पदम न्यौपाने
पाल्पामा रहेका ऐतिहासिक, सांस्कृतिक, धार्मिक र पुरातात्विक महत्वका सम्पदा एवं पर्यटकिय सम्भावना बोकेका स्थलहरुको व्यवस्थित अभिलेखिकरणका लागि पहल गर्न एक वर्ष अगाडि हाम्रै पहलमा एक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा सहभागीता जनाएका हरेक सहभागीहरुले राखेका सुझावहरु पाल्पाको समग्र पहिचानका लागि सम्पदा र सम्पतिको अभिलेखीकरण्माा ढिलाइ गर्दा त्यस्ता सम्पदाको पहिचान नै खतरामा पर्दै जाने प्रति लक्षित रहेको पाइन्थ्यो ।
पुरातत्व विभागका लागि परामर्शदाता हेरिटेज सर्भिसेजका तर्फबाट अन्वेषकले २०६६ सालमा स्थलगत सर्भेक्षण र अध्ययन गरी तयार पारेको एक प्रतिवेदन अनुसार पाल्पा जिलाका विभिन्न २८ वटा ऐतिहासिक, एवं सांस्कृतिक सम्पदाहरुको उल्लेख गरिएको छ । ति सम्पदाहरुमा ऋषिकेशव मन्दिर, अमरनारायण मन्दिर, भैरव मन्दिर, मणिमुकुन्देश्वर मन्दिर, माण्डव्य ऋषि मन्दिर, बशंगोपाल मन्दिर, आनन्द र महाचैत्य विहार, भगवती मन्दिर, कोकल देवी, गणेश मन्दिर, भिमसेन मन्दिर, रम्भादेवी मन्दिर, बल्ढेगंगढी कुमारी देवी, शिद्ध गुफा, मुक्तेश्वरी भगवती मन्दिर, शिद्धबाबा, शिब मन्दिर, राधाकृष्ण मन्दिर, लक्ष्मीनारायण मन्दिर, गढी तिनगिरे, लक्ष्मीनारायण मन्दिर, अर्गली दरबार, रानीघाट दरबार, साइरेदेवी मन्दिर, तानसेन दरबार, राम मन्दिर, भिमसेन मन्दिर रहेका छन् । ततपश्चात भने थप अध्ययन गरिएको जानकारी प्राप्त भएको छैन ।
छलफमा दिइएका सुझाव अनुरुप पाल्पाका सम्पदाहरु यतिमा मात्र सिमित छैनन् । पाल्पामा रहेका अन्य दर्जनौ सम्पदाको संकलन गरी विभिन्न सम्वद्ध निकायहरुमा अभिलेखिकरण जरुरी छ । सुझावमा पाल्पा आफैमा ऐतिहासिक, सांस्कृतिक, पुरात्विक हिसावले धनी जिल्ला भएको र यसरी पाल्पामै रहेका आफ्ना महत्वपूर्ण सम्पदाहरुको खोजी र अभिलेखिकरणमा देखिएको कमजोरी पाल्पाको पहिचानमा बाधक हो भन्ने धारणाहरु समेटिएका थिए । यस बाट एउटा प्रश्न उठ्छ, त्यो भनेको पाल्पालीहरु राज्यका हरेक अंगहरुमा निर्णयक तहमा रहेर पनि पाल्पाका सम्पतिहरुको पहिचान, संरक्षण, सम्वद्र्धन र पहिचानमा देखाएको उदाशिनताले जिल्लाको राजनीतिक पार्टीहरु, राजनीतिक व्यक्तिहरु, जनप्रतिनिधिहरु, स्थानीय सरकार, पाल्पाका विद्धानहरु, सामाजिक कार्यकर्ता, नागरिक समाज, सञ्चार क्षेत्र, अनुसन्धानकर्ता सबैको भूमिका माथि प्रश्न उठेको छ । हालसम्म उठी रहेको छ ।
पाल्पाको पहिचान पाल्पामा रहेका ऐतिहासिक, सांस्कृतिक, धार्मिक एवं प्राकृतिक सम्पती, सम्पदा, मानवीय श्रोत, पहल, शैली, संस्कार, संस्कृति, जातजाती, हैसियत वा अवस्था, संरक्षण, सम्वद्र्धन र परिचालनमा उद्धाहरणीय अभ्यास, चासो, सक्रियता, जिम्मेवारी बहन, जन्मस्थान प्रतिको उत्तरदायित्व, कर्तव्यको पालना र सार्वजनिक सम्पत्तिको संरक्षण र व्यवस्थापनमा पाल्पालीमा अनुकरणीय अभ्यास हुनु पर्नेमा सोको अभाव भएको देखिन्छ । पाल्पाको शिक्षाले मुलुकमा एउटा गतिलो छाप छोडेको छ तर यसका बारेमा अहिले गहन जिज्ञासा उब्जाएको छ, के हिजोको शिक्षा क्षेत्रमा पाल्पाले गरेको योगदान यहि हो र ? यस्तै अनगिन्ति उदाशिनताका उद्धाहरण देखिन्छन् जसबाट पाल्पा र पाल्पालीप्रति प्रश्न सहितको जिज्ञासा उब्जाइ रहेको छ ।
