बिमाबापत् तिरेको रकम बराबरको सुविधासमेत नपाएको थापाको गुनासो छ । उनीजस्तै रैनादेवी छहराकी मनिषा आलेको पनि गुनासो उस्तै छ । ‘मेरो ५ जनाको परिवारको पोहोर साल त स्वास्थ्य बिमा गरे, यसपटकचाहिँ नवीकरण गर्दिनँ,’ उनले भनिन् । आलेले विगतमा तानसेनको ठूलो अस्पताल युनाईटेड अस्पतालबाट सेवा लिर्दै आएकोमा अहिले कार्यक्रम नै बन्द भएकाले नविकरण नगर्ने सोच बनाएको बताईन् । अन्यत्र स्वास्थ्य संस्थामा राम्रो सेवा नहुने भएकाले पहिलेदेखि नै मिसनमा उपचार गराउँदै आएको उनले बताईन् । सरकारको स्वास्थ्य योजना राम्रो भए पनि सेवाभन्दा बढी सास्ती हुने गरेको बगनासकाली गाउँपालिकाका यम खाम्चाले बताए । स्वास्थ्य उपचार गर्न जांँदा अत्याधिक   भीड, न्यून गुणस्तरको सेवा र औषधिसमेत नपाउंँदा आफूले अहिले नवीकरण नगरेको उनको भनाइ छ ।

पाल्पामा जिल्ला अस्पताल, लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, रामपुर अस्पताल, पाल्पा लायन्स लाकौल आँखा अस्पताल, कालिगण्डकी आँखा अस्पताल, खस्यौली प्राथमिक स्वास्थ्य केन्द्र, ताहुँ प्राथमिक स्वास्थ्य केन्द्रमा मात्र  स्वास्थ्य बिमा कार्यक्रमको सेवा तोकिएको छ । यस अघि युनाइटेड मिसन अस्पतालबाट समेत बिमा कार्यक्रम हुँदै आएको थियो । बिमा बोर्डले भुुक्तानी नदिएको र अस्पतालसँग भएका सम्झौताहरु कार्यान्वयन नगरेकाले अस्पतालले सेवा बन्द गरेको छ ।  मिसनले सेवा बन्द गरेपछि  अधिकांस बिमितहरुले नवीकरण नै नगरेका हुन् । स्वास्थ्य बिमा बोर्ड पाल्पाका प्रमुख पौडेलले मिसनले सेवा बन्द गरेकाले केही बिमितहरुले नवीकरण नगरेको बताए । उनले सरकारको  नीति राम्रो भए पनि केही अस्पतालमा सेवा प्रभावकारी नहुंँदा नवीकरण गर्ने सेवाग्राहीको संख्या घटेको हुन सक्ने बताउंँछन् । ‘हामीले सबैलाई स्वास्थ्य सेवाको पहुंँचमा ल्याउने प्रयास गरेका छौ’उनले भने, ‘सबैको एउटै गुनासो छ, सेवाको गुणस्तरै छैन ।’ अस्पतालमा बिमा गरिसकेका सदस्यले सरकारले तोकेको अस्पतालबाट एक लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा प्राप्त गर्ने छन् । नागरिकले बिमा नवीकरण नगर्नुले कार्यक्रमको औचित्यमाथि नै प्रश्न उठेको छ । बिमा कार्यक्रममा सहभागी भएका व्यक्तिलाई टिकाइ राख्न चुनौती थपिएको बोर्डले जनाएको छ । सरकारले स्वास्थ्य सम्बन्धी जोखिम न्यूनीकरण गर्ने र अति विपन्न नागरिकलाई स्वास्थ्य सेवामा सहभागी गराउने उद्देश्यले यो कार्यक्रम शुरु गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update