पाल्पा । जिल्लाको बगनासकाली गाउँपालिका ६ यम्घाको दर्पुकमा रहेको बोटे समुदायमा परिवार नियोजन सेवा प्रदान गरिएको छ । नेपाल परिवार नियोजन संघ पाल्पा शाखा र बगनासकाली गाउँपालिकाको संयुक्त आयोजनामा सेवा प्रदान गरिएको हो । बन्दावन्दीका समयमा समस्यामा परेका सिमान्तकृत समुदायका व्यक्तिहरुलाई सहज रुपमा सेवा प्रदान गरिएको छ ।
विश्वव्यापी महामारी कोभिड १९ संक्रमणसंगै भोकमारी र अनिच्छित गर्भधारण चुनौतीको रुपमा आउन सक्ने विश्व स्वास्थ्य संगठन तथा जनसंख्या र संयूक्त राष्ट्र संघीय निकायहरुले आंकलन गरिरहेका बेला गाउँपालिका र परिवार नियोजन संघको संयुक्त आयोजना र सामुदायिक स्वास्थ्य इकाई दर्पुकको व्यवस्थापनमा समुदायमा पुगेर सेवा प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जानकारी दिए । लकडाउनका बेला सेवा लिन सदरमुकाम जान नसकेका बेला गाउँपालिकाले परिवार नियोजन संघको प्राविधिक सहयोगमा परिवार नियोजन सेवा दिएपछि स्थानीय खुसी भएका छन् । आवश्यकताका आधारमा सबै वडामा विस्तार गर्ने तयारी रहेको स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताए । बोटे समदायलाई लक्षित गरी उक्त सेवा प्रदान गरिएको नेपाल परिवार नियोजन संघका शाखा प्रवन्धक सोबाकान्त न्यौपानेले बताए । परिवार नियोजनको लामो अवधीका साधन सेवा स्याटेलाईट क्लिनीकमार्फत प्रदान गरिएको उनले जानकारी दिए । विभिन्न उमेर समूहका दुई सन्तानदेखि छ सन्तानसम्म भएका र लामो अवधीको साधन सेवाको पहूँच नभएका ८ जना महिलाहरुलाई ईम्प्लान्ट साधन सेवा प्रदान गरिएको थियो । सेवालाई जिल्लाका स्थानीय तहहरुसँग समन्वय गरी अन्य क्षेत्रमा समेत विस्तार गरिने संघका प्रबन्धक न्यौपानेले बताए । शिविर गाउँपालिकाका प्रवक्त तथा वडा अध्यक्ष लक्ष्मी प्रसाद अधिकारीको अध्यक्षतामा भएको थियो ।