यही प्रसंगमा अर्को अहम प्रश्न छ, त्यो हो पाल्पाको प्रवेश गर्ने बाटोको अवस्था, पाल्पामा विद्यूत आपूर्ति व्यवस्था र खानेपानी व्यवस्थाका सन्दर्भहरु । यसका लागि यदी इमान्दारीपूर्वक पहल गरेको भए अहिले सम्मका पाल्पाका जनप्रतिनिधिहरु, पाल्पाबाट बनेका मन्त्रीहरु, मन्त्रिपरिषदका अध्यक्ष, मुख्य सचिव, सचिव, सह–सचिव लगायतबाट यो काम उहिलै समाधान हुन सक्थ्यो तर दुर्भाग्य यो सक्रियता र चासो हुनै नसकेको हो भन्ने आमजनातामा धारणा बनेको देखिन्छ । यसमा सत्यता पनि छ । यसैगरी अर्को पिडा भनेको तानसेन लगायत अन्य कतिपय क्षेत्रमा खानेपानीको आपूर्ति व्यवस्था लिफ्ट परियोजनाबाट गरिदै आएको छ । तर पाल्पामा विद्यूत आपूर्ति व्यवस्था पनि नियमित नभएको कारण खानेपानी समस्या पनि व्यहोर्नु परेको छ । यसका लागि पनि दह्रो पहल हुन सकेको देखिदैन ।
यसैगरी पाल्पाका अन्य दर्जनौ सरोकारका विषयहरुमा पाल्पाको गहन र दिगो सोच हुन नसकेको आभाष हुन्छ । पाल्पामा रहेका सार्वजनिक जग्गाहरुको संरक्षण हुन नसकेको जस्तो, रानीमहल दरवार वरीपरिको जग्गा संरक्षण गर्न नसकेको, अन्य स्थानमा रहेका जग्गा अतिक्रमण भैरहदा पनि चासो दिन नसककेको, अर्गलीमा रहेको अर्गली दरवार व्यक्तिको नाममा जाँदासम्म संरक्षण गर्न नसकको, हिन्दुधर्मावलम्वीहरुको तिर्थस्थल (धाम) को रुपमा मानिने ऋषिकेशवको व्यवस्थापन र विकास गर्न नसकेको, पाल्पामा स्थापना भएका सिमेन्ट उद्योगहरुले आइइ/इआइए अनुसार काम नगर्दा जनताले समस्या भोग्नुपरेको समस्यामा चासो दिन नसकेको, लुम्बिनी मेडिकलले आइइ/इआइए अनुसार काम नगरी प्रभासतालको ऐतिहासिक, सांस्कृतिक र पर्यटकिय सम्भावनामा खेलवाड गर्दा पनि ताल जोगाउन नसकेको जस्ता आरोपहरु खेप्नु परे पनि त्यतातर्फ ध्यान दिएको पाइदैन । चिनको तिव्वत र भारत जोड्ने कालिगण्डकी करिडोर निर्माणका क्रममा ठेकेदारहरुबाट आइइ/इआइए अनुसार काम नगर्दा केही वर्ष अगाडि रानीमहललाइ नै संकटमा पारेको तथ्य सहितका समाचार प्रकाशन प्रशारण हुदाँसम्म पनि गहन ध्यानाकर्षणको अभावको महशुस सबैले गरेको अभिव्यक्ति आइरहेको थियो । पाल्पा दरबारको बारेमा नविन उपयोग रणनीति बनाउन नसकेको, भगवति मन्दिरलाई पुरानो स्वरुपमा निर्माण गर्ने पहल हुन नसकेको जस्ता उदाशिनताका उद्धाहरणहरु सुन्नमा आइरहन्छन् ।
उल्लेखित तथ्यहरु प्रतिनिधिमूलक मात्र हुन । यस्ता नजरअन्दाजका दर्जनौ पक्षहरु रहेका छन् । यति मात्र होइन पाल्पाले आफ्नो पहिचानका लागि भएका अवसरहरुको पहिचान गरेर व्यवस्थित रणनीति बनाउन सकेको छैन । पाल्पाका विशेषताहरु र सोही अनुरुपको विकास रणनीति बनाउने र स्थानीय संघसंस्था, स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले गर्ने कार्यका अतिरिक्त निजि क्षेत्रको परिचालन र लगानी, बाह्य लगानीका सम्भावना र पहलका बारेमा स्पष्ट अवधारणा आउन सकेको देखिदैन । यसैगरी अर्को महत्वपूर्ण पक्ष भनेको पाल्पा बाहिर (नेपालका विभिन्न स्थान र विदेशमा) रहेका पाल्पालीहरुको अभिलेखि राखी मानव श्रोतको पहिचान र परिचालन रणनीति पनि बनाउनेतर्फ खासै पहलभएको देखिदैन ।
नेपालकै पुरानो मानिने त्रिभूवन कलेज पाल्पा आफैमा ऐतिहासिकता र गरिमा बोकेको कलेज हो । नेपालको जनशक्ति विकासमा यसको भूमिका गहन छ । यसले मुलुक सञ्चालन गर्ने योग्य जनशक्ति, अनुसन्धानकर्ता, विज्ञ, विशेषज्ञ, उद्यमी, व्यवसायी, सामाजिक कार्यकर्ता, राजनीतिक नेता र नेतृत्व जन्माएको छ । यसका उत्पादनहरु देशमा मात्र होइन विदेशमा समेत प्रतिष्ठा कमाउन सफल भएका छन् । यस्तै अनगिन्ति योगदान गरेको कलेजको भविष्यका बारेमा कुनै बहस सञ्चालन भएको देखिदैन, सुन्नमा आएको छैन पनि । हाल कलेजको मुख्य भवन जिर्ण रहेको, विद्यार्थी संख्या अत्यन्तै कम रहेको, कलेजले उपयोग गरिरहेको बतासेडाँडाको जग्गाले पाल्पाको पर्यटन विकासलाई रोकेको, तानसेनले पर्यटन विकासका लागि दीगो रणनीति बनाउन नसकेको, रामपुरको केलादीमा रहेको राम, सीता, लक्ष्मण, हनुमान मन्दिरको नाममा नवलपुरको प्रगतीनगरमा रहेका ११ सय विघाा गुठी जग्गा व्यवस्थित गर्न पहल नगरेको जस्ता मात्र होइन समग्र पाल्पाको विकास रणनीति वा अवधारणा बनाई जिल्लाको विकास प्रतिवद्धता वा संकल्पित अभियानमा लाग्न नसकेको जस्ता दर्जनौ प्रश्न जिज्ञासाहरु हरेकका मनमा उब्जिरहेको पाइन्छ तर पहल कस्ले गर्ने, कसरी गर्ने भन्ने बारेमा सबैमा अन्यौलता रहेको देखिन्छ । मुखामुख गर्ने, एकले अर्कोलाई औंला देखाउने प्रवृत्तिमात्र रहेको देखिन्छ ।
पाल्पा के कस्तो बनाउने, यसको इतिहास र गरिमा कसरी पुनस्थापित गर्ने र नेपालमा पाल्पाको पहिचान कसरी गराउने भन्ने सन्दर्भमा राजनीतिक दल, विज्ञ विद्धान, नागरिक समाज, अध्येता, अनुसन्धानकर्ता, स्थानीय सरकार,नीति निर्माण तहमा रहेका व्यक्तित्व वा प्रसाशक, पूर्व प्रसाशक, सम्वद्ध संस्था वा निकायमा रहेका व्यक्तिहरुको सामुहिक छलफल, अवधारणा, दस्तावेज र सो प्रतिको प्रतिवद्धता ,सकल्प वा प्रतिज्ञा अब जरुरी भएन र ? विकासमा सामुहिक संलग्नता र अपनत्वसहितको सहभागतिा जरुरी रहन्छ । यसो नगरी अगाडि सारिने हरेक पहलहरुमा जनताको अपनत्व नरहने हुनाले त्यसको प्रभाव पनि दिगो रहन सक्दैन । यसर्थ, पाल्पाको विकास अवधारणा निर्माण र पहलमा सबै पक्षहरुको सहभागीतालाइ सुनिश्चितता सहितको पहल अहिलेको आवश्यकतालाई समयमै महसुशगरी यसका लागि अग्रसर हुन आवश्यक देखिन्छ ।